मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचनमा कर्णालीमा १० लाख बढी नागरिक सहभागी हुँदै, यस्तो छ निर्वाचनको तयारी

म्यादी प्रहरीसहित २३ हजार बढी सुरक्षाकर्मी परिचालन, तिब्बतसँग जोडिएका सीमानाका बन्द
शनिबार, ०३ मङ्सिर २०७९, १० : ३७
शनिबार, ०३ मङ्सिर २०७९

आइतबार हुने आम निर्वाचनमा कर्णालीका १० लाख बढी मतदाता सहभागी हुँदै छन् ।  निर्वाचन आयोगका अनुसार प्रदेश भरका १० लाख ८ हजार ४०३ जना मतदाता निर्वाचनमा सहभागी हुने भएका हुन् । 
यस्तै प्रदेशभर १ हजार ४ सय ७६ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता प्रदेश राजधानी समेत रहेको सुर्खेतमा छन् । सुर्खेतमा मतदाता संख्या २ लाख ४३ हजार ६ सय १४ जना रहेका छन् भने मतदान केन्द्र २९३ छन् । 
यस्तै हिमाली जिल्ला हुम्लामा ३२ हजार ८ सय ५७ मतदाता संख्या रहेका छन् भने ५९ वटा मतदान केन्द्र छन् । 

डोल्पामा सबैभन्दा कम २२ हजार ७ सय ७२ मतदाता संख्या, ६६ मतदान केन्द्र,  दैलेखमा १ लाख ५८ हजार ९५८ मतदाता संख्या र २८० मतदान केन्द्र, रुकुम पश्चिममा १ लाख ४ हजार २८० मतदाता संख्या र १३९ मतदान केन्द्र रहेका छन् । 

यस्तै कालीकोटमा ८० हजार ७३३ मतदाता संख्या र मतदान १२३ मतदान केन्द्र, जाजरकोटमा १ लाख ३ हजार ३६३ मतदाता संख्या र १४२ मतदान केन्द्र, जुम्लामा ६८ हजार ६३८ मतदाता संख्या र १०६ मतदान केन्द्र, मुगुमा ३५ हजार ४८५ मतदाता संख्या र ६६ मतदान केन्द्र र सल्यानमा १ लाख ५७ हजार ७०१ मतदाता संख्या र २०२ मतदान केन्द्र रहेका छन् । सबै जिल्लामा रहेका मतदान केन्द्रमा कर्मचारीहरु खटिसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कर्णालीमा सुरक्षाका दृष्टिकोणले ३ सय ४५ मतदान केन्द्र अति संवेदनशील मानिएका छन् भने ४ सय १३ मतदान केन्द्र संवेदनशील रहेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी गराएको छ ।  

मन्त्रालयका अनुसार कुनै घटना घटेमा १५–३० मिनेट भित्र मतदान केन्द्रमा पुग्ने गरि नेपाली सेनालाई तयारी अवस्थामा राखिएको छ । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार आम निर्वाचनमा प्रदेशभर ३४८ जना कैदी बन्दीले मतदान गर्ने भएका छन् । 

उनका अनुसार सुर्खेतमा १ सय १, डोल्पामा १४, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८, जुम्लामा १४ र हुम्लामा १७ कैदीबन्दी मतदानमा सहभागी हुने बताइएको छ । 

यस्तो छ सुरक्षा व्यवस्था
निर्वाचनलाई लक्षित गरेर कर्णालीमा सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउने प्रयत्न गरिएको छ । प्रदेशभरका मतदान स्थलमा १४ हजार ८०७ जना सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशमा ९ हजार ७८ जना म्यादी प्रहरी पनि परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार सबै सुरक्षाकर्मीहरु सम्बन्धीत क्षेत्रमा पुगिसकेको अबस्था छ । त्यो भनेको मोबाइल रिजर्भ व्यवस्थासहित हो ।

‘हामीले निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि प्रहरीबाट मतदानस्थल रहेको स्थानसम्म पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृत (इनिस्पेक्टर) को कमाण्डमा गाडी, मोबाइल गस्ती र रिजर्भ टोली समेतको व्यबस्था गरेर सुरक्षा व्यवस्थालाई थप व्यवस्थित पारिएको छ,’श्रेष्ठले भने,‘ सबैभन्दा बढी सुर्खेतमा मात्रै ३ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ 
साथै दुई वटा टोली हवाई अनुगमनका लागि स्टेन राखिएको उनले बताए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार प्रहरी नायब उपरीक्षकको कमाण्डमा राजधानी समेत भएको र ‘हेभिवट’ नेताहरु उम्मेदवार भएकाले जिल्लाभर निगरानी गर्ने गरि प्रहरीका १९ वटा मोबाइल टोली, दुइवटा रिजर्भ टोली परिचालन गरिएको छ । 

दुइटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १÷१ टोटी परिचालन गरिएको छ ।

सीमानाका बन्द
निर्वाचनलाई व्यवस्थित पार्नका लागि चिनको तिब्बतसँग जोडिएका कार्णालीका सीमा नाका बन्द गरिएको छ । बिहीबार राती १२ बजेदेखि नै सिमानाका बन्द गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् । विशेषगरि हुम्ला, डोल्पा जिल्लामा तिब्बतसँग सिमानाका जोडिएका छन् । 

हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले चिनसँग जोडिएका सीमा नाकाहरु पुर्ण रुपमा बन्द गरिएको जानकारी दिइन् । ‘हुम्लाको नाम्खा गाउँपालिकामा पर्ने हिल्सा नाकालाई ठुलो नाका भनेर चिनिन्छ,’उनले भनिन,‘बिहीबारदेखि नै उक्त नाका बन्द गरिएको छ ।’ 

हिल्सा बाहेक हुम्ला जिल्लाका अन्य लिमी लाप्चा, दोजाङ, नेप्का लगायतका साना खुला सीमाहरुमा पनि सुरक्षा व्यवस्थालाई कडाइ गरिएको उनले बताइन् ।    डोल्पाकासँग जोडिएका तिब्बतका सिमानाका भने कोभिडको समयदेखिनै पूर्ण रुपमा बन्द भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप