बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुस्तान्तरणः महत्त्वाकाङ्‍क्षा कि समाधान ?

शुक्रबार, ०१ पुस २०७९, १२ : ०९
शुक्रबार, ०१ पुस २०७९

 पछिल्लो समय पुस्तान्तरणको चर्चाले राम्रै स्थान पाइरहेको छ । युवा र वूढाको वहस निकै पेचिलो बन्दै गइरहेको छ । यति मात्र होइन, औसत परम्परागत पार्टीहरू भन्दा नयाँ पार्टी, त्यसमा पनि स्वतन्त्र अझ युवाहरूलाई बनीबनाउ विकल्पको रुपमा हेर्न थालिएको छ ।

हाम्रो अर्थराजनीतिमा धेरै समस्या विद्यमान छन् । विकृति र विसंगतिहरू बढिरहेको छ । जनविश्वासहरू घट्दै गइरहेको छ । यद्यपि नेपाली समाजमा विद्यमान समस्याको मुलभूत कारणहरू के के हुन् र त्यसको वास्तविक निकास कसरी हुन्छ भनेर गहिरो चिन्तन् मनन् भने भएको देखिदैन ।

नेपाली राजनीतिमा धेरै समस्याहरू विद्यमान रहेको कुरा सत्य हो । त्यसको समाधान खोज्नैपर्ने टड्कारो वस्तुगत आवश्यक्ता छँदैछ । तर समाधानको  मुख्य जरा वा कडी के हो भनेर पहिचान गर्नेतर्पm सचेत ध्यान गएको छैन । हाल प्रयोगमा आइरहेको वैकल्पिक अभिमतहरू त्यति वस्तुसंगत, मूर्त र समाधान केन्द्रीत देखिदैन ।

वस्तुतः पुस्तान्तरण हुनुपर्दछ । युवाहरूलाई उचित भूमिका दिनैपर्दछ ।  यसमा धेरै तिक्त तर्क वहस गरिरहनु कुनै जरुरी छैन । तर के युवाहरू निरपेक्ष समाधान हुन् त ? यस्ता यक्ष प्रश्नको जवाफ निकै जटिल देखिन्छ ।

पुस्ता वा युवाको कुरा गर्दा पौराणिक कालका शक्तिशाली राजामहाराजाहरूलाई पनि राजकुमारहरूले राजगद्धीबाट हटाएको धेरै दृष्टान्तहरू छन् । ती राजकुमार वा राजपरिवारका सदस्यहरूले पनि शासन सत्ता राम्रोसँग सञ्चालन गर्न नसकेको, शान्ति सुरक्षाको प्रत्याभूति नभएको, प्रजाको भलो गर्न नसकेको, समय सापेक्ष सक्षम शासक वन्न नसकेको अनि शक्तिशाली राजाको रुपमा नेतृत्व गर्न नसकेको भन्दै उनीहरूलाई सत्ताच्यूत गरिन्थ्यो । त्यसपछि त्यहाँ अन्य नयाँ र युवा राजकुमारहरू सत्तासीन हुन्थे । यद्यपि समस्या भने ज्युँ का त्युँ हुने गर्दथ्यो ।

 बाजे, बाबा, काका र दाजुले गर्न नसकेको काम म गर्छु भनेर राजगद्दी ताक्ने युवा राजकुमार पनि अन्ततः उही ड्याङ्गको मुला हुन पुगे किन ? यसको वस्तुवादी कारणहरू असाध्यै स्पष्ट छ । खास गरी त्यहाँ राजतन्त्रात्मक शासन प्रणाली वा पद्यति उही छ । राजदरवार र भाइ भारदार उही छ । सिंहसान र ढोंग–ढर्रा एउटै छ । मनोवैज्ञानिक भाष्य उही छ । परम्परा, सँस्कार र सँस्कृति उही छ । सोंच, चिन्तन् र मनोविज्ञान उही छ । राजकीय खानदान, उठवस, शान, मान र मर्यादा उस्तै छ । पावर, पद, प्रतिष्ठा र प्रभाव उस्तै छ । सर्वोच्चता र निचताको लक्ष्मणरेखा उस्तै छ । प्रधानतः सिंगो राजसिंहासनको चरित्र उही छ ।

तब त्यहाँ व्यक्ति परिवर्तन वा युवा परिवर्तन  गरिएपनि गुणात्मक परिणाम केही पनि हात लागि हुँदैन । त्यस्ता निरङ्कुश राजतन्त्रलाई उल्टाउन पुस्तौं पुस्तासम्म जनताले लड्नु परेको तितो इतिहास कसैमा छिपेको छैन ।

 हिजोआज स्वतन्त्र र नयाँ पार्टीको पनि निकै चर्चा हुन थालेको छ । पुरानो पार्टी र नेताप्रति वुझेर हो वा नवुझी आम वितृष्णा पैmलिएको छ । पुरानो पार्टी र बूढा नेताले गर्न नसकेको काम स्वतन्त्र, नयाँ पार्टी र युवा नेतृत्वले रातारात सल्टाइहाल्छन् भन्ने बनीबनाउ भाष्य सिंगो समाजमा जवरजस्त रुपमा दर्ज गरिदैछ । तर यस्ता मनोविज्ञानहरू मात्रै भरपर्दो समाधान नहुन सक्छ ।

किनभने पुरानो पार्टी र बूढा नेताहरूले टेकेको समाज, अपनाइएको शासन प्रणाली, राजकीय सिद्धान्त, संविधान, ऐन, कानुन, विधि, प्रक्रिया, सोंच, चिन्तन्, मनोविज्ञान, जीवन व्यवहार, महत्वाकाङ्क्षा, जीवनशैली, कार्यशैली, स्वार्थगत लेनादेना–सम्पर्क–सम्वन्ध, अर्थराजनैतिक उठवस, सामाजिक संस्कार, साँस्कृतिक भाष्य, धार्मिक परम्परा, ढोंग–ढर्रा–आडम्वरी सामाजिकी, शक्ति–शान–प्रतिष्ठा–प्रभाव प्रदर्शन अनि दम्भ–घमण्ड–मपाईत्व सबै उस्तै छ ।

तब यही धरातलमा उभिएको त्यही पार्टीको विचारद्वारा निर्देशित एउटा युवाले कसरी जादुगरी शैलीमा समाधान गर्ला त हाम्रो समाजमा व्यप्त यति विघ्न असंगत पक्षहरू ? यो वेला यस्तै यक्ष प्रश्नहरूको सही उत्तर खोज्न अनिवार्य देखिन्छ ।

वस्तुतः स्वतन्त्र, नयाँ पार्टी र युवाहरूले केवल सिकारु जोगीले धेरै खरानी घसेजस्तै विग्रेको, भत्केको कुुराहरूलाई चोटिलो र गहकिलो किसिमले अभिव्यक्त गर्दै आप्mनो स्वार्थगत उद्देश्य प्राप्ती गर्ने कसरतलाई बुभ्mन कठिन छैन । उनीहरूले गम्भीर सवालहरू नै उठाइरहेका छन् । भाषण र कुरा मिलाएर गरिरहेका छन्, अनि प्रतिवद्धताहरू आकर्षक र कलात्मक ढंगले प्रस्तुत गरिरहेका छन् । नाराहरू मन छुने नै लगाइरहेका छन् । पुरानो पार्टी र नेताहरूको कमी कमजोरीलाई उजागर गरिरहेका छन् । पार्टी र नेताहरूले केही गल्ती कमी कम्जोरीहरू पनि गरेकै छन् ।

त्यसो त कतिपय जनस्तरबाट उठाउनै पर्ने सवालहरू पनि छन् । अर्थात् उनीहरूले समाजोपयोगी र जनहितकारी मुद्धाहरू नै उठाइरहेका छन् । उनीहरूले उठाएका मुद्धाहरूमा हाम्रो विमति कदापी होइन । उनीहरू राजकीय प्रणाली र पद्धतिमा समस्या रहेको चूरो विषय वा गहिराइमा जाँदैनन् । उनीहरू केवल यो पार्टी, त्यो पार्टी अनि यो व्यक्ति र त्यो व्यक्तिमा मात्र खोट देख्छन् र सतही र अमूक समाधान खोज्छन् । मतदाताहरूको दिग्भ्रमलाई आप्mनो स्वार्थ सिद्धिको भ¥याङ वनाउँछन् । साँच्चै चित्त नवुझेको विषय यही हो । प्रणालीमा समस्या भएपछि विर्खवहादुरले गर्न नसकेको काम तीर्थवहादुरले गर्छ भन्नु विज्ञानसम्मत हुँदैन । असहमति र विरोध यहीनेर हो ।

     तब यस्ता प्रतिवद्धताहरू केवल एउटा नयाँ जोगीले धेरै खरानी घसेजस्तै मात्र हुन पुग्दछ । नयाँ जोगीले धरै खरानी लगाउनु उसको वाध्यता हो । जोगी वन्न अरु जोगीको भन्दा उसको संघर्ष, त्याग र लगानी निकै कम छ । यसकारण उसले जोगीको ट्याग झुण्ड्याउन पाएकै छैन । जोगी ट्याग झुण्डयाउनु छ अनि चिनिनु पर्नेछ, साथै परिचित हुनुछ तर धेरैले चिन्दैनन् । त्यसैले, पेशेवर जोगीको प्रसिद्धी वा व्राण्ड वनाएर धेरैलाई जित्नुछ वा उनीहरू भन्दा अघि बढ्नु छ ।

तर उसले पनि जोगीको स्थापित व्राण्ड बनाइ सकेपछि वा स्वार्थ सिद्ध गरिसकेपछि औसत अरुले जस्तै खरानीको सानो टीका मात्र लगाउन थाल्नेछ । सामान्य जोगीकै भेषभुषा, चालचलन र व्यवहार प्रदर्शन गर्नेछ । तब अन्ततः औसत जोगीकै रुपमा स्थापित हुनेछ । अपवादवाहेक राजनीतिमा पनि यही सार्वभौम नियम लागु हुने देखिन्छ ।

यसकारण धेरै स्वतन्त्र, युवा र नयाँ पार्टीहरूको ठूलो र कलात्मक खरानीको टीका देखेर वा सुनेर हावामा तरङ्गित हुनु भन्दा सतहमा उभिएर ठोस र वस्तुसंगत निर्णय गर्नु वुद्धिमानी हुन्छ । यो सचेत नागरिकको ऐतिहासिक कार्यभार पनि हो ।

    मूलतः निरपेक्ष रुपमा चरम महत्वाकाङ्क्षा र आत्मकेन्द्रीत स्वार्थद्वारा निर्देशित समाजमा पुस्तान्तरण र स्वतन्त्रको कुरा भनेको पनि स्वार्थगत लेनादेनाको गुरुत्वकेन्द्र वरिपरिबाटै आउने गर्दछ । वर्तमान राष्ट्रिय राजनीतिमा अन्तरनिहीत असंगतिलाई आन्दोलनकै रुपमा अघि वढाएर समाधान गर्ने हो भने सबैले यस्तो अभियानलाई ‘सल्युट’ गर्दै साथ र सहयोग दिनुपर्दछ । यसलाई संगठित र योजनावद्ध ढंगले एउटा आन्दोलनकै रुपमा अघि वढाउनुपर्दछ, जसले गलत प्रणालीलाई नै वदल्ने हैसियत राख्न सकोस् ।

आन्दोलनको ऐतिहासिक प्रक्रियामार्पmत् वर्तमान वेथिति र विसंगतिहरूलाई निर्मूल गर्दै एक सुन्दर, शान्त, समृद्ध र उन्नत समाज निर्माणको निर्मम संघर्षकै रुप हो भने हाम्रो पनि समर्थन रहनेछ । तर आत्मकेन्द्रीत व्यक्तिवादी स्वार्थ र महत्वाकाङ्क्षाले नेतृत्व गरिरहेको समाजमा यस्तो कल्पना गर्नु दिवास्वप्न मात्र हुन्छ । यस्ता सबै तिकडम् र ट्याक्टीसहरू उही नयाँ जोगी वन्ने महत्वाकाङ्क्षी स्वार्थ अन्तरगतकै साक्षात रिहर्सल मात्र हुन् ।

     तर उपभोगवादी साँस्कृतिक स्वार्थद्वारा निर्देशित विश्व मानव समाजमा पछिल्लो समय उपभोग वासनासँगै चरम् महत्वाकाङ्क्षा र अति स्वार्थले घर गरेको देखिन्छ । यसले स्वभाविक प्रक्रियाबाट भन्दा पनि छिटोमीठो तरिकाले विना लगानी स्वार्थपूर्तिको सपनासँगै स्वाद फेर्ने मनोवैज्ञानिक भाष्य निर्माण गरिरहेको छ । यस्तो चिन्तन् प्रवृत्तिले विचार, राजनीति, दृष्टिकोण, सही र गलत, अग्रगामी र पश्चगामी अनि एजेण्डाहरूलाई नजरअन्दाज गर्दछ ।

उनीहरू केवल अमूक र अमूर्त विकास, समृिद्ध, सुशासन र भ्रष्टाचारविहीन समाजको परिकल्पना गर्दछन् । हल्लाखल्ला र महौलको पछि लाग्दछन् । मीठो, गुलियो, आकर्षक र औपचारिक पदावलीहरूमा रुम्मलिने गर्दछन् । वस्तुत उनीहरूको परिकल्पनाले वस्तुगत धरातल टेकेको वा छोएको हुँदैन ।

उपभोगवादी अर्थराजनीतिक स्कुलिङ्मा मतदाताहरूसमेत विना विचार र एजेण्डा भड्किने र वहकिने गर्दछन् । निश्चित वैचारिक लगाम हुँदैन । उनीहरूमा स्पष्ट अडान हुँदैन । आज यता, भोलि उता कुनै ठेगान हुँदैन । यस्तो वेला जनता जनार्दनले सही नै पैmसला गर्छन् भन्ने केही ग्यारेण्टी हुँदैन ।

यस्तो परिवेशमा अलि अस्वभाविक ढंगले कुनै पनि वस्तु, व्यक्ति वा सत्ताको उठान र पतन हुने गर्दछ । त्यसमा अझ शक्तिकेन्द्रहरूको चलखेल जोडिदा अनुमान गरेभन्दा धेरै भिन्न तस्वीरहरू पनि पर्दामा आकस्मिक रुपमा देखिने गर्दछ ।

यस्तो प्रतिकुल परिवेशमा अमूर्त गोलमटोल सुगरकोटेड नारा र प्रतिवद्धतारुपी कमाण्डलु वोकेर आउने नयाँ जोगीलाई हामीले आलोचनात्मक दृृष्टिबाट मूल्याङ्कन गर्नुपर्दछ । अन्यथा हामीहरू फेरि नयाँ जोगीको महाजोगी बन्ने रणनैतिक स्वार्थको जालोमा नराम्ररी फँस्नेछौं ।

     त्यसैले, पुस्तान्तरणको उठान सही भएपनि अमूर्त छ । यसमा वस्तुवादी समाधानको आधार देखिदैन । स्वतन्त्रहरूले राम्रै मुद्धाहरू उजागर गरेका छन् तर त्यो अमुक छ । यसको दीर्घकालीन हल गरेरै छाड्ने स्पष्ट आधार भेटिदैन ।

युवा हुनु नै सवै समस्याको समाधान होइन । स्वतन्त्र हुनु नै बनीबनाउ हल होइन । पुरानो पार्टी र बूढो नेता हुनु नै अभिशाप होइन । यद्यपि युवाहरूले पनि त्यही बूढा नेताले नेतृत्व गरिरहेको खास पार्र्टीकै आधारभूत राजनैतिक विचारद्वारा निर्देशित भएर काम गर्ने होला ।

उदाहरणको लागि गगन थापाले आखिर काँग्रेसकै वैचारिक पदचिन्हअनुसार काम गर्नुपर्दछ । आकाश धरती नै जोडिन्छ भनेर हावादारी वा मनगढन्ते विश्लेषण गर्नुहुँदैन । ट्याक्टफुल्ली उठाइएको पुस्तान्तरणको महत्वाकाङ्क्षी रणनीतिमा धेरै भर नपरौं । यो समाधान नभएर केवल कसैको स्वार्थ र महत्वाकाङ्क्षाको धीत मार्ने क्याप्सुल मात्र हुन सक्छ ।

     यता राष्ट्रिय राजनीतिमा व्याप्त समस्याहरू भनेको कुनै अमूक पार्टी वा नेताहरूको कारण मात्र पैदा भएको समस्या होइन । यो त हामीले प्रयोग गरिरहेको अर्थराजनैतिक प्रणालीमा रहेको समस्याहरूकै उपज हो ।

तसर्थ पुस्तान्तरणलाई निरपेक्ष र बनीबनाउ समाधान देख्नु अल्पज्ञान वा वैचारिक दरिद्रता हुन्छ । सही विचार, दृष्टिकोण, कार्यदिशा र कार्यक्रम हेरेर वस्तुवादी समाधान खोज्ने गरौं । प्रणालीमा रहेको खोटलाई बदलौं । परम्परागत र असंगतपूर्ण चिन्तन् प्रवृत्तिहरूलाई निस्तेज गरौं ।

युवा, प्रौढ र वृद्धाहरू एकअर्काका परिपूरक साधनहरू हुन् । तिनै पुस्ताहरू बिचको संगठित, एकीकृत र प्रतिवद्ध विचारमा मात्र समाधान देख्ने गरौं । अनि मात्र हामी समस्याहरूको दीर्घकालीन समाधान गर्न सक्नेछौं । अन्यथा यस्तो अमूक र गोलमटोल नाराद्वारा कसैले आफ्नो स्वार्थ र महत्वाकाङ्क्षा त पुरा गर्ला तर राष्ट्रिय राजनीतिमा व्याप्त असंगतिहरूको वस्तुवादी समाधान हुँदैन । सबैलाई चेतना भया !   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप