विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सत्यमोहन जोशीः जसले नेपाल बुझे, नेपाल देखे, नेपाल लेखे

शुक्रबार, ०४ कार्तिक २०७९, १४ : ०२
शुक्रबार, ०४ कार्तिक २०७९

भनिन्छ मृत्यु जन्मदा नै करारनामा गरिएको हर जिन्दगीको अन्तिम सत्य र पहिलो सर्तनामा हो । मृत्यु नियमित तर आकस्मिकता हो, आउँछ । तथापि कतिबेला थाहा पत्तो हुन्न । मृत्यु ज्ञात हुने विषय थियो भने शायद मान्छेको जीवन आज जे छ, जस्तो छ, त्यस्तो नहुन सक्थ्यो । त्यसैले मृत्यु आउँछ र टप्प टिपेर लैजान्छ ।

सय वर्ष जीवन जिउने मान्छे प्रायः कमै हुन्छन् । एक शताब्दी र तीन वर्ष यो धरामा सक्रिय लोभलाग्दो जीवन व्यतित गरेर सत्यमोहन जोशी (१९७७ बैशाख ३०–२०७९ असोज ३०) कीर्तिशेष भए । उहाँ बखुम्बहाल ललितपुरका बाबु शङ्करलाल र आमा नोगला देवीको सन्तानको रुपमा जन्मनु भएको थियो ।

हाल नेपालको औसत आयु ७० वर्ष भएको विभिन्न अध्ययन अनुसन्धानले बताएको छ । विश्वमा मान्छेको अधिकतम आयु १५० वर्ष भएको अनुसन्धानको निश्कर्ष छ । हाम्रै देशमा पनि सुनसरीका वीर नारायण माझी थारूले १४१ वर्ष बाँचेर नेपालका कीर्तिमानी नागरिक बनेका छन् । अबको १५÷२० वर्षभित्र विश्वका मान्छेको औसत आयु बढ्ने र दक्षिण कोरियाली नागरिकको आयु सबैभन्दा लामो हुने तथ्य बाहिरिएको छ ।

१०३ वर्ष बाँचेर सत्यमोहन जोशीले हाल करिब ७० वर्ष औसत आयु भएको नेपाली जीवन भन्दा ३३ वर्ष लामो आयु गुजारे । यो आफैमा आश्चर्य पनि हो । अर्को आश्चर्य जोशीले आफ्नो वृद्ध कायालाई एकदम सक्रिय र लोभलाग्दो जिन्दगीमा परिणत गरे ।

विरामी हुँदाका बखत भन्दा अरू बेला जोशी लेखन अध्ययन र अनुसन्धानमै केन्द्रित हुन्थे । उनले केवल लामो आयु मात्र जिएनन्, मृत्युपछि पनि अभौतिक रूपमा सदा बाँचिरहने योगदान दिए । उनी बहुआयामिक व्यक्ति हुनाले कला, साहित्य संस्कृति र पुरातत्वविद् भएर लामो समय काम गरे ।

नेपाली वाङ्मयका अथक साधक, विशिष्ट व्यक्ति, ज्ञानको मुहान, देशको अभिभावक जोशी नेपाली, नेवारी र अंग्रेजी भाषामा विभिन्न विषयका करिब ४ दर्जन भन्दा बढी सिर्जनात्मक र अनुसन्धानमुलक कीर्तिका स्रष्टा हुन् । जोशीका अनेकन विधामा कलम श्रम र सीप चलेको थियो ।

उनी काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, समालोचक, कोषकार अनुवादक र सम्पादक व्यक्तिको रूपमा प्रसिद्दी प्राप्त व्यक्ति हुन् ।  लोकसाहित्य, लोक संस्कृति, कला र कलाकार, पुरातत्त्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म दर्शन आदि विषयका अनूदित र मौलिक कृति प्रकाशन गरेर कुशल अन्वेषकको सम्मानले पनि प्रतिष्ठित छन् ।

जागिरे जीवनमा राष्ट्रको प्रशासनिक सेवा, औद्योगिक सुपरिवेक्षक, जनसंख्या विभागका डाइरेक्टर बनेर पनि नेपाल र नेपालीको सेवामा तल्लीन थिए । त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा विशेषज्ञ प्राध्यापक र चीनमा नेपाली भाषा प्रशिक्षक भएर शिक्षा क्षेत्रमा पनि आफ्नो विज्ञता निर्वाह गरेका थिए ।

नेपालको प्राज्ञिक उन्नयनको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव र नेपाली भाषा एकेडेमीको कुलपति बनेर प्रज्ञाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए  जोशी । कर्णाली प्रदेशको भाषा साहित्य र संस्कृति प्रकाशनमा समेत उनको विशेष रुचि र योगदान रहेको थियो ।

संस्कृतिविद् जोशी थुप्रै संघ संस्थाका संस्थापक र संचालक साथै सल्लाहकार र अभिभावक थिए । उनले राष्ट्रलाई लगाएको गुण र उनको योगदानको कदर गर्दै सरकार र अनेक संस्थाबाट सम्मानित र पुरस्कृत भएका थिए । सुप्रवल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, नेपाल सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो । काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको उच्च प्राज्ञिक उपाधिबाट विभूषित जोशी वाङ्मय शताब्दी पुरुषको सम्मानले २०७४ बैशाख २१ मा नेपाल सरकारबाट विभूषित छन् ।

हाम्रो लोकसंस्कृति (२०१३), नेपाली राष्ट्रिय मुद्रा (२०१७) र कर्णाली लोक संस्कृति (२०२८) गरी नेपालको नोबेल पुरस्कार मानिने मदन पुरस्कार समेत तीन पटक प्राप्त गर्ने लेखक सत्य मोहन जोशी हुन् ।

जन्म शताब्दी २०७६ मा वाङ्मय शताब्दी पुरुष उल्लेख गरेर नेपाली २५ सयको र एक सयको सिक्का पनि नेपाल सरकारले निष्कासन गरेको छ । जीवित हुँदै हुलाक टिकट छापिने पहिलो व्यक्तिको सम्मान पनि जोशीको भागमा परेको छ । उनको तस्बिर अङ्कित १० रुपैयाँको हुलाक टिकट २०७७ माघ २० गते प्रकाशित गरिएको थियो । 

शताब्दी वर्ष, लामो आयु बाँचेर पनि जोशी कति आधुनिक र समाज बुझेका मान्छे थिए भन्ने कुरा उनले आफ्नो शरीर किष्ट अस्पताललाई दान दिएबाट थाहा हुन्छ । जोशीको शरीरमाथि किष्ट मेडिकल कलेजका विद्यार्थीहरूले खोज, अनुसन्धान गर्नेछन् । जीवित रहँदा पनि शिक्षा र खोज अनुसन्धानमा सरिक जोशी मृत्यु पश्चात पनि शिक्षा आर्जन गर्ने थलोलाई शरीर दिएर खोज अनुसन्धान प्रयोगका विषय बन्नेछन् । उनको मृत शरीर अस्पताललाई दान दिएको कारण उनलाई नेपाल सरकारले उच्च सम्मानका साथ सलामी दिएर उनको जन्म कुण्डली शंखमूलस्थत बागमतीमा घाटमा जलाएर सेलाइयो ।

जोशी सहज मृत्यको पक्षमा थिए र आफ्ना अन्तर्वार्ताहरूमा प्रायः भन्थे, ‘मृत्यु अवश्यम्भावी र  नियमित आकस्मिकता हो । मृत्युसँग डर लाग्दैन ।’ उनको मृत्यु चिन्तन डरमा आधारित नभएर सहजबोधमा आधारित थियो । मृत्युलाई सहज बोध गर्न सकियो भने मृत्युको भयले मान्छेलाई तर्साउँदैन भन्ने विश्वास थियो ।

सत्यमोहन जस्ता व्यक्ति जन्मन कैयौं वर्ष लाग्छ । उनी इतिहासका पनि इतिहास दुर्लभ पात्र थिए । काठमाडौं उपत्यकामा जन्मेर पनि नेपालका गाउँ गाउँ दूर दराज घुमेर अध्ययन अनुसन्धान गर्ने जोशी नेपाल बुझेका, नेपाल देखेका र नेपाल लेखेका प्रतिभा थिए । उनलाई नेवारी संस्कृतिका इन्साइक्लोपेडिया र नेपालबारे धेरै ज्ञान भएका मान्छेको रूपमा चित्रित गरिन्थ्यो ।

गत वर्ष १०२ औ जन्म दिन पारेर पत्रकार गिरिश गिरीले जोशीको आत्मकथा सार्वजनिक गरेका थिए, जुन एउटा इतिहास र महत्वपूर्ण दस्तावेजको रूपमा अनुसन्धाताहरूका लागि प्रयोग गर्न मिल्ने खोजको विषय हुनेछ ।

औपचारिक कार्यक्रममा दौरा, सुरुवाल पहिरिने जोशी स्वदेशलगायत विदेशमा आफ्नो पहिचान राख्नुपर्छ भन्ने मान्यतामा दृढ थिए भन्छन् उनलाई नजिकबाट चिन्नेजान्नेहरू । नेपालको संस्कृतिका अध्ययन अनुसन्धानदातालाई कुनै कुराको सूचना लिन र तथ्याङ्क संकलन गर्न गर्न, कतै अलमल भए जोशीलाई फोन गर्नासाथ त्यसको समाधन निस्कने कुरा उनको बारेमा अनुसन्धान गरेका लेखहरूमा पढ्न पाइन्छ ।

यतिसम्म कि उनी जहिलेदेखि होश समाल्ने भए, त्यो बेला देखिको नेपाली इतिहास, संस्कृति र राजनीति उनी हुबहु सुनाइदिन्थे । उनी नेपालको जिउँदो जाग्दो इतिहास थिए । नेपालको धेरै र महत्वपूर्ण, ऐतिहसिक राजनीतिक घटना र परिवर्तनका साक्षी जोशी ती घटनाक्रमले नेपालको संस्कृति र परिवर्तनलाई पारेको असरबारे धाराप्रवाह घन्टौ भनिदिन्थे । यो पंक्तिकारले पनि उनको मुखबाट विभिन्न समयमा ऐतिहासिक घटनाक्रमबारे सुन्ने मौका पाएको थियो ।

जीवन यात्राको यो लामो दर्मियानमा उहाँका सबै शारीरिक अवयवले साथ दिएका थिए । श्रवण शक्ति र आँखा तन्दुरुस्त थिए । चीरस्मृति, नुतन सोच, रचनात्मक सिर्जनात्मक सक्रियता, सकारात्मक धारणा सबै पुस्ता र स्रष्टा लगायत समाजका हरेक मान्छेसँगको निकटता थियो । पठनमा सदैव रुचि र कुनै पनि कार्यक्रममा अन्तिमसम्म बस्ने र सुन्ने धैर्य जोशीका शताब्दी पार गर्दा पनि नथाकेका शारीरिक र मानसिक विशेषता थिए ।

इश्र्या, राग द्वेष भय र क्रोधबाट मुक्त परमानन्दको आनन्दमा देखिनु जोशीका गुण थिए । ठुलो आग्रह र आशा कहीँ कतै भएको अनुभूति भेट्न जानेले संगाल्न पाउँदैनथे । जीवन वोध र मृत्युको सहजबोध जोशीका विश्वास र आस्था जस्ता लाग्थे ।

लामो जीवन बाँचेर, धेरै योगदान दिएर यथेष्ट सम्मान पाएर जोशी अस्ताए । धेरै मान्छेलाई यस्तो संयोग जुर्दैन । मरेपछि मात्र सम्मान गर्ने समाज र संस्कृति भएको देशमा जीवितै यति धेरै सम्मान र इज्जत पाएको यो दुर्लभ घटना हो ।

उनको मृत्युपश्चात नेपालीले श्रद्दापूर्वक यस्ता संज्ञा र विशेषण लेखेर उनलाई श्रद्धान्जली दिएको पाइयोः नेपालका सच्चा सपुत, नेपाली रत्न, ज्ञानोदयका सूत्राधार राष्ट्रका गौरव, राष्ट्रिय सम्पदा, अजम्बरी राष्ट्रिय प्रतिभा, ओजस्वी व्यक्तित्व, स्वच्छ छविको नेपाली, सिर्जनात्मकताका धनी, कर्मयोगी, सिद्ध पुरुष, सर्वोच्च नागरिक, चीरस्मरणीय व्यक्ति आदि ।

समाजका सवै वर्ग, तह तप्का र समुदायका प्रेरणास्रोत जोशी एउटा सजीव इतिहास थिए, जसको कर्मले नेपाल आज उज्यालो पनि छ । कतिपय तत्कालीन सोच समय र चेतनाले उनका कृतिलाई आजको चेतनाले आलोचना पनि गर्न सक्छ तर उनले जे लेखे त्यो कसैकाप्रति आग्रह, कुनै समुदायलाई होच्याउन र हेला गर्न नियतवश लेखेका होइनन् । तिनलाई त्यही रूपमा बुझ्नु, विश्लेष्ण गर्नु र मूल्याङ्कन गर्नु आवश्यक हुन्छ ।

संस्कृतिविद् सत्यमोहन जोशीको महाप्रस्थान भइसक्यो । उनले सार्थक र सक्रिय जीवन बाँचेर गए । अब उनका योगदान र रचनाकर्म मात्रै हाम्रा लागि बाँकी छन् । आफ्ना अमर कृतिका माध्यमबाट मात्र उनी अभौतिक रूपमा जीवित छन् । नेपाली भाषा, साहित्य, कला र संस्कृतिका  महातपस्वीको महायात्रा सुगम रहोस्, यही प्रार्थना छ ।  

लेखक त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमफिल/पीएचडी अनुसन्धाता हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप