शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ–७ : एमालेको ‘लालकिल्ला’ तोड्ने दाउमा मानुषी

मङ्गलबार, २२ कात्तिक २०७९, १६ : ३८
मङ्गलबार, २२ कात्तिक २०७९

रातो कुर्ता सुरुवाल र गोल्डस्टार जुत्ता । सामान्य पहिरनमा सोमबार गोलढुङ्गा क्षेत्रमा मत माग्दै थिइन्, गठबन्धनका तर्फबाट साझा उम्मेदवार मानुषी यमी भट्टराई । माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा लिएर मैदानमा उत्रिएकी उनलाई नेपाली काँग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले साथ दिइरहेका छन् । 

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा सोही क्षेत्रकी पूर्व सांसद हिसिला यमीको उत्तराधिकारीका रूपमा हेरिएकी मानुषी यमी भट्टराई यसपटक काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ बाट निर्वाचित हुने दाबी गरिरहेकी छिन् । ठुलो दल काँग्रेसको साथ पाएकी मानुषीले आम जनताको साथ र सहयोग पाउनेमा विश्वस्त छिन् ।

नेकपा एमालेको लालकिल्लाका रूपमा परिभाषित काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ अघिल्लो पटक नेकपा एमालेले जितेको क्षेत्र हो । २०६४ सालमा हिसिला यमीले जितेको यो क्षेत्रमा त्यसपछि दुई पटक एमालेले जित निकालेको क्षेत्र हो । यो स्थानमा दुवै पटक एमालेका तर्फबाट रामवीर मानन्धर सांसद बनेका थिए । 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन समयमा माओवादीसँग गठबन्धन गरेको एमालेका उम्मेदवार रामवीर मानन्धरले १९ हजार १०२ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रहेका काँग्रेससँग गठबन्धन गरेको राप्रपाका उम्मेदवार विक्रम बहादुर थापाले १० हजार ७९ मत ल्याएका थिए । एक्ला एक्लै लड्दा पनि प्रतिनिधिसभातर्फ काठमाडौँ–७ मा एमाले बलियो रहेको दाबी गरिन्छ ।

२०७९ को स्थानीय तहको वडागत अंकगणित हेर्दा भने काठमाडौँ ७ मा नेपाली काँग्रेस बलियो देखिन्छ । काठमाडौँ ७ मा वडागतरुपमा हेर्दा नेपाली काँग्रेसको १४ हजार १६७, एमालेको १२ हजार २०२, एकीकृत समाजवादीको ३ हजार ८३९, राप्रपाको २ हजार २७, माओवादीको ५७६ र जसपाको १६२ मत रहेको देखिन्छ ।

हाल माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेकी मानुषी तत्कालीन समयमा जनता समाजवादी पार्टीमै थिइन् । तर अहिले जनता समाजवादी पार्टी पनि टुक्रिसकेको छ र मानुषी नेपाल समाजवादी पार्टीमा छिन् । तर गठबन्धनमा आबद्ध दलहरूको कुल मत हेर्ने हो भने यसपटक गठबन्धनलाई पहिलेकै जस्तो सबै मत आउने हो भने १८ हजार ७४४ मत प्राप्त हुन सम्भव छ । 

यता नेकपा एमालेले राप्रपासँग गठबन्धन गरेको कारण एमाले र राप्रपाको मत जोड्दा एमालेले १४ हजार २२९ मत प्राप्त गर्न सक्ने अवस्था देखिन्छ । एमालेका तर्फबाट अहिले काठमाडौँ–७ मा श्याम कुमार घिमिरे उम्मेदवार बनेका छन् । 

तर एमालेकै तर्फबाट दुई पटक सांसद बनिसकेका रामवीर मानन्धर काठमाडौँ–७ मा बागी उम्मेदवार बनेका छन् । आफूलाई उम्मेदवार नबनाइएको भन्दै रामवीरले घण्टाघर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले काट्ने भोट एमालेकै भएको भन्दै एमालेलाई उक्त क्षेत्रमा गाह्रो रहेको बताइन्छ । यता काठमाडौँ–७ मै जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठले समेत उम्मेदवारी दिएका छन् । पहिले एमालेका तर्फबाट सोही क्षेत्रबाट सांसद भएका श्रेष्ठ पछि जनता समाजवादी पार्टीमा आबद्ध भएका थिए । नेवार समुदायमा आफ्नो राम्रो मत भएको दाबी गर्ने श्रेष्ठले त्यस क्षेत्रबाट राम्रो मत ल्याउने दाबी गरिरहेका छन् । 

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा अन्य दलभन्दा स्वभाविकरुपमा सत्ता गठबन्धनकी उम्मेदवार मानुषी बलियो देखिन्छिन् । यद्यपि पहिलेको भोटको आधारमा मात्रै बलियो भन्न सकिने अवस्था भने छैन । पढेलेखेको र युवा भएको कारण आफूलाई जनताले समेत मन पराएको र आफूले मत पाउनेमा विश्वास रहेको मानुषी​ले बताइन् । 

आफू काठमाडौँ क्षेत्र नम्बर ७ मा उम्मेदवार बन्दै गर्दा पार्टीको भन्दा पनि जनताको गुनासो र मागलाई सम्बोधन गर्ने गरी एजेण्डा तयार पारेको बताउँदै आफूहरूको एजेण्डा जनमुखी भएको मानुषीले प्रष्ट पारिन् ।

उम्मेदवार मानुषी​ले निर्वाचन क्षेत्र कुनै पार्टी वा नेताको पेवा नभएको भन्दै जनताले जसमाथि विश्वास गर्छन् उनले नै जित्ने बताइन् । उनले भनिन्, ‘कसको विरासत थियो वा कुन पार्टी बलियो थियो भन्ने कुरा अब छैन, जसले जनताको विश्वास जित्न सक्छ, उसैले जित्ने हो । हामीहरूले जनताको विश्वास जितिरहेका छौँ भन्ने आत्मविश्वास छ ।’

उपलब्ध उम्मेदवारको विकल्पमा म योग्य छु :मानुषी​

अन्य उम्मेदवारलाई भोट नहाली तपाईंलाई नै भोट हाल्नुपर्ने के कारण छ र भन्ने प्रश्नमा मानुषी​ले आफू उपलब्ध उम्मेदवारमध्ये सबैभन्दा योग्य रहेको दाबी गरिन् । मानुषी​ले भनिन्, ‘हामी भएका र उपलब्ध विकल्पहरूमध्ये योग्य छौँ । जहाँ चमक छ, जहाँ ज्ञान छ, जहाँ क्षमता छ, त्यो खालको उम्मेदवारको पङ्ति हामी हौँ । म, सविन तामाङ र वसन्त मानन्धर सबै युवा र योग्य उम्मेदवार भएका कारण प्रतिनिधि सभा र प्रदेश सभामा उपलब्धहरू मध्ये हामी नै योग्य हौँ त्यसैले जनताले हामीलाई जिताउनु हुनेछ ।’

जित्ने एजेण्डा के छन् त भन्ने प्रश्नमा मानुषी​ले अन्य दलले एजेण्डा ल्याए पनि त्यसलाई कार्यान्वयनमा लैजान नसक्ने बताइन् । मानुषीले भनिन्, ‘कागजमा धेरैले एजेण्डा ल्याउलान्, तर त्यसलाई भोलिका दिनमा परिणाममा उतार्न सक्ने भनेको यही गठबन्धनबाट नै हो । हामीले जे जति मुद्दा उठाउँछौँ, त्यसलाई नीति निर्माण, कानुन निर्माणदेखि लिएर कार्यकारी निकायबाट कार्यान्वयनमा ल्याउने क्षमता पनि हामीसँग छ । त्यसकारण अरूभन्दा काम गर्न सक्ने दल वा गठबन्धन हामी भएको कारण हामीलाई नै विजयी गराउनुहुन्छ भन्ने विश्वास छ ।’

जनतामा पुराना नेता र पुराना राजनीतिक दलहरूमा वितृष्ण देखिएको भन्ने प्रश्नमा सम्बन्धमा मानुषी​ले भनिन्, ‘हामी युवा उम्मेदवार भएको कारण विगतबाट पाठ सिक्दै भविष्य उन्मुख छौँ । जनताले अन्यलाई धेरै पटक हेरिसक्नु भयो, तर हामी युवा भएको र हाम्रो भविष्य पनि यही देशमा भएको कारण हामीलाई विजयी गराउनुहुन्छ भन्ने विश्वास छ ।’

आफूहरूको एजेण्डा सामूहिक एजेण्डा भएको कारण कार्यान्वयनमा लैजान सजिलो हुने भएकाले जनताले गठबन्धनलाई विजयी गराउने मानुषी​को दाबी छ । मानुषी​ले भनिन्, ‘हामीहरू फरक–फरक पार्टीमा भए पनि युवाहरू मिलेर हामीले एउटै मिसन बनाएका छौँ । अन्य साथीहरूले कागजमा धेरै राम्रो प्रतिबद्धता ल्याउनुभएको होला र व्यक्तिगतरुपमा पनि राम्रो हुनुहोला । तर सामूहिक एजेण्डा, कार्यक्षमता आदिका आधारमा अन्य उम्मेदवारहरूले पनि हामीमाथि गर्व गर्न सक्नुहुन्छ । र, उहाँहरू सबैले हामीले उठाएका एजेण्डाको पनि अपनत्व गर्न पाउनुहुन्छ भन्नेमा म ढुक्क छु । त्यसकारण पनि जनताले हामीलाई विजयी गराउनुहुन्छ भन्ने विश्वास छ ।’

कतिपय निर्वाचन क्षेत्रमा गठबन्धनमा अन्तर्विरोध भए पनि काठमाडौँ ७ मा अन्तर्विरोध नभएको मानुषी​ले बताइन् । उनले भनिन्, ‘यस क्षेत्रमा गठबन्धनमा कुनै अन्तर्विरोध छैन । हामी सबैले एक अर्कालाई पूर्ण सहयोग गरिरहेका छौँ । हामीले इमानदारीपूर्वक गठबन्धनका उम्मेदवारहरूलाई भोट माग्ने र भोट हाल्ने निर्णय गरिसकेका छौँ । त्यसकारण हाम्रो जित सुनिश्चित छ ।’

जनताले राम्रो रेस्पोन्स गर्नुभएको छ, हामी जित्छौँ : सविन तामाङ, उम्मेदवार, प्रदेश सभा (ख)

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७, प्रदेश ख का उम्मेदवार सविन तामाङले पनि आगामी निर्वाचनमा आफूहरू विजयी बन्नेमा पूर्ण विश्वस्त रहेको दाबी गरे । जनताको घरघरमा पुगेपछि जनताको आशीर्वाद र गठबन्धनलाई हेर्ने नजर सकारात्मक रहेको भन्दै आफूहरूले जित्ने बताए । 

तामाङले भने, ‘घरदैलो सुरु गरेदेखि हामी जनताको घरघरमा नै पुगेर मत मागिरहेका छौँ । जनताको घरघरमा नै पुग्दा उहाँहरूले एकदमै राम्रो रेस्पोन्स गरिरहनुभएको छ । हामी प्रतिनिधिसभा र प्रदेशसभाको दुवै उम्मेदवार युवा भएको कारण हामीलाई एकदमै पोजेटिभ रेस्पोन्स आएको छ । पुराना नेताबाट आजित भएका जनताले युवा उम्मेदवार पाउँदा खुसी व्यक्त गर्नुभएको छ । हाम्रो जितको एउटा आधार त्यही नै हो ।

चुनाव जित्ने आधार के हो त भन्ने रातोपाटीको प्रश्नमा तामाङले उक्त क्षेत्रमा गठबन्धनकै भोट बढी रहेको र जनताले आफूहरूलाई मन पराएको कारण आफूहरूले जित्ने बताए । उनले भने, ‘अंकगणितीय हिसाबले हेर्दा प्रदेश ख मा मात्रै हामी २ हजार ३०० भन्दा बढी मतले माथि छौँ । तर हिजो गठबन्धनको मत बढी थियो भनेर हुँदैन, मूल कुरा जनताको मत जित्ने हो । हामी जनताको मत जित्ने गरी काम गर्न चाहन्छौँ । हामीले राम्रो काम नगरे अर्को पटक हाम्रो अस्तित्व नरहन पनि सक्छ । त्यस कारण हामी मन जित्ने गरी काम गर्न चाहन्छौँ र त्यसका लागि जनताले हामीलाई विजयी बनाएर पठाउनुहुन्छ । 

प्रदेशको औचित्य साबित गर्न उम्मेदवारी

काठमाडौँ क्षेत्र नम्बर ७, प्रदेश ख का उम्मेदवार तामाङले आफ्नो उम्मेदवारी प्रदेशको औचित्य साबित गर्न पनि रहेको बताए । अहिले धेरैले प्रदेशको औचित्य छैन भनिरहेको अवस्थामा प्रदेशको औचित्य छ कि छैन भनेर पुष्टि गर्न आफ्नो उम्मेदवारी रहेको र त्यसलाई पुष्टि गर्ने गरी काम गर्न चाहेको बताए । 

तामाङले भने, ‘मेरो पहिलो चुनौती भनेको म जुन निर्वाचनमा उम्मेदवार बनेको छु प्रदेश सभामा, त्यसको लागि प्रदेशको औचित्य साबित गर्नु आवश्यक छ । मलाई सबैभन्दा ठुलो चुनौती त्यसैको छ । बाँकी रहेको ५ वर्षमा प्रदेशको औचित्य पुष्टि गर्न सकिएन भने अर्को निर्वाचनमा प्रदेशको औचित्य आवश्यक छ कि छैन र धान्न सक्छ कि सक्दैन भनेर प्रश्न उठ्न थाल्छ । त्यस कारण प्रदेशको औचित्य पुष्टि गर्नु मेरो पहिलो दायित्व हुनेछ ।’

तामाङले स्थानीय स्तरको विकासको योजना, नीति निर्माण आदिमा पनि प्रदेश सांसदको भूमिका हुने भन्दै त्यसका लागि प्रदेश सांसदले पुलको काम गर्नुपर्ने बताए । तामाङले भने, ‘सम्बन्धित क्षेत्रको विकास र नीति निर्माणमा प्रदेश सांसदको भूमिका रहन्छ । स्थानीय तहको विकास स्थानीय तहले नै गर्ने हो भन्ने कुरा पनि आउँला, तर त्यतिले मात्रै पुग्दैन । सो क्षेत्रको आवश्यकता र विकासका लागि आवश्यक योजना तर्जुमा गर्ने, योजना पार्नका लागि योजना आयोगदेखि मन्त्रालय जाने र प्रदेशमा आवाज उठाउनका लागि पुलको काम हामी प्रदेश सांसदले गर्नुपर्छ । त्यस कारण यो महत्त्वपूर्ण जिम्मेवारी रहन्छ ।’

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा तारकेश्वर नगरपालिकाको वडा नम्बर, ३,४ र ५ पर्छ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ ७ मा यसपटक ६१ हजारभन्दा बढी मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप