बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तीन महिनामा टेलिकमको आम्दानी ११ अर्ब,  भ्वाइस सेवाको समग्र आयमा कमी

बुधबार, ३० कात्तिक २०७९, १२ : ५६
बुधबार, ३० कात्तिक २०७९

नेपाल टेलिकमले चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ४ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको टेलिकमले आम्दानी ०.८ प्रतिशतले बढाएको हो ।

कम्पनीको कुल सञ्चालन आय भने घटेको छ । गत आर्थिक वर्षको तीन महिनामा ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ कुल आय गरेको टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँ कुल आय गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको कुल आय ६९ करोड ७७ लाख रुपैयाँ (७.१४ प्रतिशत) ले कमी आएको हो ।

कम्पनीको खुद नाफा पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) २ अर्ब २५ करोड  ९९ लाख रुपैयाँ खुद नाफा गरेको टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खद नाफा गरेको छ । कम्पनीको खुद नाफा १.५२ प्रतिशतले घटेको हो ।

आफ्नो खुद नाफा घट्नुमा विभिन्न कारण रहेको टेलिकमको भनाई छ । टेलिकमले दिएको जानकारी अनुसार डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करिब ११ करोड ४० लाख रुपैयाँ वृद्धि भए पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार आन्तरिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब १० करोड रुपैयाँले कमी आएको छ । ओटीटी सेवाको बढ्दो प्रयोगका कारण भ्वाइस सेवाको समग्र आयमा कमी भएको टेलिकमले जानकारी दिएको छ । 

यस्तै, मौसमको प्रतिकुल असरले गर्दा विद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको, आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा प्रभाव पर्न गएको र कोभिड लगायत विभिन्न कारणले गर्दा विश्वव्यापी आर्थिक मन्दीका कारण देशको आर्थिक अवस्थामा परेको असरले क्रयशक्तिमा आएको परिवर्तनले प्रभाव पारेको जस्ता कारणले आफ्नो खुद नाफा कम भएको टेलिकमको भनाई छ ।

टेलिकमका अनुसार बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानीमा करिब रु. ७९ करोडले वृद्धि भएको, विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब रु. ७ करोड विदेशी मुद्रा विनियम फाइदा भएको, कम्पनीको लेखा नीति तथा एनएफआरएस बमोजिम गणना गर्दा इम्पेरिमेन्ट तथा फाइनान्स कष्टमा गत आर्थिक वर्षभन्दा कम भएको छ । चालु आर्थिक वर्षदेखि कर्मचारीहरूको तलब सुविधामा वृद्धि भएको कारणले कर्मचारी खर्च बढेको र यसैको कारण पनि कम्पनीको खुद नाफा कम भएको टेलिकमले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप