शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी मैदानमा यामलाल कँडेल : एमालेले हराउने डरले गठबन्धन बनाएर आएका छन्

बुधबार, १६ कात्तिक २०७९, १६ : ४८
बुधबार, १६ कात्तिक २०७९

नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल यतिबेला मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । कँडेल नमुना मतपत्रसहित घर घरमा पुगेर मत माग्न व्यस्त रहेका हुन् भने आफूलाई मत हाल्ने प्रक्रिया समेत सिकाइरहेका हुन्छन् । 

उनले सोमबार, मंगलबार र बुधबार आफ्नो क्षेत्र अन्तर्गत पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४, ६, १३, १४ लगायतका वडाका बस्ती बस्तीमा घरदैलो अभियान गरेर सकाएका छन् ।  सुर्खेत क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार कँडेललाई भावी मुख्यमन्त्रीको आकांक्षीको रुपमा समेत हेरिएको छ । यद्यपि, सत्तारुढ गठबन्धन अर्कोतर्फ हुँदा एक्लै चुनावी मैदानमा होमिएका कँडेललाई चुनाव जित्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ । 

कँडेलको प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका कालीप्रसाद शाक्य चुनावी मैदानमा छन् । उनलाई माओवादीले साथ दिएको छ भने एकीकृत समाजवादीले शिवप्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । उपाध्याय कँडेलका पूर्व सहकर्मी मात्रै होइन एमालेभित्र आन्तरिक प्रतिस्पर्धी हुन् । कँडेलले एमालेलाई एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा होमिएर हराउन नसक्ने भएपछि गठबन्धन बनाएर कांग्रेस–माओवादी मैदानमा उत्रिएको आरोप लगाए ।

घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै उनले सिद्धान्त र विचार नमिलेकाहरुले गठबन्धन गरेको भन्दै टिप्पणी गरे । साथै कँडेलले कांग्रेस कुनै जमनाको पुरानो पार्टी भएपनि आज एक्लै चुनावमा भोट माग्न आउने स्थिति नभएको बताए । उनले कुनै समय माओवादी–कांग्रेस एक अर्कालाई सिध्याउने खेलमा लागेको बताए । ‘तर आज कांग्रेसले माओवादीलाई बोकिरहेको, माओवादीले कांग्रेसलाई,’ उनले भने, ‘सुर्खेत र देश बनाउनका लागि होइन एक्लाएक्लै चुनावमा गएको खण्डमा एमालेले हराउने डरले गठबन्धन बनाएर आएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप