बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

के अब केपी–माधव सम्बन्ध पनि सुध्रेला ?

मङ्गलबार, १२ पुस २०७९, २० : १६
मङ्गलबार, १२ पुस २०७९

‘तपाईंलाई विश्वास नलाग्न सक्छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बाहिर देखिएजस्तो कटाक्ष भित्र छँदैछैन । उहाँहरुबीच टेलिफोन संवादका क्रममा कतिसम्म ‘चुम्माचप्पा’ र ‘हाँसिमजाक’ हुन्छ भन्ने कुरा सीमित मान्छेलाई मात्र थाहा छ’, मङ्सिर १३ गते बेलुका चुनावी नतिजा सार्वजनिक भइरहेका बेला एमालेका एक शीर्ष नेताले अनौपचारिक संवादका क्रममा भनेका थिए, ‘कुनै पनि बेला उहाँहरू एक ठाउँमा पुग्ने सम्भावनालाई चुनावी परिणामले थप सहज बनाइदिने देखिँदैछ ।’

अध्यक्ष ओली र प्रचण्डसँग सिधै संवाद र कुराकानी गर्न हैसियत राख्ने ती नेताले भनेजस्तै एक महिना नबित्दै ओली–प्रचण्ड पुनर्मिलनमात्रै होइन, एक अर्कालाई प्रधानमन्त्री बनाउने र स्वीकार्ने हदसम्म पुगेर धेरैलाई चकित पारे । उनीहरूको यो पुनर्मिलन व्यक्तिगत मात्रै थिएन, जसले मुलुकको राजनीतिमा समेत पुरै फेरबदल ल्याइदियो । ओली–प्रचण्ड मिलनलाई दुवै पार्टीका नेता कार्यकर्ताले सकारात्मक रूपमा लिइरहेका बेला एमालेबाटै विद्रोह गरेका अर्का नेता माधव कुमार नेपाल भने अहिलेसम्म फरक कित्तामै उभिइरहेका छन् । माधव नेपाल उनै हुन् जो तत्कालीन नेकपा कालमा ओलीको कार्यशैलीलाई लिएर प्रचण्डसँग विद्रोहमा उत्रेका थिए । पछि नेकपाले वैधता नपाएपछि नेकपा एकीकृत समाजवादी पार्टी खोलेर प्रचण्डसँग सहकार्य गर्दै आएका नेता नेपाल प्रचण्ड–ओली सहकार्य हुँदा भने छुटेका छन् । कांग्रेससहितको गठबन्धन गर्दा पनि राष्ट्रिय पार्टी बनाउन नसकेका नेपाल पछिल्लो राजनीतिक उलटपुलटमा प्रचण्डलाई भन्दा देउवालाई बढि दोषी देख्छन् । उनको यो विश्लेषणबाट पनि अध्यक्ष नेपाल प्रचण्डसँग अझै पनि नजिक रहन चाहन्छन् भन्ने सहजै बुझ्न सकिन्छ । अब प्रचण्डसँग नजिक हुनु भनेको ओलीसँग पनि नजिक हुनु हो भन्ने भाष्य एमाले र समाजवादीभित्र चल्न थालिसकेको छ ।  

तर कसरी ? यो प्रश्नको जवाफ नेता नेपालसँग पनि छैन । किनकि उनी आफै सहकार्यका लागि प्रस्ताव गरिहाल्ने पक्षमा त छैनन् तर उपयुक्त वातावरणको खोजीमा भने अवश्य रहेका छन् । त्यसो त प्रधानमन्त्री  प्रचण्डले पनि नेपाललाई सँगै हिँडाउने प्रयत्न कायमै राखेका छन् । जसको एक उदाहरण हुनसक्छ प्रधानमन्त्रीको शपथलगत्तै पुष्पलालको शालिकमा माल्यार्पण गर्न प्रचण्ड पुग्दा अध्यक्ष नेपालसहित समाजवादीका नेताहरूको उपस्थिति र सामूहिक फोटो सेसन । यसले प्रधानमन्त्री प्रचण्डले नेपालको पार्टीलाई पनि सरकारमा सहभागी गराउने वा समर्थन मात्रै भए पनि गराउने प्रयास जारी नै राखेका छैनन् भन्न सक्ने अवस्था छैन ।

​अध्यक्ष नेपालले पनि प्रचण्ड नेतृत्वको सरकारमा नजाने वा सरकारलाई समर्थन नगर्ने भनेर प्रस्ट भनेका छैनन् । सरकारले बनाउने न्युनतम् साझा कार्यक्रमका आधारमा निर्णय गर्न सक्ने अध्यक्ष नेपालसहित सो पार्टीका अधिकांश नेताहरूको अभिव्यक्ति आइरहेको छ ।

‘सहयात्री कमरेड प्रचण्ड आइसकेको, राष्ट्रिय पार्टी बन्न नसकेको, एमालेमा लामो इतिहास र योगदान बनाएको तथा एमाले नेता कार्यकर्ताको समेत सद्भाव रहेकाले माधव कमरेड अब अध्यक्ष ओलीसँग थपक्क मिल्नुको विकल्प छैन’, एमालेका एक पदाधिकारी भन्छन्,‘माधव कमरेडले बदलिएको परिस्थितिमा फरक ढङ्गले नै आत्म मूल्याङ्कन गरे मात्रै पनि पुग्छ ।’

त्यसो त सोमबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथ ग्रहण समारोहमा लामो समयपछि अध्यक्ष ओली र नेपालबीच भएको दोहोरो संवादलाई लिएर पनि कतिपयले दुई नेताबीचको सम्बन्धमा सुधार आउन सक्ने अड्कलबाजी गर्न थालेका छन् ।

​प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा सहभागी हुन शीतलनिवास पुगेका नेताद्वय ओली र नेपाल पूर्वप्रधानमन्त्रीको हैसियतमा एकै लहरको कुर्सीमा सँगसँगै बसेका थिए । त्यहीँ क्रममा उनीहरूबीच छोटो संवाद भएको सार्वजनिक भिडियो र तस्बिरले पनि सङ्केत गर्छ ।

५ पुस ०७७ मा संसद् विघटनपछि तत्कालीन नेकपा विभाजनसँगै एमालेभित्र चर्किएको अन्तर्विरोधको समाधान खोजेर पार्टी विभाजन रोक्न ओली–नेपालबीच ९ वैशाख ०७८ मा एक होटेलमा अन्तिम पटक औपचारिक भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ताले पार्टी विभाजन त रोक्न सकेन नै बरु ९ भदौ ०७८ मा एमाले आफै विभाजित हुन पुग्यो र ओली नेपाल फरक फरक पार्टीमा पुगेका थिए ।

एकता प्रस्ताव तयारी

मङ्सिर ४ को निर्वाचनमा नेपालको पार्टीले प्रतिनिधि सभा सदस्यमा १० सिट जिते पनि समानुपातिकतर्फ ३ प्रतिशत मत कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेको छैन । अझ निर्वाचन परिणामपछि बनेको नयाँ राजनीतिक समीकरणले सहयात्री दल नै छुट्न पुगेपछि समाजवादीका केही नेताहरू पार्टी एकताकै प्रस्ताव लैजाने भित्री तयारीमा जुटेका छन् ।

नेता मुकुन्द न्यौपानेसहितका नेताहरूले त सार्वजनिक रूपमै एमाले र एकीकृत समाजवादी पार्टीबीच एकताको विकल्प नभएको बताइसकेका छन् । त्यसो त अध्यक्ष नेपाल स्वयंले पनि आफू घर न घाटको हुने अवस्थाको स्वमूल्याङ्कन नगर्ने कुरै भएन । ‘उहाँको मुड बुझ्दा ‘सेफ ल्यान्डिङ’को खोजीमा रहेको देखिन्छ’, नेपाल निकट स्रोत भन्छ,‘तर,कमजोरी दुवै पक्षले स्वीकार्न सक्नुपर्छ भन्ने मात्र हो ।’

‘मुकुन्द न्यौपाने, झलनाथ खनाल, बेदुराम भुसाल, जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीलगायतका नेताहरूले पार्टी एकताको प्रस्तावका लागि गृहकार्य नै गरिरहेका छन्’,समाजवादीका एक पदाधिकारी भन्छन्, ‘यो बेलासम्मको हण्डर, ठक्करलाई शिक्षाका रूपमा लिँदै मिल्नुको विकल्प छैन ।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एकतालाई अस्वीकार गर्ने पक्षमा देखिँदैनन् । त्यसो भए एमालेसँग एकताको सम्भावना कति छ त ? रातोपाटीको प्रश्नमा खनाल भन्छन्,‘जे कारणले विद्रोह गरिएको हो, त्यो विद्रोहको औचित्य र आवश्यकता पुष्टि गर्दै, २ वर्षदेखिको हाम्रो यात्राको समीक्षा गर्दै आफ्ना कमीकमजोरीलाई उद्घाटित गर्ने र आजको राष्ट्रिय आवश्यकता अनुसार चल्न सक्नु बुद्धिमानी हुन्छ ।’

त्यस्तै सरकारमा जानेबारे नेता खनाल सरकारले ल्याउने नीति तथा कार्यक्रम र एजेण्डाका आधारमा निर्णय गर्न सक्ने बताउँछन् । ‘अहिलेसम्म उनीहरुले सरकारमा आउन कुनै औपचारिक प्रस्ताव गरेका छैनन्’, खनालले रातोपाटीसँग भने, ‘यदि गरे भने पनि उनीहरुले के कस्तो प्रस्ताव लिएर आउँछन् ? त्यसमा पनि भर पर्छ अनि मात्रै प्रतिक्रिया दिन सकिन्छ ।’

 नेता खनालले आफूहरू यतिकै पद प्राप्त गर्नकै लागि आशक्ति नराख्ने भन्दै त्यतिकै सरकारमा जान नसकिने बताए । ‘एजेण्डा र नीति तथा कार्यक्रमका आधारमा अघि बढ्ने कुरा बेग्लै हुन्छ’, खनालको सरकारप्रति सकारात्मक सङ्केत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप