शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

श्वेता फाउन्डेसनमाथि उठ्यो प्रश्न : किन ढिला भयो भूकम्पपीडित माझीहरूको एकीकृत बस्ती निर्माण ?

बुधबार, १२ पुस २०७४, १२ : ३१
बुधबार, १२ पुस २०७४

सिन्धुपाल्चोक माझीबस्ती– साहित्यकार रमेश विकलद्वारा लिखित ‘अविरल बग्दछ इन्द्रावती’मा उल्लेखित इन्द्रावती निरन्तर बगिरहेको छ । नदीको वेगमा कमी छैन । तर त्यही किनारामा दिनचर्या चलाइरहेका माझीहरूको घर निर्माणको गतिमा कुनै वेग छैन ।

घर निर्माणमा गति नभएपछि माझीहरूको जीवनको गति पनि सुस्त छ । जेठ १५ गते शिलान्यास भएका घरको निर्माण काम ठप्प छ ।

तामझामसहित भएको थियो शिलान्यास, पढनुहोस् यो समाचार

श्रीकृष्णको सम्झानामा श्वेताको माझी गाउँ पुनर्निर्माण अभियान (फोटोफिचर)

निमार्णाधीन माझी बस्तिमा गत शुक्रबार पुग्दा  बस्ती निर्माणको अवस्था सुस्त देखियो । मध्यान्हको समयमा रापिलो घाममा  केही युवाहरू टहलाउँदै थिए भने केही  बस्तीसँगै जोडिएको आधारभूत विद्यालयमा गफिँदै थिए । महिलाहरू आफ्नै नित्यकर्ममा थिए ।

मूल सडक मार्गबाट १२ किमि कच्ची सडक छिचोलेर माझी बस्ती पुगेर गाडीबाट ओर्लंदै गर्दा एक युवक हामी नजिक आए । उनी रहेछन्– भm्याँडी माझी बस्ती टोल सुधार समितिका अध्यक्ष दिनेश माझी । माझी बस्ती कच्ची सडकसँगै जोडिएको थियो । 

बाटोबाट २० मिटर पश्चिमतिर भित्र छिरेपछि निर्माणाधीन बस्ती देखिन्छ । १२ घरको जमिन सतहसम्म निर्माण सकिएको थियो । छडहरू ठडिएका थिए । त्यसभन्दा केही पश्चिममा डोजर चलिरहेको थियो । भूकम्पपीडित एक माझीको घर भत्काएर थप घरहरूको लागि जमिन सम्याउने कार्य जारी थियो । माझी युवाहरू घर खालि गर्न सहयोग गरिरहेका थिए ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पमा परी सिन्धुपाल्चोकस्थित साविक ठूलो सिरुवारी–९ (हाल : चौतारा साँगाचोकगढी नगरपालिका–१४) का ५६  माझी परिवारका सबै घर ध्वस्त भए । भाग्यवश मानवीय क्षति भने भएन । भूकम्पपश्चात् माझी परिवारका पशु चौपायाको नामोनिशान रहेन । माझीहरू इन्द्रावतीको किनारमा सात दिनभन्दा बढी लगाएर पशुहरू पुर्ने साथै नदीमा बगाउने काममा लागे ।

आर्थिक रूपमा विपन्न माझीहरूलाई भूकम्पले आश्रयविहीन बनायो । व्यक्तिगत तवरमा माझीहरूले घर निर्माण गर्न सक्ने हैसियत थिएन । जसोतसो टहरा बनाई गुजारा गर्न सुरु गरे । सरकारको तर्फबाट तत्काल राहत स्वरूप दिइएको प्रतिपरिवार  ५० हजारले घर बन्न सक्ने अवस्था थिएन । माझीहरूले प्राप्त रकमलाई खर्च नगरी संयुक्त रूपमा बैङ्क खातामा जम्मा गरी राखे ।

भूकम्पपीडित माझीहरूको दयनीय अवस्था, एकता र उनीहरूको बचत गर्ने बानीका विषयमा अभिनेत्री श्वेता खड्काको कानमा पुग्यो । २०७३ को माघमा खड्का पहिलो पटक माझी बस्तीमा पुगिन् । सामाजिक कार्यमा रुचि भएकी खड्काले घरवारविहीन माझी परिवारलाई घर बनाइदिने तत्परता देखाइन् । माझी बस्तीका निर्माणका लागि श्वेता श्री फाउन्डेसनको जन्म भयो  ।

खड्काकै सक्रियतामा गत जेठ १५ मा श्वेता श्री फाउन्डेसनले धुमधामसँग एक कार्यक्रम गर्यो ।  पुनर्निर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख गोविन्द पोखरेलले बस्तीको शिलन्यास गरेका थिए । भूकम्प प्रभावित ५६ परिवारका पहिलो चरणमा १६ घर निर्माण गर्ने गरी काम सुरु गरियो ।

 पहिलो चरणमा सम्पन्न हुने १६ घरलाई दशैँमा हस्तान्तरण गर्ने बताइएको थियो । अपशोच, दशैंमा माझीहरूले घर त पाएनन् नै, निर्माण कार्य पनि भदौदेखि ठप्प भयो ।  भदौसम्ममा १२ घरको डीपीसी मात्रै पूरा भएको थियो । त्यसबेलादेखि रोकिएको निर्माण कार्य हालसम्म सुचारु हुन सकेको छैन । 

श्वेता फाउन्डेसन, पुनर्निर्माण प्राधिकरण र सिन्धु क्रियटिभका कारण माझीहरूले यस पटकको जाडो पनि टहरामुनि विताउने बाध्यता आइपरेको छ । प्रतिघर   ७ लाखमा निर्माण सम्पन्न गर्नेगरी श्वेता फाउन्डेसनले सिन्धु क्रियटिभसँग सम्झौता गरेको थियो ।

फाउन्डेसनले बस्ती निर्माणका लागि सहजीकरणको भूमिका निर्वाह रहेको संस्थाका परियोजना प्रमुख यज्ञराज कार्कीले बताए । प्राधिकरण मार्फत किस्तामा उपलब्ध हुने रकम मात्रै परिचालन गर्न मिल्ने प्रावधानले निर्माणमा ढिलाइ भएको कार्कीको भनाइ छ । प्राधिकरणबाट प्राप्त रकमबाट अपुग रकमका लागि फाउन्डेसनको दायित्व किटान भएको कार्कीले बताए ।

फाउन्डेसनले बस्ती निर्माण ढिलाइ हुनुमा सरकारी निकाय, वर्षा, चाडवाड र चुनावलाई पनि कारण देखाएको छ । तर निर्माणको जिम्मा लिएको सिन्धु क्रियटिभले अन्य माध्यमबाट आर्थिक जोहो हुन नसकेको अवस्थामा फाउन्डेसनले लागत दिने गरी सम्झौता भएको जनाएको छ ।

फाउन्डेसनले चार किस्तामा निर्माणकर्ता कम्पनीलाई लागत उपलब्ध गराउने गरी सम्झौता गरेको छ । सहमतिअनुसार पहिलो चरणमा निर्माण गरिने घरहरूको निर्माण सुरु हुनुपूर्व २० प्रतिशत रकम प्राप्त सिन्धुलाई चुक्ता गरिएको छ । दोस्रो किस्ताबापत सिन्धुले प्राप्त हुने ३० प्रतिशत रकम नपाएपछि निर्माण कार्य रोकिदिएको छ । निर्माण पूर्व २० प्रतिशत, जमिनसम्मको लेबल सकिएपछि ३० प्रतिशत, लिन्टल लेभलसम्म निर्माण सकिएपछि ३० प्रतिशत र निर्माण कार्य सम्पन्न भएपछि २० प्रतिशत निर्माण कम्पनीलाई बुझाउने गरी त्रिपक्षयी सम्झौता गरिएको छ ।

सम्झौताअनुसारको रकम फाउन्डेसनले समयमा बुझाउन नसकेको मार माझीहरूले बेहोर्नुपरेको छ । फाउन्डेसनका परियोजना प्रमुख कार्कीले प्राधिकरणबाट मार्फत प्राप्त रकमलाई मात्रै परिचालन गर्न सकिने प्रावधान भएकाले फाउन्डेसनमा रकम भए पनि चुक्ता गर्न नसक्ने दाबी गर्छन् ।

जब कि सिन्धु निर्माण कम्पनीका शुभाष पाण्डेले आर्थिक अभावमा निर्माण रोकिएको अवस्थामा फाउन्डेसनले आर्थिक बहन गर्ने गरी सहमती गरिएको बताउँछन् । पाण्डेले भने ‘फाउन्डेसनबाट प्राप्त रकमभन्दा दोब्बर खर्च गरिसकियो । दोस्रो किस्ता बापतको रकम नपाएकाले निर्माण कार्य अघि बढाउन नसकिएको हो ।’

निमार्णाधीन घरहरू बन्ने आशामा माझीहरू आफ्नो पीडालाई लुकाएर बसेका छन् । घर निर्माण हुने अभिलाषामा माझीहरू खुलेर विरोध गर्न पनि सक्दैनन् ।  उनीहरू फाउन्डेसनलाई भन्दा सरकारी निकायलाई दोषी देख्छन् ।

सरकारी ढिलाइका कारण समयमा काम हुन नसकेको झ्याँडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझीले बताए । निमार्णाधीन १२ घरका लागि अनेक प्रयासपछि दोस्रो किस्ताका लागि आवेदन दिएको भन्दै सरकारी निकायप्रति  दुखेसो व्यक्त गरे ।

फाउन्डेसनले बनाउन लागेको बस्तीमा प्रत्येक घरमा तीन कोठा र एक शौचालय हुनेछ । बस्ती  निर्माणका लागि माझीहरू मार्फत नै जग खनिएको दिनेशले प्रष्ट्याए । निश्चित योजनाविना निर्माण सुरु गरिएकाले वर्तमान अवस्थामा आएको माझीको बुझाइ छ ।

माझी बस्तीमा इन्टरलकिङ इँटाले घर बनाउन लागिएको छ । इन्टरलकिङ इँटा सरकारी मापदण्डमा नसमेटिएकाले  दोस्रो किस्ताका लागि हैरानी पाएको माझीले बताए ।

प्राधिकरणबाट प्राप्त रकम श्वेता श्री फाउन्डेसन हुँदै सिन्धु क्रियटिभमा पुग्ने हुँदा बस्ती निर्माणमा ढिलो हुँदै गएको छ । निर्माणकर्ता कम्पनीले दोस्रो किस्ता पाएको छैन भने फाउन्डेसन प्राधिकरणबाट प्राप्त हुने रकम पर्खिरहेको छ ।

तीन निकायको मारमा माझीहरू परेका छन् । माझीहरू आफ्नै तरिकाले निर्माण गर्न  नसक्ने गरी परिबन्दमा परेका छन् । श्वेता फाउन्डेसनले बस्ती निर्माणको जिम्मेवारी लिएकाले उनीहरू फाउन्डेसनमा पूर्ण निर्भर छन् । माझी बस्ती निर्माणका लागि आर्थिक सङ्कलन तथा खर्चका लागि फाउन्डेसन मार्फत एकद्वार प्रणाली अपनाइएको छ ।

शिलान्यासको समयमा ५६ घर निर्माण गर्ने बताइए पनि तीन घर भूकम्प प्रभावितमा गणना नभएकाले ५३ घर बनाउने कार्कीले बताए । १२ घरहरूका लागि जग्गा सम्याएको फाउन्डेसनले बाँकी घरहरूका लागि लामो समयसम्म जग बसाउने स्थान बनाइदिन सकेन ।

दीर्घकालीन परियोजनाअन्तर्गत निर्माण गर्न लागिएको बस्तीमा आगामी वैशाखसम्ममा ३२ घर माझीहरूलाई हस्तान्तरण गरिने कार्कीले जनाए । गैरसरकारी संस्थाले भन्दा विपरीत निर्माणको नेतृत्व समुदायमा हुने गरी निर्माण मापदण्ड तय गरिएको उनले दाबी गरे ।

घर निर्माणका लागि अपुग रकम न्यूनतम व्याजदरमा लक्ष्मी बैङ्कले ऋण प्रवाह गर्ने फाउन्डेसनले जनाएको छ ।  प्रतिपरिवार रु. चार लाखका दरले माझीहरूको ऋण भार थपिने भएको छ । ऋण चुक्ताका लागि फाउन्डेसनले माझीहरूलाई आयमूलक कार्यमा लगाउनुपर्ने छ । ऋणको जमानी फाउन्डेसन हुने गरी बस्ती निर्माण गर्न लागिएको छ ।

माझीहरूले गत स्थानीय  निर्वाचनमा उनीहरूकै समुदायबाट एक जनप्रतिनिधि पनि चयन गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका –१४ को वडा सदस्यमा माझी समुदायबाट मिलन माझी निर्वाचित भएका थिए । वडा सदस्य माझीले सहमतिअनुसार काम नभएकाले अहिलेको अवस्था आएको बताए । श्वेता श्री फाउन्डेसनले समयमा जग्गा प्लटिङ नगरिदिएकाले बस्ती निर्माण ढिलो हँुदै गएको उनको ठम्याइ छ ।

माझी बस्तीका बालबालिकाहरूमा निर्भर रहेको स्थानीय झमलादेवी आधारभूत विद्यालय बस्तीसँगै जोडिएको छ । उक्त विद्यालयमा ५ कक्षासम्म ५२ विद्यार्थीहरू अध्ययनरत छन् । अध्ययनरत सबै विद्यार्थी माझी समुदायका बालबालिकाहरू हुन् ।

विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठ माझी बस्ती निर्माण नहुनको सम्पूर्ण दोष श्वेता फाउन्डेसनमा  देख्छन् । फाउन्डेसनलाई प्राप्त रकम प्रशासनिक कार्यमा खर्च भएको उनको निष्कर्ष छ । ‘बस्ती निर्माणका लागि गाविसबाट प्राप्त रु तीन लाख, सांसद विकास कोषबाट पाएको रु. पाँच लाख पनि श्वेता फाउन्डेसनमा पुगेको छ ।’ उनले भने– ‘आएका इन्जिनियरहरू पनि फर्के । सम्याइएको जग्गामा सबै घर बन्ने अवस्था छैन । बाँकी घरहरूलाई के गर्ने ?’

स्थानीय तथा श्वेता फाउन्डेसनले सरकारी ढिलासुस्तिका कारण निर्माण कार्यले गति लिन नसकेको बताइरहँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने गैरसरकारी संस्थाले बनाउने जिम्मेवारी लिएपछि निर्माण अधिकार सम्पूर्ण श्वेता फाउन्डेसनमा रहेको जनाएको छ । माझी बस्ती बनाउनमा ढिलो भएको रहेछ भने पm्लो गरिने प्राधिकरणका प्रवक्ता यमलाल भुषालले बताए । उनले निर्माण अवस्थाबारे अनभिज्ञ रहेको समेत बताए ।

निर्धारित समयमा माझी बस्ती निर्माण नहुनुको कारण पहिल्याउन साथै माझीहरूको अवस्था र समस्याहरू लिएर फाउन्डेसनकी प्रमुख नायिका श्वेता खड्काकहाँ पुग्यौँ ।

अब स्मुथ्ली काम हुन्छ :

 श्वेता खड्का, प्रमुख, श्वेताश्री फाउन्डेसन

गत जेठ १५ मा दशैंसम्म १६ घर निर्माण गरी हस्तान्तरण गर्ने प्रतिबद्धतासहित बस्तीको शिलान्यास गर्नुभएको थियो । निर्धारित समयमा पूरा गर्न किन सक्नुभएन ?

शिलान्यास गरेको दिनसम्म पनि सरकारीतर्फबाट आवश्यक कागजातको अप्रुभल आएको थिएन । पुनर्निर्माण प्राधिकरणले बनाउन स्विकृति मात्रै दिएको थियो । शतप्रतिशत मेरो पैसामा घर बनाउँछु भनेर म गएकै होइन । हामीलाई सरकारी पैसा पनि आएन । उहाँ (श्रीकृष्ण श्रेष्ठ) को  जिल्ला भएकाले पनि मलाई अलि भावुक बनायो । माघमा मैले स्थान भिजिट गरेकी थिएँ । त्यसको चार महिनामै शिलान्यास गरियो ।

जग्गा मिलाउने, प्लटिङ गर्ने कार्यमा समय धेरै लाग्यो । धेरै जनाको जग्गा छ । सट्टापट्टा मिलाउनु पर्यो । माझी बस्ती बनाउनका लागि फाउन्डेसन सुरु गरिएको हो । जेठमा शिलान्यास गर्दा पनि डकुमेन्ट अप्रुभल थिएन ।  शिलान्याससँगै वर्षातको समय सुरु भयो । त्यसको बाबजुत पनि १२ घरको डीपीसी सक्यौं । तर बीचमा विवाद उत्पन्न भयो । को चाहिँ अगाडिका बनेका घरमा बस्ने र को चाहिँ पछि बनेका घरमा बस्ने विषयमा । विवाद उत्पन्न हुने भएपछि पहिलो चरणका घरहरूलाई बनेकै अवस्थामा रोकेर थप घरहरूका लागि जग्गा मिलाउन लाग्यौँ । अब चाहिँ सबै घर समान रूपमा निर्माण हुने भए ।

पहिलो चरणमा निर्माण गर्ने भनिएका १६ मध्ये चार घरका लागि पनि जग्गा सम्याइदिनुभएको रहेनछ । के कारणले ?

हाम्रो काम छिटो नभएको हो । वर्षा, चाडवाडले गर्दा ढिलो हुनुपुग्यो । फन्ड कलेक्सन १०० प्रतिशत भएर बस्ती निर्माण गर्न लागिएको होइन । काहिँ पैसा उठाउने अभियान गरिएको छैन । मैले अभियान सञ्चालन गरँे भने उठ्छ पनि होला । घर बनाउनलाई मेरो पैसा चाहिँदैन । सरकार र बैङ्कको पैसाले घर बन्छ । मेरो अहिलेको भूमिका डेभलपर मात्रै हो । मैले डिजाइन  गर्दिन सक्छु । मैले व्यवस्थापन र इन्जिनियरिङ टिम खटाएको छु । म माझीहरूलाई दायित्वबोध गराउन चाहन्छु । चारवटा घर रोकिनका कारण पनि सबै घरहरू एकै समय सम्पन्न गर्ने लक्ष्यका कारण हो ।

घर निर्माण हुनुपूर्व निर्माण कम्पनीलाई २० प्रतिशत उपलब्ध गराउनुभएको रहेछ । तर सहमति अनुसार जमिनसम्मको लेभलमा आइसकेपछि ३० प्रतिशत दिनुपर्ने रहेछ । उक्त रकम नपाएर थप काम अगाडि नबढेको भनिन्छ ।

होइन, होइन । त्यो त पेमेन्ट नै भइसक्यो । सिन्धु क्रियटिभसँग पनि कुरा भएको छ । सबै घर सँगै बनाउने गरी कुरा भएको छ । सरकारबाट प्राप्त हुने रकम पनि प्राप्त भएको छैन ।  प्राधिकरणमा नयाँ सीईओ आइसकेपछि सोचेअनुसारको सहयोग पाइएको छैन । केही दिनअघिको मिटिङमा नयाँ सीईओले जतिसक्दो छिटो गर्छु भन्नुभएको छ । नयाँ व्यक्तिलाई फेरि बुझाउनुपर्ने भएको छ । आर्थिक कारणले निर्माण रोकिएकै होइन । मैले पैसा दिन मिल्छ तर सरकारबाट आउने पैसा किन नदिने भन्ने हो । सिस्टममा जाओस् भनेर हो ।

सिन्धुले पैसा नपाएर काम रोकेको होइन । बरु उहाँहरूले धेरै लगानी गर्नुभयो । चुनावी कारणले पनि काम रोकियो । निर्माण कम्पनीलाई अलिकति असर पर्यो । काम गर्ने वातावरण नभएर हो । अरु केहि पनि होइन ।

माझीहरूलाई भनेको समयमा घरहरू हस्तान्तरण गर्न सक्नुभएन । स्थानीयको सरकारी निकाय र तपार्इंहरूप्रति गुनासो छ । के भन्नुहुन्छ ?

उहाँहरूलाई श्रमको पारिश्रमिक मिलाइदिएका छौँ । घरका लागि मेरो कुनै भूमिका हुँदैन । मात्रै डेभलपर्स हुँ । घर बनिसकेपछि धारा बत्ति, चिल्डे«न पार्कलगायतका भौतिक संरचना म बनाउँछु । बैङ्कले पनि ऋण दिन्छु भनेको छ । मुख्य समस्या जग्गा मिलाउनमै रह्यो ।

तपाईंहरूले जहाँ डोजर लगाइरहनुभएको छ, त्यहाँ सबै घरका लागि जग्गा नपुग्ने अवस्था छ । कसरी मिलाउनुहुन्छ ?

वाल लगाएर दुई स्टेपमा बनाउनुपर्ने भएको छ । पाँच जना इन्जिनियर गएर जग्गा मिलाउँदै हुनुहुन्छ । अब स्मुथ्ली काम हुन्छ ।

महत्वाकाङ्क्षी परियोजना भएर तपाईंलाई मानसिक दबाब भयो कि ?

तनाव भएको छैन । सरकारले पैसा दिन्छ तर ढिलो भएको छ । बैङ्क तयार नै छ ।

अहिले घर नै बनेको छैन । त्यसपछि बल्ल अन्य भौतिक संरचनामा ध्यान दिनुपर्ने हो । तपाईंले बस्ती निर्माणभन्दा फरक क्षेत्रमा ध्यान दिएको गुनासो छ । 

उहाँहरूलाई गुनासो लाग्यो होला । अब छिटो हुन्छ । अब मैले पनि समय दिन सक्छु । फिल्मलाई समय दिएकाले बस्तीका लागि समय दिन सकिनँ । भनिएको समयमा घरहरू निर्माण नभएपछि गुनासो हुनु स्वभाविक हो । छ महिनाभित्रमा सबै माझीहरूलाई घर हस्तान्तरण गरिसक्छौँ ।

घर निर्माण भएपछि माझीहरूलाई प्रतिपरिवार चार लाख ऋण हुने रहेछ । त्यो ऋण चुक्ता गर्न तपाईंको पहल के हुन्छ ?

निर्माण नसकिने बेलासम्म श्वेता श्री फाउन्डेसनमा आउने रकम माझी बस्तीलाई नै जान्छ । छुट्टै स्थानमा गोठ बनाइदिने विचारमा छौँ । पाँच हजार मासिक किस्ता पर्छ । प्रत्येक घरमा आयस्रोतको बाटो छ । कम्युनिटी हाउस बनाउँछौँ । महिलाहरूलाई आयआर्जनका लागि सीपमूलक तालिम दिने कुरा भएको छ । होम स्टेको विकास गर्ने सोच छ । त्यहाँ बालुवा झिकेर पनि आय गर्ने अवस्था छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप