शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आयात घट्दा राजश्व सङ्कलनमा दबाब, ३ महिनामा लक्ष्यको १५ प्रतिशत मात्रै उठ्यो

सोमबार, १४ कात्तिक २०७९, १४ : १५
सोमबार, १४ कात्तिक २०७९

सरकारले विभिन्न वस्तुको आयातमा लगाउँदै आएको प्रतिबन्धको प्रभाव भन्सार राजश्व सङ्कलनमा देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को ३ महिनाको अवधिमा नेपालको आयात १६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ को यही अवधिको तुलनामा आयात १६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

आयातमा आएको उच्च गिरावटसँगै अर्थ मन्त्रालयले लिएको भन्सार राजश्व सङ्कलनको लक्ष्य नै प्रभावित बनेको भन्सार विभागले जानकारी दिएको छ । सरकारले बजेटमार्फत वित्तीय व्यवस्थापनको सन्तुलन मिलाउन चालू आर्थिक वर्षमा भन्सार राजश्वमार्फत ६ खर्ब ६८ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर, ३ महिनासम्मको अवधिमा जम्मा १५ प्रतिशत राजश्व सङ्कलन भएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।

खड्काका अनुसार साउनदेखि असोज महिनासम्म जम्मा ९७ अर्ब ९५ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । जुन, कूल राजश्व सङ्कलन लक्ष्यको जम्मा १५ प्रतिशत हुन आउँछ । यस्तै, सरकारले ३ महिनाको अवधिमा आयातमार्फत १ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर, यस अवधिमा ६६ प्रतिशत मात्रै लक्ष्य भेट्टाएको खड्काले रातोपाटीलाई बताए ।

कुन भन्सार कार्यालयबाट कति राजश्व सङ्कलन ?

प्रत्येक भन्सार कार्यालयलाई कति राजश्व सङ्कलन गर्ने भनेर लक्ष्य दिइएको थियो । तर, सबैजसो भन्सार कार्यालयले आफ्नो लक्ष्य भेट्टाउन असफल बनेका छन् । विभागका अनुसार ३ महिनाको अवधिमा वीरगन्ज सुख्खा बन्दरगाहले मात्रै कूल लक्ष्यको ७० प्रतिशतभन्दा बढी राजश्व सङ्कलन गरेको छ । सुख्खा बन्दरगाहमार्फत सरकारले १५ अर्ब २८ करोड उठाउने लक्ष्य राखेको थियो । जसमध्येबाट १० अर्ब ८८ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । यो लक्ष्यको ७१ प्रतिशत हो ।

यसबाहेक अन्य कुनै पनि भन्सार कार्यालयले आफ्नो कूल लक्ष्यको ७० प्रतिशतभन्दा बढी राजश्व सङ्कलन गर्न सकेका छैनन् । वीरगन्ज भन्सार कार्यालयले भने यस अवधिमा लक्ष्यको ७० प्रतिशत राजश्व सङ्कलन गरेको छ । सरकारले चालू वर्षको ३ महिनाको अवधिमा वीरगन्जबाट ५६ अर्ब ३७ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर, यस अवधिमा जम्मा ३९ अर्ब ६२ करोड रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।

यी २ बाहेक भैरहवा भन्सार कार्यालयले ३४ अर्ब ६८ करोड रुपैयाँ उठाउनुपर्नेमा १९ अर्ब ९४ करोड उठाएको छ । यो लक्ष्यको जम्मा ५७ प्रतिशत हो । यस्तै, विराटनगरले १३ अर्ब ४७ करोड उठाउनुपर्नेमा ८ अर्ब ८२ करोड उठाएको छ । यो लक्ष्यको ६५ प्रतिशत रहेको सूचना अधिकारी खड्काले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले समेत लक्ष्यको ६७ प्रतिशत मात्रै राजश्व सङ्कलन गर्न सकेको छ । यो भन्सार कार्यालयले ३ महिनाको अवधिमा ६ अर्ब ९६ करोड उठाउनुपर्ने लक्ष्य पाएको थियो । तर, यस अवधिमा जम्मा ४ अर्ब ६६ करोड राजश्व उठाएको छ ।

स्रोत जुटाउने सकस

आयातमार्फत उठ्ने भन्सार राजश्व नउठेपछि सरकारमाथि स्रोत जुटाउने सकस परेको छ । ३ महिनाको अवधिसम्ममा उठेको भन्सार राजश्व अनुसार कूल लक्ष्य नभेटिने निश्चित जस्तै देखिएको छ । १२ महिनाको अवधिमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य रहेकामा हालसम्म जम्मा ९७ अर्ब रुपैयाँ सङ्कलन भएको छ । यसले अर्थ मन्त्रालयलाई स्रोत जुटाउनै सकस पर्ने देखिएको हो ।

खास गरी, सरकारले चालू आर्थिक वर्षको सुरुदेखि नै आयात घटाउने नीति लिएको छ । विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित सरकारले विलासिताका वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउँदै आएको छ । सरकारले ३०० डलरभन्दा बढीका स्मार्टफोन, १५० सीसीभन्दा बढी क्षमताका दुई पाङ्ग्रे सवारीसाधनको समेत आयात प्रतिबन्ध छ । कार, जीप र भ्यान तथा विदेशी ब्राण्डका मदिराको आयात समेत प्रतिबन्ध छ । भन्सार राजश्वमा उत्कृष्ट हिस्सा ओगट्ने यी वस्तुको आयात रोकिँदा समग्र भन्सार सङ्कलन प्रभावित बनेको विभागको विश्लेषण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप