शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीले निम्त्याएको अर्को वीभत्स घटना

अम्मरबहादुरको बयान, ‘तसँग बस्दिनँ, डिभोर्स दिन्छु भनेर मानसिक टर्चर दिन्थी’
बुधबार, २१ मङ्सिर २०७९, १५ : ०२
बुधबार, २१ मङ्सिर २०७९

मंगलबार साँझ सामाजिक सञ्चालनमा एउटा तस्बिर भाइरल भयो । उक्त तस्बिरमा एक जना पुरुषले प्लास्टिकको थैलोमा केही वस्तु लिएर कतै हिँडिरहेको देखिन्छ । ती व्यक्ति हुन्, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्मा भन्ने गाउँका ३८ वर्षीय अम्मरबहादुर आले । उनले प्लास्टिकमा आफ्नै श्रीमती ३० वर्षीया मिना आलेमगरको घाँटी काटेर हालेका रहेछन् । 

प्रहरीका अनुसार अम्मरले हँसियाले घरको दोस्रो तल्लाको कोठामा पत्नीको हत्या गरेर टाउको प्लास्टिकमा राखेर जाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवम् सूचना अधिकारी सुरज कार्कीका अनुसार प्लास्टिकमा टाउको बोकेर हिँड्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।  

कार्की भन्छन्, ‘अभियुक्तले प्रहरी चौकी जाँदै थिएँ भन्छन्, तर प्रहरीले बाटोबाट नै पक्राउ गरेको हो । राति २ बजेतिर नै उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको छ ।’ मिनाको शव भने पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालगाउँमा राखिएको छ । 

यस्तो छ घटनाको अन्तरकथा

अम्मरबहादुर लामो समयदेखि वैदेशिक रोजगारीमा थिए । दुबई र मलेसिया झण्डै १० वर्ष बिताएका उनी पछिल्लो समय भारत गएर गत वैशाखमा मात्रै घर फर्किएका थिए । विदेशमा राम्रै कमाई रहेका उनले सबै रकम श्रीमतीलाई घरमा पठाउने गर्थे । 

तर, पछिल्लो समय त्यही पैसाको विषयमा अम्मर र मिनाबीच विवाद भइरहेको बताइएको छ । आफूले पठाएको पैसाको हिसाब अम्मरले खोज्दा मिनाले घरखर्चमा लागेको भन्दै टार्थिन् । ‘त्यतिका वर्ष विदेशमा बसेर कमाएको रकम घरखर्चमा मात्रै कसरी सकियो ?,’ अम्मरबहादुरको प्रश्न हुन्थ्यो । ‘झगडाको सुरुवात यहीँबाट भएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले रातोपाटीसँग भने, ‘श्रीमतीप्रति उनको विश्वास नरहेको देखिएको छ ।’ 

ती अधिकृतका अनुसार बयानका क्रममा अम्मरबहादुरले श्रीमतीले आफूलाई ‘तँसँग बस्दिनँ, डिभोर्स दिन्छु’ भन्दै मानसिक टर्चर दिने गरेको सुनाएका छन् । विदेशमा बसेर कमाएको पैसाको हिसाब–किताबबारे घरझगडा हुने गरे पनि अम्मरले विदेशबाट कति पैसा पठाएको हुन् भन्ने यकिन भएको छैन ।

अम्मर विदेशबाट आउँदा मिना माइतीघरमा थिइन् । माइतीबाट घर आएको पनि दुई तीन दिन मात्र भएको उक्त वडाका वडाध्यक्ष बलबहादुर रोकायले रातोपाटीलाई जानकारी दिए ।

घटना घट्नुभन्दा आधा घण्टा अघिसम्म मंगलबार दिउँसो ३ बजेतिर अम्मरबहादुरकी आमा, अम्मर, मिनालगायत आगनमा घाम तापेर नै बसिरहेका थिए । 

‘म नुहाउन भनी कपडा समातेर धारातिर गएँ । आँगनमा साइली (अम्मरको साइली आमा), भाउजू पर्नेहरू पनि थिए,’ अम्मरकी आमाको भनाई उद्धृत गर्दै वडाध्यक्ष रोकायले रातोपाटीसँग भने । पछि झोला बोकेर घर बाहिर निस्किँदै गरेको देखेपछि भाउजू नाता पर्नेले ‘के बौलाहा जस्तो हिँड्छौँ ?’ भनेर अम्मरलाई सोधिन् ? उसले यो हेर्नुस् भनेर प्लास्टिकको थैलोमा टाउको देखाउँदा आमा बहोस् हुनुभएछ । त्यसपछि अम्मर सिधै चौकीमा गएछ ।’ घटना घटेकोबारे अन्य कुनै पनि छिमेकीले सुइँको समेत पाएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप