शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोमा फ्लूको खोप किन आवश्यक?

मङ्गलबार, ०५ पुस २०७९, ०७ : १९
मङ्गलबार, ०५ पुस २०७९

चिसो मौसम सुरु भएसँगै विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गर्छन् । चिसो मौसममा फ्लू अर्थात् इन्फ्लुएन्जा भाइरस सक्रिय हुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार फ्लू हुँदा अचानक ज्वरो आउनु, घाँटी दुख्नु, नाक बन्द हुनु वा सिंगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकाइ महसुस हुनु  जस्तो लक्षण देखिन्छ । 

फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । कसैलाई निमोनिया पनि हुन सक्छ । पातलो दिसा आउने लगायतका फ्लूका लक्षण हुन् । फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छ । भाइरस भएको कुनै सतह छोएर आफनो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ । 

कसरी रोकथाम गर्नेफ्लू ?

–बिरामी भएका व्यक्ति भौतिक दूरी कायम राख्ने ।

–खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने । 

–शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने ।

–सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने  ।

–बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

–आफ्नो आँखा, नाक वा मुख नछुने ।

फ्लू भएका अधिकांशलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक पर्दैन । दीर्घ रोगी, गर्भवती,वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्न सक्छ । त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्र्पकमा औषधि सेवन गर्नुपर्छ ।

के हो फ्लू शट?

जाडो मौसममा बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिक, प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति र गर्भवती महिलालाई धेरै रुघाखोकी, ज्वरो, टाउको दुख्ने, घाँटी खस्खसाउने समस्याले धेरै सताउन सक्छ । यस्तोमा फ्लू शट लगाउन डा. शेरबहादुर पुन सुझाउँछन् ।

फ्लू शट ६ महिना कम उमेर समूहका बालबालिकाबाहेक सबै उमेर समूहले लगाउन हुन्छ । फ्लू शट गर्भवती महिलाहरूका लागि आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् । 
आमा र भूणका लागि फ्लूखतरानाक हुन सक्छ । त्यसैले गर्भवती महिलाले फ्लू शटलाई प्राथमिकतामा पार्नुपर्ने  डा पुनको भनाई छ ।

फ्लू शट सुरक्षित भएकाले गर्भावस्थामा प्राप्त शटले बच्चा जन्मेपछि पनि सुरक्षा प्रदान गर्ने अध्ययनहरूले देखाएको छ । फ्लू शटले इन्फ्लुन्जाजन्य भाइरसबाट जोगाउँछ । फ्लू खोप इन्फ्लुन्जा भाइरस विरुद्धको खोप हो । 

उता विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष फ्लू लिन सिफारिस गरेको छ । यता नेपालमा फ्लू शटबारे धेरै कमलाई जानकारी छ । यद्यपि स्वास्थ्यकर्मीले आवश्यकताको आधारमा वृद्धावृद्ध, बालबालिका र गर्भवतीलाई फ्लू शट लगाउन सुझाव दिने डा.पुन बताउँछन् । 

फ्लू शटले गम्भीर जटिलताबाट बचाउँछ । त्यसैले, कसैलाई हालसम्म फ्लू भएको छैन भनेपनि फ्लू खोप लगाउँदा उपयुक्त हुने अध्ययनहरूले देखाएको छ । सार्स–कोभ–२ उदय भएदेखि इन्फ्लुएन्जा गतिविधि कोरोना महामारीअघिभन्दा कम भएको सीडीसी युएसले जनाएको छ । 

महामारीमा अघिको इन्फ्लुएन्जा सिजनको तुलनामा २०२१–२०२२ मा इन्फ्लुएन्जा सिजन कम बिरामी भएका थिए ।  इन्फ्लुएन्जा दुई लहरमा भएको थियो । दोस्रो लहरमा अस्पतालमा भर्ना उच्च थियो । सीडीसीका अनुसार इन्फ्लुएन्जाका ९ लाख बिरामी थिए । जसमध्ये, ४ लाख अस्पताल पुगेका थिए भने १० हजार जना अस्पताल भर्ना भएका थिए । सोहीमध्ये ५ हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ । 

फ्लू शट कति पटक लगाउने ?

फ्लू शट सामान्यता कुमको मांशपेशीमा एउटा इन्जेक्शनको माध्यमबाट लगाइन्छ । ६ महिना मुनिका बच्चालाई बाहेक, विगतमा गम्भीर एलर्जी भएकाहरूले लगाउन हुँदैन । फ्लू शट लगाएपछि प्रतिरोधात्मक क्षमता समयसँगै घट्दै जान्छ । त्यसैले, फ्लू शट वर्षमा एक पटक लगाइन्छ । फ्लू शटले बच्चाहरूमा फ्लूसम्बन्धि हुने जटिलता रोक्न महत्वपूर्ण भुमिका खेल्ने अध्ययनहरूले देखाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप