पढ्ने उमेरमा केटाकेटी हुर्काउँदै जुम्लाकी किशोरी

-गोल्डेन बुढा
जुम्लाको हिमा गाउँपालिका–२, ओदी गाउँकी बसन्ती रोकाया २३ वर्षकी भइन् । उनको काखमा अहिले दुई छोरा र एक वर्षको छोरी छन् । कक्षा ८ मा पढ्दै गर्दा उनको विवाह भएको हो । १५ वर्षमा बिहे गरेकी उनी एक वर्षपछि आमा बनिन् । परम्परा र सामाजिक संस्कारका कारण बसन्तीजस्तै जुम्लाका धेरै किशोरी आमा बनेका छन् ।
बालविवाह जुम्लाका ग्रामीण क्षेत्रमा डरलाग्दो छ । विवाह गरेको एक वर्षमै आमा बनेपछि वसन्तीको पढाइ बीचमै छुटेको छ । कलिलो उमेरमै आमा बनेका अधिकांशले पढाइ बीचैमा छोडेका छन् । सानै उमेरमा आमा बन्दा उनीहरूमा घरधन्दाको बोझ थपिएको छ ।
सिन्जा गाउँपालिका–६ की नन्दा बुढा १४ वर्षको उमेरमै एक सन्तानकी आमा बनिन् । १३ वर्षको कलिलो उमेरमै बिहे गरेकी उनी अहिले विभिन्न स्वास्थ्य समस्या देखिन थालेको बताउँछिन् । ‘सानै उमेरमा विवाह गर्दा सन्तानको पालनपोषणमा समस्या छ,’ उनले भनिन्, ‘बालबालिकाको पठनपाठन पनि राम्रो बन्न सकेको छैन ।’
पछिल्लो समय जुम्लामा २० वर्ष नपुग्दै आमा बन्नेको संख्या अधिक छ । जनचेतनाको कमी, देखासिकी, गरिबीलगायत कारणले कलिलो उमेरमै विवाह गर्ने चलन धेरै रहेको सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन् ।
कम उमेरमै विवाह गर्दा विभिन्न सामाजिक समस्या देखिन थालेको उनले बताइन् । महिला वा पुरुष दुवै २० वर्ष नपुगी गरिने विवाह कानुनी रूपले बालविवाह ठहरिने अधिवक्ता नन्द खत्रीले बताए । प्रत्येक स्थानीय तहका गाउँदेखि टोल टोलमा बालविवाह हुने गरेको उनले जनाए । अहिले १५ वटा बालविवाह गरेर सम्बन्धविच्छेद लागि उजुरी परेको उनको भनाइ छ ।
एसईईपछि विवाह गर्ने किशोरीको संख्या अधिक छ । विकट गाउँमा २० वर्ष नपुगेरै बिहे गर्ने र बच्चा जन्माउने प्रचलन नौलो भने होइन । चन्दननाग नमुना माध्यमिक विद्यालय जुम्लाकी शिक्षिका समरीता बुढाले बाल विवाह रोक्न अभियान चलाए पनि सफल हुन नसकेको बताइन् ।
जुम्लामा प्रत्येक गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाले पनि बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् । गैरसरकारी संस्थाले पनि बालविवाह न्युनीकरण सम्बन्धी काम गरिरहेका छन् ।
उमेर नपुग्दै बिहे गरेर बच्चा जन्माएको देख्दा दुःख लाग्ने गरेको सिंजा–६ जोडु गाउँकी महिला स्वास्थ्य स्वयंसेविका धनसरी बुढाले बताइन् । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका नाताले आफूले समाजमा बाल विवाह रोक्न र कम उमेरमा आमा नबन्न सबैलाई सल्लाह दिँदै आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग
-
विष्णु पौडेलको दावी : गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो
-
दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
-
कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र तत्काल नबाहिरिने
-
गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
-
गण्डकीमा अधिकारी नेतृत्वको सरकार अल्पमतमा