बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

न्युक्यासलमाथि युनाइटेडको रोमाञ्चक जित

बिहीबार, ०३ जेठ २०८१, ०९ : २२
बिहीबार, ०३ जेठ २०८१

ओल्ड ट्राफोर्ड । रासमस होइलन्डले १० खेलको गोलविहीन यात्रा अन्त्य गर्दा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा न्युक्यासलमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्न सफल भएको छ । 

बुधबारको खेलमा जित हासिल नगरेको भए एरिक टेन हागको टोली पछिल्ला ३४ वर्षमा सबैभन्दा खराब स्थानमा लिग अन्त्य गर्ने थियो । जितपछि भने टोलीले अब अर्को वर्षको यूईएफए कन्फरेन्स लिगमा छनोट हुन सिजनको अन्तिम खेलमा न्युक्यासलको नतिजाभन्दा राम्रो गर्नुपर्ने अवस्था पुगेको छ । 

यद्यपि, आगामी मे २५ मा वेम्ब्लेमा हुने एफए कपको फाइनलमा म्यानचेस्टर सिटीलाई हराए टोली युरोपा लिगका लागि छनोट हुने सम्भावना भने कायम नै रहेको छ ।

खेलको ३१ औँ मिनेटमा कोबी माइनोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै एन्टोनी गोर्डनले न्युक्यासलका लागि बराबरी गोल फर्काए ।

५७ औँ मिनेटमा अमाद डियालोले पुनः युनाइटेडलाई अग्रता दिलाए । ८४ औँ मिनेटमा होइलन्डले टोलीको अग्रता फराकिलो बनाए । सिजनमा उनको यो १५ औँ गोल थियो ।

इन्जुरी समयमा लेविस हलले एक गोल फर्काए पनि टोलीका लागि पुनरागमन गर्न ढिला भइसकेको थियो । जितपछि युनाइटेड ३७ खेलबाट ५७ अङ्कसहित लिगको आठौँ स्थानमा रहेको छ । समान अङ्क भए पनि राम्रो गोल अन्तरको आधारमा न्युक्यासल सातौँ स्थानमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप