शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के हो ‘फुड पोइजनिङ’ ?

आइतबार, ०३ पुस २०७९, १२ : ०६
आइतबार, ०३ पुस २०७९

गत मङ्सिर १७ गते पाल्पामा बिहेभोज खाएको करिब २४ घण्टा पश्चात् १३८ जना बिरामी परे । बिरामी परेकाहरूलाई पेट दुख्ने, बान्ता आउने लक्षण देखिएको थियो ।

उनीहरूलाई पाल्पा र प्यूठान जिल्लास्थित स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार समेत गरियो  । प्रारम्भिक अनुसन्धान अनुसार सिँचाइका लागि प्रयोग हुने पानी भोजका क्रममा खाना बनाउन र अन्य प्रयोजनका लागि प्रयोग गरिएको थियो । विषाक्त खाना अर्थात् ‘फुड पोइजनिङ’का कारण एक साथ यति धेरै जना बिरामी भएको चिकित्सकहरूको अनुमान थियो ।

यस्तै, मङ्सिर २३ गते भरतपुरमा एकै पटक ६५ जना बिरामी परे । भोज खाएको २४ घण्टा नबित्दै पखाला लाग्ने, वाकवाकी हुने, वान्ता आउनुका साथै ज्वरो आउने लगायतका लक्षण उनीहरूमा देखियो ।

६५ मध्ये ३५ जनालाई मङ्सिर २६ गते भरतपुरस्थित नेसनल सिटी अस्पतालको आकस्मिक कक्ष तथा वहिरङ्ग विभागमा उपचारका लागि भर्ना गरिएको थियो ।

यसरी बेलाबेलामा वन भोज, विवाह, व्रतबन्ध लगायतका भोजहरूमा खाना खाएपछि सामूहिक रूपमा बिरामी पर्ने गरेको समाचार आइरहन्छन् । सानोसानो समूहमा तथा परिवारमै पनि ‘फुड पोइजन’को समस्या हुने चिकित्सकहरू बताउँछन् ।

दूषित पानी/खाना मार्फत ब्याक्टेरिया, भाइरस, विभिन्न किसिमका परजीवीहरू पाचनतन्त्रमा पुगेपछि ‘फुड पोइजनिङ’ हुने पोषणविद् प्राडा उमा कोइराला सुनाउँछिन् । व्याक्टेरियाका कारण हुने ‘फुड पोइजनिङ’ले गम्भीर समस्या देखाउँछ । उनका अनुसार रोटा भाइरस, एस्ट्रो भाइरस, हेपेटाइटिस ए भाइरसका कारण पनि ‘फुड पोइजनिङ’ हुन्छ ।

‘फुड पोइजनिङ’ का सामान्य कारण

मुख्यतः ‘फुड पोइजनिङ’ हातको सरसफाइ नगरी खाँदा, कम गुणस्तर डेरीबाट दूधजन्य पदार्थ ल्याएर खाँदा, राम्रोसँग सागसब्जी, सलादहरू नपखाली खाँदा, काँचो मासु खाँदा र कसैलाई गम्भीरका खालको रोग लागेको छ भने पनि बेलाबेलामा ‘फुड पोइजनिङ’ हुन सक्ने डा. कोइरालाको भनाइ छ ।

यस्तै, कमजोर पाचनतन्त्र हुँदा पनि बेलाबेलामा ‘फुड पोइजनिङ’ हुन सक्ने उनले बताइन् । यद्यपि यस्ता समस्या आफै निको पनि हुने उनले जानकारी दिइन् ।

‘फुड पोइजनिङ’का लक्षण

‘फुड पोइजनिङ’ हुँदा उल्टी आउने, ज्वरो आउने, पेट दुख्ने, थकान, बेचैनी हुने, डकार आउने, टाउको दुख्ने, कमजोरी हुने, दिसामा रगत आउने जस्ता लक्षण देखिने डा.कोइराला बताउँछिन् ।

यस्तै, गम्भीर खालको ‘फुड पोइजनिङ’ हुँदा भने मुख सुक्ने, पिसाबमा रगत देखिने, पेटमा एसिडको मात्रा बढी हुने, बोल्न र हेर्न गाह्रो हुने, पिसाब कम आउने वा आउँदै नआउने, १०२ डिग्रीभन्दा बढी ज्वरो आउने जस्ता लक्षण देखिन्छ । यस्तो लक्षण देखिएमा तत्काल अस्पताल जान चिकित्सकहरू सुझाव दिन्छन् ।

‘फुड पोइजनिङ’का प्रकार

‘फुड पोइजनिङ’ले स्वास्थ्यमा समान्यदेखि गम्भीर समस्या आउन सक्छ । ‘फुड पोइजनिङ’ मुख्यतः विभिन्न सात कारणले हुन्छ । ई.कोलाई, साल्मोनेला, लिस्टेरिया, ट्रिनिनोसिस, स्टेफिलोकोकस, कैम्पिलोबैक्टर र क्लोस्ट्रीडियम जस्ता किटाणुबाट  ‘फुड पोइजनिङ’ हुन्छ ।  ई. कोलाई एक जीवाणु हो जो मानिसको पेटमा विभिन्न माध्यमबाट पुगी स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छ । कहिलेकाहीँ ई.कोलार्ईले ज्यान समेत लिनसक्ने हुन्छ ।

पशु, मानिसको दिसाबाट ई.कोलाई किटाणु पानीमा मिश्रण हुने र त्यस्तो पानी पिउनाले वा भाँडा माझ्ने लगायतका प्रयोजनमा प्रयोग गरेमा ‘फुड पोइजनिङ’ हुन सक्ने डा. कोइरालाले बताइन् ।

ई.कोलाईले जस्तै साल्मोनेला, लिस्टेरिया, ट्रिनिनोसिस लगायतका किटाणुले पनि स्वास्थ्यमा गम्भीर खालको समस्या ल्याउन सक्छ ।

कसरी सावधानी अपनाउने ?

डा. कोइरालाका अनुसार मुख्यतः ‘फुड पोइजनिङ’ हुँदा देखिने लक्षण देखा परेमा समय–समयमा स्वच्छ पानी पिउने, जतिसक्दो आराम गर्ने, सादा खाना खाने जस्तै रोटी, सादा सागसब्जी, तेल, मसला, पिरो कम राखेर पकाएका तरकारी खाने गर्नुपर्छ । ‘फुड पोइजनिङ’ भएमा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

यस्तै, पोषणविद् प्राडा कोइरालाले भोजभतेरहरुमा बनाइएका खानेकुरा स्वच्छता तथा सफाइमा ध्यान दिइएको छ कि छैन भन्ने हेरेर मात्रै खानुपर्ने बताइन् ।

‘सामूहिक रूपमा खानका लागि बनाइएका खानेकुराहरू सफा नलागे खानु हुँदैन, खाने कुरा बनाउने क्रममा, बनाएर प्लेटसम्म आइपुग्दा गुणस्तरमा शङ्का लागेमा खानु हुँदैन,’ उनले भनिन्, ‘जस्तै, सडेगलेको र बासी खाना, झिँगा भन्केका खानेकुराहरू खान हुँदैन, पानी पनि उमालेको वा क्लोरिनले शुद्धीकरण गरेको भएमात्रै पिउनुपर्छ ।’

घरबाहिर सामूहिक भोजमा बनाइएका सलादहरू, हरियो साग, नपकाइकन बनाइएका विभिन्न थरी अचारहरू सकेसम्म नखान उनको सुझाव छ ।

वनभोज, विवाह, व्रतबन्ध लगायतका समारोहमा बनाइने खाने कुरामा स्वच्छतालाई ध्यान नदिँदा विषाक्त हुने र त्यस्तो खाना खाएकाहरु सामूहिक रूपमा बिरामी परिरहेकाले समेत हुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी सुझाव दिन्छन् । खाद्य गुणस्तर, पानीको गुणस्तर र सरसफाइका सम्बन्धमा सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘भोजभतेरमा मात्रै सावधानी अपनाएर हुँदैन, खानेकुरा उत्पादन भएपछि पकाएर खाने प्लेटबाट मुखसम्म पुग्ने बेलासम्म सरसफाइ र गुणस्तरमा हरेक समय सावधानी अपनाउनु पर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप