बुधबार, २५ माघ २०७९
ताजा लोकप्रिय
सन्दर्भः ५५३ औं गुरू नानक जन्म जयन्ती

हिन्दू, मुस्लिम, बौद्ध सबैका प्याराः गुरू नानक देव

मंगलबार, २२ कार्तिक २०७९, ११ : १६
मंगलबार, २२ कार्तिक २०७९

कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मका संस्थापक गुरू नानक देवको जन्म भएको मानिन्छ । यसपालि यो दिन कार्तिक २२ गते पर्छ । यो उनको ५५३ औं जन्म जयन्ती हो । धार्मिक जनसंख्याको हिसाबले सिख धर्म विश्वमा पाचौँ र नेपालमा दशौं स्थानमा पर्छ । तर धेरै नेपालीलाई सिख धर्म र सो धर्मका संस्थापक गुरू नानक देवको विषयमा कमै मात्र ज्ञान छ ।

 आजभन्दा पाँच शताब्दीअघि जुनबेला गुरू नानकले सिख धर्मको सुरुवात गरे, त्यसबेला हिन्दू, मुस्लिम र बौद्ध सबै गुरू नानकको उपदेशबाट अत्यन्तै प्रभावित भएका थिए । उनी नेपाल पनि आएका थिए । नेपालका विभिन्न भागसँगै काठमाडौंमा पनि बसेका थिए । 

जसरी गौतम बुद्धले उत्तर भारतभर घुमेर आफ्नो सन्देश प्रवाह गर्दै हिँडेका थिए, त्यसरी नै गुरू नानक पनि भारतका विभिन्न भागसँगै नेपाल र तिब्बत पनि पुगेर धर्मोपदेश गर्दै हिँडेका थिए । त्यसैले अहिले कमै मात्र नेपाली उनीसित परिचित रहे पनि त्यसबेलाको नेपाली समाज गुरू नानकसित राम्ररी परिचित थिए ।

गुरू नानक काठमाडौंमा बालाजु, शोभा भगवती, ज्ञानेश्वर आदि स्थानमा बसेका थिए । मल्लकालदेखि शाहकालसम्मका राजाहरु पनि उनीबाट प्रभावित थिए । मल्लकालमै उनका मठको लागि ठाउँ ठाउँमा सयौं रोपनी जग्गा राज्यले प्रदान गरेको थियो ।

महारानी राजराजेश्वरीको कक्षमा उनको तस्बीर झुण्ड्याएको पाइन्छ । यसको एक मात्र कारण उनको आध्यात्मिक व्यक्तित्वको अलौकिक प्रभाव थियो । उनी त्यस्ता थोरै सन्तहरूमा पर्छन्, जसलाई हिन्दू, मुसलमान र बौद्ध सबैले उत्तिक्कै आदर गर्थे । के भारतीय, के नेपाली, के तिब्बती, सबै समाजले पनि उनलाई उच्च तहको सन्तको रूपमा चिन्थे ।

उनको समयमा भारतमा हिन्दू र मुस्लिमबीच चर्को द्वन्द्व चलिरहेको अवस्था थियो । तर अनौठो कुरा के छ भने उनका उपदेश दुवै धर्मावलम्बी मुग्ध भई सुन्थे । त्यसैले एउटा कहावत नै प्रचलित भयो—

बाबा नानक शाह फकीर

हिन्दू का गुरू, मुसलमान का पीर

अर्थात्, गुरू नानक फकीरहरूका राजा हुन् । उनी हिन्दूका लागि गुरू र मुसलमानका लागि पीर (सन्त) हुन् । बौद्धहरूले उनको उपदेश सुनेपछि उनलाई ‘रिम्पोछे’ मानेका थिए । गुरू नानकलाई तिब्बतमा गुरू गोम्पका महाराजको नामबाट बौद्ध सन्तको रूपमा चिनिने गरेको कुरा दलाई लामाले स्वीकारेका छन् ।

गुरू नानकको जीवन

विभिन्न प्रमाणहरूका अनुसार गुरू नानकको जन्म वैशाख पूर्णिमा (बुद्ध जयन्ती) को दिन भएको देखिन्छ । तर, परम्पराअनुसार उनको जन्मदिन कार्तिक पूर्णिमाको दिन मनाइँदै आएको छ । विश्वभरका सिखहरू यो दिन आफ्ना गुरूको जन्मदिनको रूपमा धुमधामसाथ मनाउँछन् ।

नानक आमा तृप्ता देवी र बुबा कल्याणचन्द दास वेदीका दोस्रो सन्तानको रूपमा जन्मेका थिए । उनी जन्मेको स्थान हाल पाकिस्तानको पञ्जाब प्रदेशमा पर्छ र सो स्थानलाई उनकै कदर स्वरूप नानकाना साहिब नामकरण गरिएको छ ।

सानैबाट अध्यात्मतिर उनको झुकाव थियो, साथै विद्रोही स्वभाव पनि थियो । सात वर्षको उमेरमा उनलाई शिक्षकले एक (१) अंक सिकाउँदा उनले एक मात्र ईश्वर (परमसत्य) रहेको व्याख्यान दिए । पछि गएर सिख धर्मको मूल मन्त्र नै “एक ॐकार सत्नाम” भयो । नौ वर्षको उमेरमा जब ब्राह्मणले उनलाई जनै लगाइदिन आए, उनले ब्राह्मणलाई सोधे, पवित्रता धागोमा अडिएको हुन्छ कि कर्ममा ? उनले जनै स्वीकार गरेनन् ।

अठ्तीस वर्षको हुँदा एक रात उनी नदीमा पसेका थिए । तर, उनी ननिस्केपछि मानिसहरू चिन्तित भए । मानिसहरूले सोचे कि उनलाई नदीले बगायो होला । हिन्दू, मुस्लिम सबै मिलेर उनको खोजी गरे । किनभने त्यसबेलासम्म उनमा विशेष आध्यात्मिक गुण रहेकोमा हिन्दू र मुस्लिम दुवै विश्वस्त भइसकेका थिए । उनी दुवै समुदायबीच प्रिय थिए । तर जति खोजी गर्दा पनि नदीमा हराएका उनी भेटिएनन् । तीन दिनपछि पूर्णिमाको दिन उनी एकाएक नदीबाट निस्के । तर त्यसबेलासम्म उनी अर्कै मान्छे भइसकेका थिए ।

उनका साथीहरूले उनलाई घेरेर अनेक प्रश्नहरू सोधे । तर उनलाई लाग्यो, यस्ता मान्छेहरूसँग कुरा गरेर केही फाइदा छैन ।” त्यसैले उनले उनीहरूतर्फ केही ध्यान दिएनन् । अनि मानिसहरूले भन्न थाले, नानक राम्रो मान्छे थियो । तर, अब यो कि त बहुलाएछ, कि यसलाई बोक्सी चढेछ ।” 

नानकले भने, मलाई प्रभूको नशा चढेको छ । त्यसैले, म बहुलाएको छु ।”

अनि फेरि मानिसहरूले सोधे, हामीलाई थाहा भएसम्म दुइटा मार्ग छन्– हिन्दू र मुस्लिम । तिमी कुन मार्गमा जाँदैछौ ?

उनले उद्घोष गरे, हिन्दू भन्ने पनि छैन, मुस्लिम भन्ने पनि छैन ।”

सामाजिक अधर्मका विरोधी

मानिसहरू उनलाई धार्मिक समन्वयकर्ता पनि भन्छन् । उनको मानवप्रतिको विभेदरहित व्यवहार र प्रेमपूर्ण उपदेशको कारण अवश्य पनि धार्मिक सहिष्णुता फैलिन गएको थियो । तर उनी धार्मिक समन्वयकर्ता वा समाज सुधारकभन्दा पनि मुक्तिका पथप्रदर्शक थिए ।

सत्यको प्रत्यक्ष दर्शन भएपछि समाज सुधारको काम सहायक रूपमा आफैं हुँदो रहेछ । उनी त्यसबेलाका सन्त कवि कबीर दास, रैदास आदिजस्तै जातीय र अन्य विभेदका विरूद्ध सशक्त रूपमा उभिएका थिए ।

महिला समानतामा सिख धर्म जति अग्रगामी छ, अरू कुनै धर्म छैन । पश्चिममा नारीवाद त धेरै पछि मात्रै आएको हो । तर, गुरू नानक र सिख धर्मले पाँच सय वर्षअघि नै सांसारिक र धार्मिक दुवै पक्षमा पूर्ण नारी समानताको वकालत गर्ने र व्यवहारमा लागू गर्ने साहस गरिसकेको थियो ।

सिख धर्मको मूल ग्रन्थ ‘गुरू ग्रन्थ साहिब’मा भनिएको छ, संसारमा ठूलाभन्दा ठूला महापुरुष पनि महिलाकै गर्भबाट आउँछन् भने महिलालाई कसरी कमसल भन्न मिल्छ ?

उनकै प्रेरणाले उनी पछिका सिख गुरूहरू पनि सती प्रथा, दहेज प्रथा, पर्दा प्रथा, बहुविवाह र बालविवाहको विरुद्ध निरन्तर प्रहार गरिरहे । त्यसैले पनि भारतमा अन्य समुदायका महिलाको तुलनामा सिख महिला शिक्षा र व्यवसायमा धेरै अगाडि छन् । हेर्दा पनि सिख महिला बढी आत्मविश्वासी र हिम्मतिला देखिन्छन् भने यसमा आश्चर्य मान्नुपर्ने कुनै कुरा छैन ।

गुरू नानक धर्मको नाममा गरिने कर्मकाण्डको पनि उत्तिकै विरोधी थिए । तीर्थाटन, गंगास्नान, मूर्तिपूजा आदि सबै किसिमका धार्मिक अनुष्ठानको उनले घोर विरोध गरे । उनको ईश्वर वा परमसत्य निरञ्जन, निराकार छ । त्यसैले उनको दर्शन एकेश्वरवादी मुस्लिम, निर्गुण ब्रह्मवादी हिन्दू र शून्यवादी बौद्ध सबैलाई स्वीकार्य भयो ।

केही चमत्कारहरु

गुरू नानक चमत्कारका पक्षपाती त थिएनन् । तर सबै महात्माहरुको जीवनमा जस्तै उनको जीवनमा पनि केही चमत्कारका घटना भएका छन् ।

लद्दाखमा पत्थर साहिब गुरूद्वारा छ, जहाँ बौद्ध र सिख दुवै बराबर श्रद्धासाथ जान्छन् । यसको कहानी विचित्रको छ । लद्दाखमा सन् १९७० मा लेह–निमु बाटो बनाउन लाग्दा बौद्ध ध्वजा, पताकाले बेरिएको एउटा अजंगको ढुंगा फेला पर्छ । बाटो बनाउनलाई डोजरले त्यो ढुंगा हटाउन खोज्दा टसमस पनि भएन, बरु अन्तिममा डोजर नै बिग्रियो ।

सोही रात डोजर चालकले सपनामा एउटा आवाज सुने, जसमा त्यो ढुंगा नहटाउन भनिएको थियो । सो कुरा उनले बाटो बनाउन खटेका सैनिक अफिसरलाई सुनाए । तर, अफिसरले त्यसलाई गम्भीर रूपमा लिएनन् । फेरि ढुंगा हटाउने प्रयास भयो, तर त्यो दिन पनि सफल भएनन् ।

साँझ भएपछि सैनिक अफिसरले डाइनामाइट पड्काएर ढुंगा फोड्ने तयारी गर्ने आदेश दिए । सो रात सैनिक अफिसरले पनि त्यस्तै सपना देखे, जसमा सो ढुंगा नहटाउन भनिएको थियो । तर सैनिक अफिसरले आफ्नै सपनालाई पनि गम्भीर रूपमा लिएनन् । संयोगवश सो दिन आइतबार परेकोले काम भएको थिएन । र, त्यही दिन दिउँसो कयौं लामा र बौद्ध उपासकहरू आएर सो ढुंगा उनीहरूले नानक लामाको नामबाट पुज्ने गरेको बताए ।

सो ढुंगा र गुरू नानकको अनौठो सम्बन्ध छ । उनी सिक्किम, नेपाल, तिब्बतको यात्रापछि लद्दाख हुँदै पञ्जाब फर्किरहेका थिए । स्थानीय श्रुतिअनुसार गुरू नानक लद्दाखमा रहँदा दैनिक धार्मिक प्रवचन दिन्थे । त्यहाँका बौद्धहरू उनको उपदेश सुनिरहन्थे । तब एउटा राक्षसलाई नानकको लोकप्रियतादेखि रिस उठ्यो । एक दिन त्यो राक्षसले पहाडबाट ठूलो ढुंगा नानकको पछिल्तिर खसाल्यो । नानक अलिकति पनि विचलित नभई उपेदश दिइरहे ।

जब सो ढुंगा नानकको नजिक आइपुग्यो, तब ढुंगा नरम मैनमा बदलियो । नानकको पछाडिको भागमा लाग्दा ढुंगामा नानकको शरीरको निशाना रहन गयो । त्यहाँ सोही ढुंगा नानक लामा वा पत्थर साहिब भनेर पुजिने गरेको छ ।

नानकको जीवनमा धेरै अलौकिक घटना भएका छन् । तिनमा एक हो ज्ञानेश्वरको ज्ञानधारा । गुरू नानक ज्ञानेश्वरमा रहँदा उनलाई त्यहाँका बासिन्दाले पानीको दुःख रहेको बताएका थिए । तब उनले आफ्नो कृपाणले खोपेर त्यहीँ पानीको धारा छुटाएको हो भनिन्छ ।

गृहस्थ धर्मका पक्षपाती

गुरू नानक आध्यात्मिक हुँदै पनि उनले कहिल्यै संन्यासी जीवनको समर्थन गरेनन् । परिवारमै बसेर मुक्ति प्राप्त गर्न सकिने कुरामा उनले जोड दिए । त्यसैले उनी पनि विवाहित थिए र उनका दुइ छोरा थिए । तर उनको दर्शनको विपरीत उनको जेठो छोरा श्रीचन्दले संन्यासी जीवन अंगाले र उदासी मतको स्थापना गरे । उदासीका आश्रमहरू नेपालमा पनि छरिएका छन् ।

 उनको कान्छो छोरा लक्ष्मीचन्द सांसारिक मात्र भए । गुरू नानकले सुझाएको जीवन–पथ व्यावहारिकता र आध्यात्मिकताको सन्तुलित बाटो हो । त्यसैले गुरू नानकले आफ्ना दुवै छोरालाई आफ्नो उत्तराधिकारी बनाएनन् । गुरू नानकपछि गुरू अंगद उनका उत्तराधिकारी भए ।

गुरू नानक उच्च कोटीका कवि पनि थिए । उनको रचनामा सूफी कविताको सुवास पाइन्छ । उनका कविताहरू सिख धर्मको ग्रन्थ ‘गुरू ग्रन्थ साहिब’मा सुरक्षित छन् । ‘गुरू ग्रन्थ साहिब’ अर्थात् सिख धर्मको एघारौं तथा अजम्मरी गुरू उनको कविताबाट यसरी सुरू हुन्छ—

लाख सोचे पनि ‘त्यो’ (परमसत्य) सोचमा अटाउँदैन ।

नबोलीकन बस्दैमा मात्र पनि अन्तरमौन पाइँदैन ।

संसार सम्पूर्णै पाए पनि भोकोको भोक (तृष्णा) मेटिँदैन ।

चालाखीका लाखौं चाल मर्ने बेला एउटै काम लाग्दैन ।

आध्यात्मिक झुकाव भएका हरेक व्यक्तिले एक पटक पढ्नैपर्ने ग्रन्थ हो– गुरू ग्रन्थ साहिब ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप