शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘संस्कृत भाषामा शपथ लिनुको रहस्य म बिस्तारै खोल्छु’

‘प्रभु साहले बनाउने पार्टीमा म जान्नँ’
सोमबार, ११ पुस २०७९, १० : २४
सोमबार, ११ पुस २०७९

माओवादी, जसपा हुँदै एमालेमा गएका किरण साह सो पार्टी छाडेर स्वतन्त्रबाट रौतहट–२ मा चुनाव लडे । उनले प्रतिनिधिसभाको चुनाव पनि जिते । 

रौतहट–२ काँग्रेसका नेता अफताब आलमको गढ थियो । तर किरण साहले आलमको त्यो गढ भत्काएका छन् । स्वतन्त्रबाटै संघीय सांसदमा विजयी प्रभु साहको टिममा रहेका किरण साह संसद्मा संस्कृत भाषामा शपथ लिएर झन् चर्चामा छन् । 

कसरी ढालियो आलमको विरासत, संस्कृत भाषामा शपथ लिनुको कारण के हो ? अनि नयाँ पार्टी गठनलगायतका विषयमा स्वतन्त्र सांसदको भूमिका के रहन्छ ? प्रस्तुत छ, सांसद साहसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश:

तपाईं लामो समय दलीय राजनीति गर्नुभयो तर अन्त्यमा स्वतन्त्रबाट चुनाव जित्नुभयो, कस्तो महसुस गरिरहनु भएको छ ?

–दलीय राजनीति र स्वतन्त्रको राजनीतिमा धेरै फरक हुन्छ । दलीय राजनीतिमा हुँदा दलको नियम, कानुन, त्यहाँको अनुशासन र मर्यादामा बस्नुपर्ने हुन्छ । त्यसले भनेको अनुसार काम गर्नुपर्ने हुन्छ । दलको ह्वीप मान्नुपर्ने हुन्छ । तर स्वतन्त्रमा त्यस्तो हुँदैन । 

म लामो समय दलीय राजनीतिमा सक्रिय भएँ । पटक पटक चुनाव लडे तर जित्न सकिनँ । स्वतन्त्रबाट चुनाव लडे, भारी बहुमतले जिते । यसको मतलब जनतालाई दलीय राजनीति वा उम्मेदवार मनपर्दैन । 

स्वतन्त्र उम्मेदवार वा नेताको आफ्नो मौलिकता हुन्छ । उसले चाहेको जस्तो काम गर्न पाउँछ । उसलाई रोक्ने, उसमाथि कसैले ह्वीप लगाउन सक्दैन । यसको एउटा उदाहरण, म भर्खरै संसदमासंस्कृतमा भाषामा शपथ लिएँ । सायद म कुनै दलमा भएको भए यसरी शपथ लिन पाउन्न थिए कि ? तर मैले आफै निर्णय लिएर आफूले चाहेको भाषामा शपथ लिएँ । यसमा मलाई गर्व लागेको छ र म खुसी पनि छु । 

तपाईं विगतमा दलबाट पनि चुनाव लड्नु भएको थियो तर हार्नु भयो । अहिले स्वतन्त्रबाट चुनाव लडेर जित्नु भयो । यी दुवै चुनावमध्ये तपाईंको लागि चुनौती खासमा के मा थियो ?

–दलीय चुनावभन्दा स्वतन्त्रबाट चुनाव लड्दा बढी चुनौतीपूर्ण हुन्छ । दलमार्फत् चुनाव लड्ता त्यसको एउटा संगठन हुन्छ । कसले मतदान गर्छन्, कसले साथ दिन्छन् भने कुराको एउटा अनुमान भइसकेको हुन्छ तर स्वतन्त्रमा त्यो हुँदैन । स्वतन्त्रमा चुनाव लड्दा एक्लै भइन्छ । 

स्वतन्त्रवालाको संगठन हुँदैन । व्यक्तिमा नै भर पर्नुपर्ने हुन्छ । साथी भाइ आफन्तमा पनि भर पर्नुपर्ने हुन्छ । जनताको उभार भएन भने जस्तो सुकै पनि पार्टी पनि चुनाव हार्छ । म पहिलादेखि सक्रिय राजनीति गरेको र जनतासँग घुलमिल भएको, जनताको सुख दुःखमा साथ दिएको कारण स्वतन्त्र उम्मेदवार भएपनि मलाई जनताले माया गरे । जबकि दलको उम्मेदवार भएर म चुनाव हार्दै आइरहेको थिएँ । 

स्वतन्त्र उम्मेदवार भएर पनि यसपाली काँग्रेस नेता अफताव आलमको गढ भत्काउनु भयो । यो कसरी सम्भव भयो, तपाईंले कस्तो अनुभव गरिरहनु भएको छ ?

–अफताब आलमको विरासतका कारण त्यहाँ राजनीति गर्नेका लागि ठूलो चुनौती थियो । त्यहाँका कर्मचारी, बौद्धिक वर्ग, पत्रकार तथा शुभचिन्तकहरुले पनि मलाई यो क्षेत्र तपाईंको लागि निकै चुनौतीपूर्ण छ, तपाईं यता हात नहाल्नुस्, अरु क्षेत्रबाट चुनाव लड्नुस् । तपाईंको लागि खतरा पनि छ भने । 

तर मैले हिम्मत हारिन । म सानैदेखि चुनौती लिएर काम गर्ने मान्छे हो । जहाँ चुनौती हुन्थ्यो, म त्यही पुग्थे । त्यही भएर मलाई अफताव आलमको विरासत र उनको गुण्डागर्दीबाट कहिल्यै डर लागेन । अफताब अहिले जेलमा छन् । उनी बाहिर हुँदा पनि उनीसँग मैले दुई दुईपटक चुनाव लडेको थिएँ । तर थोरै थोरै मतले हारेको थिएँ । 

आजभन्दा ४४ वर्ष पहिला अफताव आलमका काका शेख इद्रिसका दाईलाई मेरो बुवाले गाविस (गाउँ पंचायत) अध्यक्षमा चुनाव हराउनु भएको थियो । इतिहास त छ नि । मेरो बुवाले हराइसकेको त्यो परिवारलाई म पनि एक दिन अवश्य हराउँछु भनी मनमा थियो तर अरुहरुले अफतावको जंगलीराज, गुण्डाराजलाई कसैले समाप्त गर्न सक्दैन भन्थे । म निरन्तर संघर्ष गरिरहे । र, जनताले मलाई यसपाली साथ दिए ।

तोड्न कसरी सफल हुनुभयो त ?

–मैले निर्भय समाज निर्माण गर्नेतिर लागे । जनतालाई अफताव आलमको भयबाट मुक्त गराउने प्रयास गरे । त्यहाँ जनता वास्तवमा अफतावबाट भयभित थिए, त्यसबाट मुक्त गराउन मलाई केही समय लाग्यो । 

अफताब आलमको परिवारबाट थुप्रैजना सांसद, मन्त्री बने तर उहाँहरुले कहिल्यै पनि पारदर्शी काम गर्नुभएन । सुशासन कहिले कायम गर्न सक्नु भएन । यो क्षेत्रमा जहिले पनि हत्या, हिंसा, लुटपाट हुन्थ्यो । जनतालाई डराएर, तर्साएर राखिन्थ्यो । मैले त्यसबाट मुक्त गराएको छु । पहिले अफताव आलमको परिवारको बारेमा कसैले कुरा गर्न पनि मानिरहेको थिएन तर अहिले तपाईं धेरै कुरामा फरक पाउनु हुन्छ । 

अब म यस क्षेत्रको जनतालाई खुसी देख्न चाहन्छु । त्यहाँ हरेक प्रकारको विकास लैजान चाहन्छु । चुनावमा मैले नौ बुँदे प्रतिवद्धता जनाएका थिएँ, त्यो पुरा गर्नु छ । पढाई, कमाई र दवाई त्यो क्षेत्रमा पुर्‍याउने प्रतिवद्धता जनाएर आएको छु । त्यो क्षेत्रका अधिकाँश जनता अशिक्षित छन् । स्वास्थ्यको अवस्था त्यतिकै नाजुक छ । रोजगारी छँदैछैन भन्दा पनि हुन्छ । ती सबै समस्या मैले समाधान गर्नु छ । पाँच वर्षभित्र सबै काम पुरा गर्नु छ मलाई । 

तपाईंले अघि भन्नुभयो, ‘मैले त्यो क्षेत्रमा निकै संघर्ष गरे, धेरै चुनौतीको सामना गरे ।’ वास्तवमा तपाईंले के कस्तो थ्रेट झेल्नुभयो ?

–मलाई ज्यान मार्नेसम्मको योजना बनेको थियो । ममाथि विभिन्न किसिमका मुद्दा लगाउने कोशिस पनि भयो । माओवादीको जनयुद्धकालमा ममाथि माओवादीको आरोप लगाउने काम भयो । मलाई त्यसको नाममा यातना दिने कोशिस पनि भयो । उनीहरुले यस्तो अवस्था सिर्जना गरे कि अन्तमा मलाई माओवादी बन्ने अवस्थामा पुर्याइयो । मलाई मार्नका लागि सुटर नै खटाइएको थियो । २०६३ मा ममाथि गोली नै चलाइयो, म त्यसबाट बल्ल बल्ल बाँचेको हुँ । 

त्यसैले, मलाई मृत्युसँग कहिल्यै डर लागेन । म मृत्युसँग डराएको भए आज जित्ने थिइनँ । म त्यहाँको हरेक चुनौतीको सामना गर्दै अगाडि बढ्दै यहाँसम्म आइपुगेको हुँ । 

२०७४ को चुनावमा रिर्पोटिङका लागि तपाईंले हाल जितेको क्षेत्रमा जाँदा धेरै मतदाताले आजसम्म हामीले ब्यालेट पेपरै हेरेका छैनौ भनेका थिए । त्यो अवस्था सकियो, होइन त ?

–त्यो अवस्था समाप्त भइसकेको छ । यो अवस्था २०७० भन्दा पहिला थियो । जबदेखि म चुनावमा आएँ, त्यो अवस्था छैन । २०७० भन्दा पहिला अफताव आलमका परिवारले मतदाताहरुलाई मत खसाउनका लागि मतदान केन्द्रमा जान दिएका थिएनन् । ती मतदाताका नाममा उनकै कार्यकर्ताहरुले मत खसाल्थे । यो समस्या पुरै क्षेत्रमा नभई केही मतदान केन्द्रमा मात्र थियो । मैले चुनाव लड्न थालेपछि हरेक मतदाताको घर घरमा गएर प्रचार प्रचार गरे, अब अहिले त्यो समस्या त्यहाँ छैन ।

तपाईंको मातृभाषा बज्जिका हो तर तपाईंले संस्कृत भाषामा किन शपथ लिनुभयो ?

–मैले बज्जिका भाषामा शपथ लिएको भए एउटा कुना र त्यो भाषाको मात्र सम्बोधन हुन्थ्यो तर संस्कृत भाषामा शपथ लिएपछि सबैको सम्बोधन भयो । संस्कृत भाषा सबैको जननी भाषा हो । संस्कृतबाटै सबै भाषाको उत्पत्ति भएको हो । संस्कार, संस्कृति, रितीरिवाज सबै संस्कृत भाषाबाट नै आएको हो । 

संस्कृत भाषामा मैले शपथ लिँदा मलाई त्यसमा गर्व लागेको छ । तीन करोड नेपालीको शिर ठाडो पारेको छु । नेपाललाई पशुपतिनाथको देश भनेर पनि चिनिन्छ । हिन्दूहरुको देश हो भनेर अहिले पनि भनिन्छ । नेपालको आफ्नै संस्कृति र संस्कार हराउँदै गइरहेको लागेर मैले संस्कृत भाषामा शपथ लिएको हुँ । 

गेरु रंगको वस्त्र लगाएर संसद्मा संस्कृत भाषामा शपथ लिनुले के कुराको संकेत दिनु भएको हो ?

–यसको ठूलै अर्थ छ । यो कुरा म बिस्तारै खोल्दै जानेछु । अहिले नै सबै कुरा खोल्दिएँ भने म चारैतिरबाट घेरामा पर्छु । त्यसैले संस्कृत भाषामा शपथ र गेरु वस्त्र लगाएको भेद (रहस्य) पछि खोल्नेछु । संसद सुरु भएपछि जुन दिन म रोस्टमबाट बोल्नेछु, त्यो दिन पनि केही कुरा बाहिर आउनेछ ।

हिन्दू राष्ट्र बनाउने मिसन त होइन तपाईंको ?

–नेपाल हिन्दू राष्ट्र नै हो । संविधानमा धर्मनिरपेक्षको कुरा गरेपनि धारा ४ मा वैदिक हिन्दू सनातन धर्म, चलि आएको रिति रिवाजलाई निरन्तरता दिँदै सबै जातजाति, भाषाभाषीलाई सम्मान गर्ने गरी एउटा धर्मनिरपेक्ष शब्द थपिएको छ । हिन्दू राष्ट्र त हटाएको छैन नि । विश्व सम्पदाको सूचीमा नेपाल हिन्दू राष्ट्रको रुपमा छदै छ नि । 

हिन्दू राष्ट्र हटाउनुपर्छ भनि नेपाली जनताको एजेण्डा थिएन । यो जवर्जस्ती लादिएको हो । अहिले पनि नेपालीले आफूलाई हिन्दू राष्ट्रको जनता ठान्छन् । कसैले हिन्दू राष्ट्र भन्दा रहने, कसैले भन्दा नरहने भने होइन । नेपाली जनताको मनमा जे छ, त्यही हुन्छ । 

देशका ठूला दलहरुले हिन्दू राष्ट्रबारे केही गर्न सकिरहेका छैनन्, तपाईं स्वतन्त्रबाट जितेर यत्रो प्रतिवद्धता र एजेण्डा कसरी पूरा गर्न सक्नुहुन्छ ?

–सत्य र तथ्य हारेको इतिहास छैन । घुम्तीमा जाँदा कहीँ कतै ठोकिन्छ, फेरि सिधा हुन्छ त्यो बेग्लै कुरा हो । भारतको संसद्मा अटलविहारी बाजपेयी जानुहुन्थ्यो, उहाँ एक्लै हुनुहुन्थ्यो । उहाँले बोलेको कुराको कुनै सुनुवाइ हुँदैनथ्यो । मान्छेले पागलै भन्थे तर आज उहाँकै भिजनमा भाजपा पुरै भारतको नेतृत्व गरेको छ । 

हामी पनि एजेण्डा बनाउँछौ, मुद्दा तय गर्छौ । हामी आत्तिदैनौं, बिस्तारै आफ्नो भिजनमा अगाडि बढ्छौं । म एक्लै छैन । मसँग ७९ हजार मतदाता छन् । जसले ममाथि भरोसा गरेका छन्, जसले मलाई आशीर्वाद दिइरहेका छन् । ३२ हजार मतले जितेको छु तर म ३२ हजारको नेता होइन, म ७९ हजारको नेता हुँ ।

तपाईंहरु पार्टी बनाउने तयारीमा पनि हुनुहुन्छ, कहाँ पुग्यो तयारी ?

–म कुनै पार्टी बनाउन गइरहेको छैन । म आफै कर्म गर्छु । जनताका सेवा गर्छु, त्यसको आधारमा अगाडि बढ्छु । राष्ट्रमा देखिएका तत्कालीन समस्या समाधानतिर मेरो ध्यान हुनेछ । अहिले पार्टी बनाउने बेला भएको छैन । म भर्खर पार्टीबाट निस्केको हुँ । मलाई पार्टीबाट घृणा भएको छ । अहिले नै पार्टी बनाउने पक्षमा म छैन । 

प्रभु साहले बनाउन लागेको पार्टीमा तपाईं गैरहनु भएको छैन त ?

–छैन, म प्रभु साहसँग छैन । प्रभु साहको लाइन र मेरो लाइन फरक हो । चुनावमा एक अर्कालाई सहयोग गरियो, त्यो बेग्लै कुरा हो तर म अहिले प्रभु साहसँग छैन । उहाँले बनाउने पार्टीमा म जान्न, त्यसमा ढुक्क हुनुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप