शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय

राति १० बजेपछि होटल रेष्टुरेन्ट बन्द गराएको भन्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र

मङ्गलबार, ३० वैशाख २०८२, १६ : ५१
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । राजधानीका होटल व्यवसायीले प्रहरीले राती होटल १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थल जबरजस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग गुनासो गरेका छन् । 

जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँ र उद्योग वाणिज्य सङ्घ काठमाडौँले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई संयुक्त ज्ञापनपत्र यस्तो गुनासो गरेका हुन् । 

अहिले ठमेल, सुन्धारा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, बसपार्क र कलंकीजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल प्रायः रातको समयमा हुने गर्छ । ठमेल बाहेकका अधिकांश क्षेत्रमा अहिले पनि प्रहरीले १० बजेपछि होटल रेस्टुरेन्ट र पसलहरू बन्द गराउँदै आएको छ । 

होटल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष सुरेश बराल प्रहरीको यो व्यवहारले पर्यटन प्रवद्र्धन गर्ने नभइ व्यवसायी नै धराशायी हुने भन्दै प्रमुख जिम्मला अधिकारीसँग निर्वाध चल्ने वातावरण बनाउन माग गरिएको बताउँछन् । 

अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू बेलुका ढिलो वा राती हुने हुँदा पाहुना यही समयमा राजधानी आइपुग्छन्,’ बराल भन्छन्, ‘होटल प्रवेश गर्नासाथ सिटी बजाउँदै प्रहरी होटल, रेष्टुरेन्ट बन्द गराइरहेको दृश्यले विदेशी पाहुना चकित र निराश हुने गरेका छन् ।’

बराल २०/२५ वर्ष अघिजस्तो काठमाडौँ सुनसान नरहेको भन्दै अब रात परेपछि हाेटल बन्द गर्नुको औचित्य नभएको बताउँछन् । ‘अहिले यहाँ उज्यालो सडक छन्, नियमित विद्युत् आपूर्ति छ, सीसीटीभी निगरानी छ, र व्यस्त सहरको गति छ । यस्तो अवस्थामा सुरक्षा देखाएर होटल व्यवसाय बन्द गराउनु आफैँमा लाजमर्दो सोच हो’ उनले भने । 

ज्ञापनपत्र बुझाउँदै व्यवसायीले होटल रातभर खोल्न दिनुपर्ने र त्यसो गर्न नसके समय १२ बजेसम्म भने पनि पुर्‍याउनुपर्ने माग गरेका थिए । होटल क्षेत्रले लाखौँको लगानी बोकेको छ, हजारौँलाई रोजगारी दिएको छ, र विदेशी मुद्रा आम्दानीको स्थायी स्रोत बनेको छ भन्दै यसलाई धराशायी बन्न नदिन उनीहरूको आग्रह थियो । 

ज्ञापनपत्रको जवाफमा सीडीओ तिवारीले व्यवसायीको मागको सम्बन्धमा सुरक्षा निकायसँग आवश्यक छलफल गर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप