आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

नारायणगोपालको मृत्युमा आशा भोसलेले भनेकी थिइन्, ‘उनको अपना ही जन्मभूमि प्यारी थी’

बुधबार, २१ मंसिर २०७९, ०९ : ०५
बुधबार, २१ मंसिर २०७९

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य र भारतीय गायिका आशा भोसलेको युगल गायनमा एउटा लोकप्रिय गीत छ, ‘पहाडको माथिमाथि’ बोलको । कुसुम गजमेर र तुलसी घिमिरेले लेखेको यस गीतको व्यञ्जना बेजोड लाग्छ । प्रेमीले प्रेमिकालाई पहाडको माथिमाथि उडिहिँड्ने बादलको उपमा दिएका छन् । प्रेमीको भनाइमा प्रेमिकाले नाइँनास्ती व्यक्त गर्छिन् र अभिधा र व्यञ्जना दुवै अर्थमा गाउँछिन्, ‘बादल हो त्यो बादल हो’ । 

जब आशाले रनजित गजमेरबाट नारायणगोपालको मृत्युको खबर सुनिन्, उनी अत्यन्तै दुःखी भइन् । उनले नारायणगोपाल सँगै गाएको गीतको एउटा पंक्ति सम्झिइन्, ‘बादल हो त्यो बादल हो’ । 

आशाले नारायणगोपालको बारेमा पहिले नै सुनेकी थिइन्, नारायण नेपालका प्रमुख राम्रा गायक हुन् । तर मिल्ने मौका मिलिरहेको थिएन । 

‘बागीना नारायणगोपाल स्मृति अंक’ (वैशाख–असार २०४९)मा आशाले नारायणगोपाललाई सम्झेको प्रसंग छापिएको छ, ‘एक दिन नेपाली फिल्म ‘लाहुरे’ के रेकर्डिङ पर मुझे कान्छा (रनजीत गजमेर) ने दो गाने के लिए बुलाया था, मै स्टुडियो पहुँची तो गाने के बुथ मे कोई गा रहा था । वह आवाज सुनते ही लगा एक अलग आवाज बिल्कुल ताजी, अन्दर गई कान्छा ने मुझे उन से मिलाया ‘यही है नेपाल के नेपाली गायक– नारायणगोपाल ।’ मैने उन्हे बम्बैमा रहने का, संघर्ष करनेका सल्लाह दिया परन्तु उन को अपना ही जन्मभूमि प्यारी थी । आज ‘कान्छा’के जुवान से सुन रही हूँ कि वे चल बसे इस दुनियाँ से । बहुत बुरा लगा उनके गीत कानों मे गुंजने लगी ‘बादल हो त्यो बादल’ ।

वह एक सच्चे कलाकार थे । मैने अत्येष्टि की फोटो देखी, औ उन को चाहने वाले का सम्पूर्ण वृत्तान्त सुना– धन्य है वह देश और देशवासी जो अपने कलाकार को इतना स्नेह और प्यार देतें है ।’ 

मैले गाउँघरतिर देख्थेँ–सुन्थेँ : हुर्केकी छोरीले उडेको बादल र बहेको नदी हेरी भने आमाहरू कराउँथे, किन बहकिएकी छस्, पोइला जालिस् नि ?’ 

मन बहकाउने चिज हो, बादल । उसै बहकिएको मान्छेले बादल, ब्रह्माण्ड, जून, हिमाल, पहाड आदिमा आफूले चाहेको आकृति, खासगरी मानव अनुहार खोज्छ । यस्तो खालको मानवीय प्रवृत्ति बुझाउने शब्दलाई अंग्रेजीमा ‘प्यारेडोलिया’ भनिन्छ । खासगरी यसबारे चीनमा अनेक मिथ पाइन्छन् ।  

थाहा छैन, आशाले कुन अर्थ र आभासमा ती शब्द सम्झिन पुगिन्, जब कि नारायणसँग उनले ‘चिनो’ फिल्मका लागि अर्को पनि लोकप्रिय गीत गाएकी छन्, ‘माया त माया हो’ बोलको । आशाले जुन अर्थमा भने पनि, नारायणगोपाल हाम्रा लागि बादल भएका छन्— कहिले उनी आवाजको रूपमा बर्सन्छन्, कहिले दुःखको ‘घाम’ छेकेर छाया दिन्छन् । 

 

नारायणले खोजेको फराकिलो नेपाली संगीत 

२०२४ सालतिर गीतकार नगेन्द्र थापालाई नारायणगोपालका पिता प्रसिद्ध सितारवादक आशागोपालले भन्थे– थापाकाजी ! नारानलाई सम्झाइदिनुपर्‍यो– ‘स्वर्गकी परी’, ‘ए कान्छा ठट्टैमा’ जस्ता सस्ता गीत गाएर ‘गाइने’ हुनुभएन, उसले शास्त्रीय संगीत गाउनुपर्‍यो, सितार बजाउन सिक्नुपर्‍यो ।

नगेन्द्रका अनुसार, त्यतिबेला नारायण सितार र तबला राम्रोसित बजाउने भइसकेका थिए । काठमाडौंको किलागलस्थित घरको नारायण सुत्ने कोठामा सिरानीतर्फ हार्मोनियम, तबला र एउटा तानपुरा हुने गथ्र्यो । 

समय यस्तो थियो– केन्द्र सहरलाई गाउँका गीत चाहिएको थियो, गाउँलेहरू गाउँका गीतहरू नै प्रविधिसहित परिष्कृत भएर आएको सुन्न चाहन्थे ।  

शास्त्रीय संगीतमा स्नातकोत्तर गर्न नारायण भारतको बडोदा गएका पनि थिए, तर अध्ययन पूरा नगरी फर्के । नगेन्द्रले सोधे, ‘अध्ययन पूरा नगरी किन फर्केको ?’ नारायणको जवाफ थियो, ‘अरु बढी शास्त्रीय संगीत पढियो भने त्यसैको रसमा डुब्दै गइन्छ र सुगम संगीतमा मन नलाग्ने डर भएकोले फर्केको ।’

नगेन्द्रले मधुपर्क (वैशाख ०४८) अंकमा लेखेका छन्, ‘म भन्थेँ– नेपाली संगीतको आफ्नो पहिचान र मौलिकता हुनुपर्छ, यसका लागि हामीले हाम्रै लोकगीत र शास्त्रीय संगीतलाई आधार बनाउनुपर्छ । तर नारान भन्थ्यो– संगीतको कुनै देश हुँदैन । सीमा हुँदैन, कुनै खास भाषा हुँदैन । संगीतको भाषा भनेको अन्तर्राष्ट्रिय भाषा हो, यसैले संगीतलाई संकुचित पार्नु हुँदैन । नारानले भन्ने गरेको ‘अन्तर्राष्ट्रियता’ सायद संंगीतप्रतिको उसको व्यापक दृष्टिको द्योतक हो ।’

राणाकालमा नेपाली संगीत कि गाउँघर र कुनाकन्दरामा थियो, कि दरबारका पर्खालभित्र । राणाहरूले गाउँघरका राम्रा कलाकारलाई दरबारभित्र संगीत सिक्ने र गाउने अवसर पनि दिन्थे । यसको एक उदाहरण हुन्, मेलवादेवी गुरुङ (वि.सं. १९५४–२०१२) । अद्भुत स्वरकी धनी मेलवादेवीलाई सानै उमेरमा परिवारले ओखलढुंगादेखि काठमाडौं ल्याएको थियो । दरबार छिरेपछि उनी अनेक षड्यन्त्रमा परिन् ।  

२००१ सालतिर सत्यमोहन जोशी जागिरका सिलसिलामा मध्यपश्चिमका गाउँमा पुगी नेपाली लोकगीत टिपेर ल्याए । जसमध्ये केही लोकगीतलाई शारदा साहित्यिक मासिकले २००३ माघको अंकमा छापेको थियो । सत्यमोहनले ल्याएका गीतहरू काठमाडौंका लागि नौला थिए । 

प्रजातन्त्रको उदयसँगै २००७ सालमा रेडियो नेपालको स्थापना भयो । त्यतिबेला रेडियोबाट बजाउनका लागि पर्याप्त नेपाली गीत थिएनन्, हिन्दी गीतहरू बजाउनुपथ्र्यो । त्यसपछि नेपाली गीतको खोजी हुन थाल्यो । यही परिवेशमा सुगम गायन (सहज रूपमा गाउन सकिने)मा पाइला राखेका नारायणले करिब तीन दशकमा दुई सयजति गीत गाए । गायकी करिअरका लागि उनी भारत जान चाहेनन्, संंगीत साधकका रूपमा शास्त्रीय संगीतमै डुब्न पनि चाहेनन् । उनले जति र जस्ता गीत गाए, अधिकांश नेपालीबाट उनले अगाध स्नेह पाए । 

जसलाई नारायणका पिताले सस्ता गीत भन्थे, तिनै गीत खासखास क्षेत्रका नेपालीको मन–मुटुमा बस्दै गयो । २०१९–२० सालतिर केही कलाकारसहित नारायणगोपाल नारायणगढ, बुटवल, कोइलाबास, देउखुरी हुँदै दाङसम्म पुग्नुपरेको थियो । त्यतिबेला राजा महेन्द्रले राष्ट्रियता जगाउने सांगीतिक अभियान थालेका थिए । यो अभियानमा नारायणले आफ्ना केही गीत गाए । ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ र ‘कुञ्जमा गुन्जियो स्वर कोइलीको’ बोलको गीत कुनैकुनै बेला फर्मायसकर्ताको अनुरोधमा उनले चार–पाँच पटकसम्म गाउनुपरेको थियो ।

यस सम्बन्धमा त्यस कार्यक्रमका अगुवा प्रदीप रिमाल बागीनामा लेख्छन्, ‘हाम्रो कार्यक्रम हेर्न दर्शक रातारात १०–१२ किलोमिटर हिँडेर आइपुग्थे । दाङको घोराही र तुलसीपुरमा त नारायणगोपालको नामले र उहाँको मन्त्रमुग्ध स्वरले दर्शक यति प्रभावित भए, भीडले कार्यक्रम सञ्चालन गर्नै धौ धौ पथ्र्यो ।’

२०१८ सालतिर केही संंगीतकार, गायक, वाद्यवादक र गीतकार मिलेर ‘कलाकुञ्ज’ नामको एउटा सांस्कृतिक संस्था खोलिएको थियो । खिचापोखरीमा कार्यालय रहेको यस संस्थामा प्रदीप रिमाल, श्रीधर खनाल, बच्चुकैलाश, नारायणगोपाल, पुष्प नेपाली, कृष्णमान डंगोल, सुमन नेपाली लगायत थिए । यही ‘कलाकुञ्ज’ संस्थामार्फत कलाकारहरू त्यस सांस्कृतिक अभियानमा गएका थिए । 

नारायणको गायन यात्रा डबलीबाट सुरु भएको थियो । २००८ सालतिर प्रेमध्वज प्रधान, नारायणगोपाल लगायत आठ–नौजना स्थानीय किशोर मिलेर एउटा समूह खोलेका थिए, जुन समूहले हिन्दी र नेपाली गीत गाउने अभ्यास गथ्र्यो । त्यस समूहमा नारायणले गाउने र तलबा बजाउने गर्थे ।

समय यस्तो थियो– केन्द्र सहरलाई गाउँका गीत चाहिएको थियो, गाउँलेहरू गाउँका गीतहरू नै प्रविधिसहित परिष्कृत भएर आएको सुन्न चाहन्थे ।  

भाषा, कला, साहित्य र राजनीतिमा छिमेकी देशको प्रभाव पर्नु अनौठो होइन । भारतमा अंग्रेजले फिल्म र केही आधुनिक विकासका बिउ रोपेर गए । लोक, भजन, गजल, शास्त्रीय संगीत आदिमै रमाइरहेको भारतले खासगरी फिल्मका लागि जनताले बुझ्ने खालको सुगम संगीत पस्कनुपर्ने भयो । सुगम संगीतमा लोकगीत वा परम्परागत गीतलाई प्रविधिसँग जोडेर गाइन्छ भने खास राग वा परम्परागत लयमा टेकेर नयाँ लय निर्माण गरिन्छ । यसो हुँदा गायकले आफ्ना भावना, विचार, आवाज पनि सुगम संगीतमार्फत व्यक्त गर्न सक्ने भए । यसमा सरकारले रोक लगाउनु वा मार्गनिर्देशन गर्नु अर्को कुरा भयो । 

नगेन्द्रका अनुसार, रेडियो नेपालमा हिन्दी गीतहरू बज्ने बेलाताका केही हिन्दुस्तानी, केही रक र केही पप संगीतका छाप बोकेका गीत लिएर नारायण रेडियोमा उदाएका थिए । 

नारायणले मायाप्रीति र उदासी गीत मात्रै गाए भनेर आरोप लगाउनेहरू पनि होलान्, लोकतन्त्रमा यस्ता प्रश्न गर्न पाइन्छ । तर, नारायणगोपालले गाएका र संगीत भरेका विविध शैलीका गीत हाम्रो गौरव हो, संगीतका विद्यार्थीका लागि नारायणका स्वर–संगीत गुरु हुन्, जसलाई आज नेपाली संगीतमा पाइला राख्ने विद्यार्थीले हार्मोनियम र गितारमा अभ्यास गर्छ, यो प्रक्रिया सदियौँ चल्नेछ । 

डबलीबाट उदाएका गायक 

नारायणको गायन यात्रा डबलीबाट सुरु भएको थियो । २००८ सालतिर प्रेमध्वज प्रधान, नारायणगोपाल लगायत आठ–नौजना स्थानीय किशोर मिलेर एउटा समूह खोलेका थिए, जुन समूहले हिन्दी र नेपाली गीत गाउने अभ्यास गथ्र्यो । त्यस समूहमा नारायणले गाउने र तलबा बजाउने गर्थे । ‘हामीले नवकला परिवार नामक अर्को संस्था पनि खोलेका थियौँ । त्यसमा राममान ‘तृषित’ पनि हुनुहुन्थ्यो । नारायणगोपाल र म सँगसँगै हुर्केका हौँ । पछि दार्जिलिङका मानिसहरूसँग संगत भएपछि ऊ हामीसँग छुट्यो,’ प्रेमध्वजले बागीनामा लेखेका छन्, ‘२०१६ सालको कुरा हो, ऊ आफूले ट्युनिङ गरेको गीत सुनाउन मकहाँ आएको थियो । त्यसैबेला स्वर परीक्षाका लागि माणिकरत्न र मैले नै उसलाई रेडियोमा पुर्‍याएका हौँ ।’

त्यतिबेला नारायण विशेषगरी प्रेमध्वजको सम्पर्कमा रहन्थे । प्रेमध्वजका अनुसार, नारायण सानैदेखि भजनमण्डलीमा जान्थे र तबला बजाइरहन्थे । उनले २०१६ सालदेखि मात्र रेडियोमा गाउन मन गरे । नारायण आफैँमा क्षमता भएका व्यक्ति हुन् । ‘वास्तवमा नारायणले गर्दा गोपाल योञ्जन चर्चित भए । पछि यस्तै कारणले उनीहरूबीच फाटो पर्‍यो,’ प्रेमध्वजले लेखेका छन्, ‘गोपाल योञ्जनलाई छाडेपछि उसले झन् राम्रा गीत गायो । आँखा छोपी नरोऊ र ईश्वर तैँले रचेर यसको उदाहरण हो ।’ 

नेपाली संगीत क्षेत्रमा गोपाल योञ्जनको खास योगदान रह्यो । नारायणगोपाल र गोपाल योञ्जनको मीतजोडीले धेरै राम्रा गीत रेकर्ड गरे ।  जीवनको पूर्वाद्र्धतिर यी दुईबीच बोलचाल बन्द भयो । उनीहरूबीच बोलचाल बन्द हुनु व्यक्तिगत विषय थिएन, नेपाली संगीत क्षेत्रकै लागि दुःखद् घटना थियो । उनीहरूबीच सम्बन्धविच्छेद भएको सम्बन्धमा अनेक अड्कलबाजी चले । यस सम्बन्धमा पिटर जे. कार्थक ‘नेपाली संगीतस्रष्टा’ पुस्तकमा लेख्छन्, ‘सत्य अझै बाहिर आएको छैन । कोही थाङ्ने कुराहरू भन्छन्, कोही दुई मीतबीच भनाभन भएको बताउँछन् । तर त्यो तोड्याम व्यक्तिगत र व्यावसायिक दुवै रूपमा कहिले पनि पुरिएन ।’  

नारायणले आफ्नै संगीतमा मात्र ४० वटा गीत गाएका छन्, उनी जति गायक हुन्, उत्तिकै अब्बल संगीतकार हुन् । रेडियो नेपालबाट उनले पहिलोपटक (२०२३ सालमा) सर्वोत्तम संगीतकारकै पुरस्कार पाएका थिए । त्यसको अर्को वर्ष (२०२४ मा) मात्रै रेडियो नेपालबाट उनले सर्वोत्तम गायकको  पुरस्कार पाए । 

***

नारायणगोपालका बारेमा धेरै लेखिएको छ, लेख्ने प्रक्रिया पनि चलिरहेको छ । नारायणका बारेमा उनी जिउँदै छँदा राम्रा–नराम्रा चर्चा चल्थे । उनलाई घमण्डी र सनकी मान्ने जमात पनि थियो । जेहोस्, नारायणगोपाल जनताको मनमा किंवदन्तीका रूपमा पनि छन् । उनीबारे कतैबाट पुष्टि नहुने निराधार एउटा अफवाह सुन्न पाइन्छ– उनको रानीसँग पनि सम्बन्ध थियो रे । जानकारहरू भन्छन्, यो पूर्णरूपमा निराधार हल्ला हो ।

आज उनले यस दुनियाँ छाडेको ३२ वर्ष भयो । उनको स्वर र संगीतको चर्चा घटेको छैन, झनै बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर एडिटर हुन् ।

लेखकबाट थप