शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम जिल्ला गुणात्मक विकासको चरणमा प्रवेश गरेको छ : जनार्दन शर्मा

‘समग्र रुकुमको विकास–समृद्धिका साथै अहिलेको गठबन्धनलाई दिगो र बलियो बनाउन लागिरहेको छु’
बिहीबार, ०१ मङ्सिर २०७९, १५ : १६
बिहीबार, ०१ मङ्सिर २०७९

रुकुम पश्चिम जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट  साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा रहेका छन् । यही मङ्सिर ४ गते हुने आम निर्वाचनको कार्यक्रम अन्तर्गत बिहीबार चुनाव प्रचारको अन्तिम दिन शर्माले पश्चिम रुकुमको चौरजहारीमा अन्तिम चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

प्रस्तुत छ जिल्लामा अधिकांश गाउँ बस्ती पुगेर भोट मागेका शर्मासँग जिल्लाका मतदाताका आकाङ्क्षा एवं उनका एजेन्डाहरू लगायतका विविध विषयमा रातोपाटीले गरेको यो कुराकानी : 

हालसम्म कति मतदाताको घरमा पुग्नुभयो ? तपाईंसँग मतदाताले के के अपेक्षा गरेको पाउनुभयो ? 

म मतदाताको घरमा भन्दा पनि सबै मतदाताको मन–मनमा पुगिरहेको छु । आज घरदैलो कार्यक्रमको अन्तिम कार्यक्रम गर्दैछु । यहाँको चुनाव प्रचार सभा राजनीतिक सभाजस्तो नभएर सांस्कृतिक सम्मेलन जस्ता छन् । दर्जनौँ सांस्कृतिक झाँकीहरूका साथमा हामीले कार्यक्रम गरेका छौँ । आज अन्तिम कार्यक्रम चौरजहारीमा हुँदैछ । 

तपाईंप्रति जनताका अपेक्षाहरू के के रहेछन् ? 

जनताका अपेक्षा हाम्रो आर्थिक विकास र समृद्धि कसरी हुन्छ भन्ने नै छ । मैले विगतका ३ वटा कार्यकालमा मैले गरेका धेरै काम जनताले देखेका छन् । सडक, खानेपानी, विद्यालय भवन लगायतका भौतिक पूर्वाधार विकास र सुदृढीकरण गरेको कुरा जनताले बुझेका छन् र थप विकासको अपेक्षा गरेका छन् । मैले गरेको विकासमा थप गुणात्मक विकासको अपेक्षा लिएका छन् । 

तपाईंले आफ्नो प्रतिस्पर्धी उम्मेदवारको  चुनौती कतिको महसुस गर्नुभएको छ ? 

यो ठाउँमा माओवादीको आफ्नै प्रभाव भएको ठाउँ हो र अहिले नेपाली कांग्रेस सहितको गठबन्धन भएर हामी बलियो अवस्थामा रहेका छौँ । अहिले यहाँ ९० प्रतिशत मत गठबन्धन दलसँग रहेको छ । 

संघीय संसद्को मुख्य काम कानुन नीति निर्माण गर्ने भए पनि जनअपेक्षाहरू पनि त्यसमा जोडिएर आउने गरेको छ । तपाई निर्वाचित भइसकेपछि मुख्य रूपमा तपाईंले गर्ने कामका प्राथमिकताका क्षेत्रहरू के के हुन्छन् ? 

मैले यसलाई दुई खण्डमा बाँडेको छु । एउटा जिल्लासँग सम्बन्धित कामहरू र अर्को समग्र राष्ट्रका लागि गर्ने कामहरू गरेर २ भागमा बाँडेको छु । जिल्लासँग सम्बन्धित कामहरूमा मैले के भन्ने गरेको छु भने अब रुकुम जिल्ला गुणात्मक विकासको चरणमा प्रवेश गरेको छ । गुणात्मक विकासको एउटा पाटो भनेको भौतिक पूर्वाधार विकास गर्ने जसअन्तर्गत सडक सञ्जालहरूको कालोपत्रे गर्ने, खानेपानी धारा वितरणको काम ५० प्रतिशत पूरा भएको छ, विद्युतीकरणको काम ८० प्रतिशत पूरा भएको छ । यस्तै सिँचाइ क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणको काम ८० प्रतिशत पूरा भएको छ भने २० प्रतिशत पूरा हुन बाँकी रहेको छ । यी लगायतका बाँकी कामहरू पूरा गर्नेछु । 

अर्को काम भनेको आम जनताको आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा वृद्धि गर्ने, आयआर्जनको नयाँ कामहरू सुरु गर्ने, उत्पादन बढाउन आम युवाहरूलाई परिचालन गर्ने, बेरोजगारी र गरिबिको अन्त्य गर्ने कुरा अहिलेको मुख्य चुनौती हो । नयाँ रोजगारीको सिर्जना गर्दै गरिबी अन्त्यका लागि गठबन्धन दलको तर्फबाट विभिन्न योजनाहरू अघि बढाउनेछौँ । यसलाई मैले श्रम, उत्पादन नै आर्थिक समृद्धिको अभियान भनेको छु । 

दोस्रो उत्पादन गरेर पैसा कमाएर मात्र हुँदैन, समाजलाई शान्ति एकता कायम गर्नका लागि सांस्कृतिक चेतना, मानवीय शक्तिको विकास, शैक्षिक विकास लगायतका कुराहरू आवश्यक पर्छ । यी काम गर्नका लागि राजनीतिक पार्टीहरूलाई जनताको खबरदारी, नेतृत्व र जनप्रतिनिधिलाई जनताको खबरदारी निरन्तर हुनुपर्छ । जनताको निरन्तर खबरदारी भएन भने नेतृत्वले कसरी काम गर्न सक्छ ? भन्ने सन्दर्भमा र यहाँको विकास सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने सन्दर्भमा, समाजमा रहेका विभेदहरू, दलितहरूमाथि भएको विभेदहरू, महिलामाथि हुने विभेद र हिंसा अन्त्य गर्ने सन्दर्भमा र बालबालिकाहरू, वृद्धवृद्धाहरुको हक अधिकार संरक्षण गर्ने लगायत समाजका तमाम कुराहरूमा लागीपर्नेछु । सचेत र सङ्गठित समाज निर्माणका लागि  हामीले सामाजिक रूपान्तरण अभियान सुरु गरेका छौँ ।

 हामीले यो अभियान विगतदेखि नै थालेका छौँ र  अब गठबन्धन दल मिलेर पनि यो अभियानलाई अघि बढाउनेछौँ । उत्पादन, रोजगारी र समृद्धिको अभियान र सामाजिक संरचना रूपान्तरणको अभियानलाई अब हामी गठबन्धन दलकै तर्फबाट सँगसँगै अघि बढाउँछौँ । यो क्षेत्रलाई गरिबीमुक्त, बेरोजगारी मुक्त र सुसूचित समाज निर्माण गरेर समाजवादको एउटा प्रारूप तयार पार्ने लक्ष्य र उद्देश्य राखेका छौँ ।  

यस्तै राष्ट्रिय कार्यभारका सन्दर्भमा चार–पाँचवटा एजेण्डा तयार पारेको छु । पहिलो कुरा संविधानमा भनेको समाजवादको कुरा अमूर्त रूपमा छ त्यसको परिभाषा छैन । त्यसको नेपाली विशेषता लोकतान्त्रिक समाजवाद  वा लोकतन्त्रमा आधारित समाजवाद कस्तो हुन्छ त ? भनेर एउटा खाका तयार गर्ने, गठबन्धन दलभित्र न्यूनतम सहमति र राष्ट्रिय सहमति जुटाएर देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता ठानेको छु । 

दोस्रो कुरा देशको परराष्ट्र नीति, कूटनीति, सुरक्षा नीति अत्यन्तै महत्त्वपूर्ण भएकोले देशको राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता नेपालको विकास र समृद्धिका लागि पनि सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने भएकोले त्यसका लागि दीर्घकालीन खालको रणनीति चाहिन्छ । त्यसका लागि मैले पहल गर्नेछु । 

तेस्रो कुरा नेपालको विकाससँग सम्बन्धित अवधारणाहरू छन्, संविधानमा आधारित नेपालको विकास गर्नुपर्नेछ । पछिल्लो समय जनसहभागिताविनाको विकास हुँदा समयमा नहुने, गुणस्तरीय नहुने समस्या देखिएका छन् । जनसमुदायमा आधारित विकासलाई अगाडि बढाउने र विकासको एउटा नयाँ मोडालिटीमा सहमति गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ । नेपालको उत्पादनमुखी अर्थतन्त्र विकासका लागि पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर सगरमाथा, मुक्तिनाथ र लुम्बिनीसम्म जनताको सहज आवागमनका लागि काम गर्नेछु । 

यसैगरी व्यापक रूपमा जलविद्युत उत्पादन गरेर इन्धन आयतलाई प्रतिस्थापन गर्दै देशको व्यापार घाटालाई कम गर्ने विषयमा पहल गर्नेछु । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने र अहिलेको गठबन्धनलाई ५ वर्षसम्म लैजान पहल गर्ने एजेण्डा मैले जनतामा लगेको छु । 

रुकुम त माओवादीको पहिलेदेखिको माओवादीको आधार क्षेत्र भइहाल्यो, विगतमा कांग्रेस–माओवादीको तिक्ततापूर्ण सम्बन्ध थियो होला । अहिले कांग्रेससँग कस्तो सम्बन्ध छ । कांग्रेसको सबै भोट ट्रान्सफर हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ? 

कांग्रेस र हाम्रो अहिले सुमधुर सम्बन्ध छ । कांग्रेससँग बसेर हामीले एउटा सहमति गरेका छौँ । कांग्रेस माओवादी मिलेर संयुक्त रूपमा चुनाव परिचालन संयन्त्र बनेको छ । निर्वाचन परिचालन संयन्त्रको नेतृत्व कांग्रेसका नेता पूर्व राज्यमन्त्री गोपालजीजंग शाहले गर्नुभएको छ । सबै कांग्रेसका नेताहरूसँग हाम्रो सहकार्य भइरहेको छ । हामी सबै सँगै गाउँदै नाच्दै जनताको घरदैलोमा पुगिरहेका छौँ । जनस्तरमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ । गठबन्धन व्यवहारिक र सैद्धान्तिक रूपले राम्रो देखिएको छ । मत परिणामबाट यो कसरी पुष्टि हुन्छ त्यो भोलि हेर्न बाँकी छ । 

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?  

जिल्लामा पूरा गर्नुपर्ने पूर्वाधारहरू, शैक्षिक क्षेत्रमा आइटी कलेज र कृषि कलेज खोलेर विदेश पढ्न जाने कुराको अन्त्य गर्दै स्वदेशमै पढ्ने वातावरण मिलाउनेछु । शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै युवाहरूलाई रोजगारीको व्यवस्था गर्न पहल गर्नेछु । बजेटमा मैले ल्याएको कुराहरूलाई पालना गरेर उत्पादनमुखी अर्थतन्त्रको लागि जिल्लाका लागि एउटा मोडल बनाउनेछु । देशकै लागि उत्पादन बढाउने र रोजगारीको प्रबन्ध गर्ने मेरो उद्देश्य रहेको छ । 

राजनीतिक अस्थिरता अन्त्य गर्नका लागि गठबन्धन दिगो हुनुपर्छ, बलियो र दीर्घकालीन हुनुपर्छ भन्ने मान्यता राखेर अघि बढिरहेको छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप