शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

सोमबार, ३१ असोज २०७९, १४ : १४
सोमबार, ३१ असोज २०७९

सुखी गाउँको रुपमा चिनिने स्मार्ट भिलेज घले गाउँको मुहार फेरिएको छ । पाँच दशक पुराना टिनका छाना फेरेर राता रङ्गिन छानाले गाउँलाई सजाइएको छ । करिब दुई दशकको आन्तरिक पर्यटन विकासले घले गाउँलाई दक्षिण एसिया मै नमूना ग्रामीण पर्यटकीय गाउँका रुपमा चिनाएको छ । घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा समेत चिनिन्छ  ।

सबै घरमा एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँका सचिव उमल विक बताउँछन् । घले गाउँका एक सय २० घरमा रातो रंगको छानो राखिएको छ  । प्राकृतिक सौन्दर्यका साथै मौलिक कला, परम्परा र साँस्कृतिक पक्षले पनि उत्तिक्कै धनी छ, घलेगाउँ । गाउँका सिँढीहरू निर्माण तथा मर्मत गरी गाउँलाई सफासुग्घर गरी चिटिक्क बनाइएको छ । गाउँ तथा बाटो वरपर फूल रोपिएका छन् । एकै नासको घर भएसँगै पर्यटक आर्कषण बढेको स्थानीय यमुना घले बताउँछिन् ।

समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटर उचाइको घले गाउँमा २०५७ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित होमस्टे संचालनमा ल्याइएको थियो । पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ । घले गाउँमा नमूना चिया बगान, प्राङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेको छ ।

हिमालको काखको घले गाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिमालचुली, मनास्लु, बुद्ध, ङादीचुली (डा. हर्क पिक) हिमाल, गणेशलगायतका दर्जन हिमश्रृखला अवलोकन गर्न सकिन्छ ।

गाउँबाटै सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि नियाल्न सकिन्छ । गोर्खा आर्मी पार्क, घले राजाको सालिक, क्वोइवो धी, उत्तरकन्या मन्दिर, सात कुवा, परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, चिया बगान, वनझाङ्ग्रो छहारा, भीर मौरी, भेँडीगोठ पनि घले गाउँका आकर्षण हुन् । –न्युज  कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप