आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तेलको बढ्दो मुल्य तथा मुद्रास्फिर्तीको विरोधमा फ्रान्सभर प्रदर्शन र हडताल

बिहीबार, ०३ कात्तिक २०७९, १८ : ०५
बिहीबार, ०३ कात्तिक २०७९

फ्रान्समा महँगीको विरोधमा ठूलो श्रमिक आन्दोलन सुरु भएको छ । देशभरका श्रमिकहरुले नजिकिँदै गरेको जाडो मौसमअघि उचित तलबको माग गर्दै हडताल गरेका छन् । अहिले युरोप ऐतिहासिक स्तरको महँगी(मुद्रास्फीति) र ऊर्जा संकटसँग जुधिरहेको छ । 

कसरी सुरु भयो हडताल ?
फ्रान्समा केही साताअघि नै तेल प्रशोधन केन्द्रका कामदारहरू उच्च तलबको माग गर्दै हडतालमा उत्रिएका थिए । ती श्रमिकहरुले युक्रेन युद्धपछि पेट्रोलियम पदार्थको मुल्य बढेको कारणले तेल तथा ग्यास कम्पनीको नाफा आकासिएको तर आफूहरुले भने महँगीका बीच पहिलेकै तलबमा कमा गर्न नसक्ने माग राखेका थिए ।

प्रशोधन केन्द्रका श्रमिकले काम गर्न छाडेपछि फ्रान्सभरीका तेल स्टेशनहरूमा इन्धन अभाव हुन थाल्यो । पेट्रोलपम्पमा लामा लामा लाइनहरू लाग्न थाले । आइतबारसम्म देशका लगभग एक तिहाइ ग्यास स्टेशनहरू कुनै न कुनै प्रकारको इन्धनविहिन भएका छन् । फ्रान्सले देशमा उत्पन्न हुनसक्ने ऊर्जा संकटको असर जनतामा पर्न नदिन पैसा खर्च गरेको भए पनि मानिसहरू अझै क्रोधित छन् । तर पछिल्लो हडतालले जाडो महिनामा उर्जाको स्थिति के होला भन्ने चिन्ता बढाएको छ । 

को को छन् हडतालमा ? 
तेल रिफाइनरी र तेल डिपोका कामदारहरूबाट सुरु भएको हडताल विस्तार अन्य उद्योगहरूमा फैलियो । फ्रेन्च आणविक ऊर्जा संयन्त्रका कामदारहरू समेत उच्च ज्यालाको माग गर्दै हडतालमा उत्रिएका छन् । मंगलबारसम्ममा रेलवे कर्मचारीहरू र विद्यालयका विद्यार्थीहरू सहित हजारौं मानिस राष्ट्रव्यापी हडतालमा उत्रिए । मंगलबारको हडतालअघि आइतबार पेरिसमा महँगीविरुद्धमा एक ठूलो विरोध ¥याली निस्किएको थियो, जसलाई विपक्षी दलहरुले पनि समर्थन गरेका थिए ।

युनियनहरूले थप हडतालको घोषणा गरेका छन् । पछिल्लो हडतालको नेतृत्व गरिरहेको देशको सबैभन्दा ठूलो युनियनमध्ये एक, सीजीटीले मंगलबार राजधानी पेरिसमा ७० हजार मानिस विरोधमा उत्रिएको र देशभर १८० स्थानमा विरोध प्रदर्शन भएको जनाएको छ । 

आन्दोलनको पछाडि महँगी ?
मुद्रास्फीतिको प्रभावपछि क्रय शक्तिलाई धेरै फ्रेन्चहरूले मुख्य चिन्ताको रूपमा लिएका छन् । यो महिना प्रकाशित सर्वेक्षणमा मानिसहरुले आप्रवासी तथा अपराधलाई भन्दा क्रय शक्तिमा महँगीको प्रभावलाई तीन गुणा बढी चिन्ताको विषय मानेको देखिएको थियो । सरकारले पेट्रोलको मूल्य र ऊर्जा खर्चको भार कम गर्न अनुदान दिइरहेको छ । यसमा अरबौं खर्च भएको बताइन्छ । तर धेरै अत्यावश्यक सामानको भाउ अझै बढिरहेको छ । युरोपको उर्जा संकटको प्रभाव र मुद्रास्फीतिलाई नियन्त्रण गर्न फ्रान्सले धेरै देशहरूभन्दा साहसी कदम चालेको छ । तर पछिल्ला प्रदर्शनले सरकारी कदम अझै पनि पर्याप्त नभएको हो की भन्ने प्रश्न खडा गरेको छ ।

पछिल्लो प्रदर्शनलाई सन् २०१८ को एल्लो भेस्ट आन्दोलनसँग पनि तुलना गरिँदैछ, जुन पहिले कर वृद्धि घटाउनुपर्ने मागबाट सुरु भएको थियो तर पछि समग्र सामाजिक असमानता सम्बोधन माग गर्दै हप्तौं लम्बिएको थियो । जाडो नजिकिँदै गर्दा रुसले विभिन्न बाहनामा युरोप जाने ग्यास कटौती गर्न थालेपछि युरोपमा थप चिन्ता बढेको छ । युरोपेली सरकारले अन्यत्रबाट ग्यास किन्दा थप महँगो पर्ने देखिन्छ । यस्तो स्थितिबाट मारमा पर्ने कमजोर परिवारहरूको लागि १९५ डलरसम्मको छोटो अवधिको राहत भुक्तानी दिइरहेको छ । तर आलोचकहरूले महँगीको उच्च दरलाई यति सहयोग अप्रयाप्त रहेको बताइरहेका छन् । (वाशिङ्टन पोष्ट) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप