शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा ओमिक्रोन बीएफ.७ को त्रास : थप खोप ल्याउँदै सरकार

बिहीबार, १४ पुस २०७९, १३ : ५०
बिहीबार, १४ पुस २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम फरक रूपमा देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ.७ तीव्र रूपमा फैलिएको छ भने अर्को छिमेकी भारतमा पनि बीएफ.७ सङ्क्रमण पुष्टि भइसकेकाले नेपालमा पनि जोखिम रहेको मन्त्रालयले जनाएको छ ।

छिमेकी मुलुकहरूमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा पुष्टि नभए पनि जोखिम रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । चीनमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ.७ फैलिए पनि युरोपिएन राष्ट्रहरुमा तीव्र गतिमा नफैलिएकाले यस्तै हुन्छ भनेर तत्काल बोलिहाल्ने अवस्था नरहेको उनले बताए ।

त्यसैले सङ्क्रामक र घातकताबारे अहिले अध्ययनको विषय रहेको उनको भनाइ छ । बीएफ.७ को सङ्क्रमणले भारतमा कस्तो रुप लिन्छ, त्यही आधारमा नेपालको परिस्थति सिर्जना हुने उनले बताए ।

यद्यपि ओमिक्रोन भेरियन्ट सङ्क्रामक रहने सम्भावना रहेको उनले प्रस्ट पारे । ‘तत्काल यस भेरियन्टको घातकता र जोखिमबारे पूर्वानुमान गर्न सकिँदैन,’ उनले भने, ‘चीनमा संक्रमित भइ अस्पताल भर्ना हुने ज्येष्ठ नागरिकले कोरोनाविरुद्ध खोप नलिएको वा त्यसको प्रभावकारिता बारे प्रश्न उब्जिएको छ ।’

यस्तै, सङ्क्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी भेरियन्ट उत्परिवर्तन भइरहने भएकाले हाल चीनमा तीव्र गतिमा फैलिएको सब–भेरियन्ट बीएफ.७ सङ्क्रामक र जोखिमबारे अध्ययनपछि मात्र भन्न सकिने बताउँछन् ।

डेल्टा भेरियन्ट सङ्क्रामकसँगै घातक हुँदा राष्ट्रले ठुलो क्षति ब्यहोरेको थियो । ओमिक्रोन भेरियन्ट सङ्क्रामक हुँदा कोरोनाविरुद्धको खोप नलगाउनेहरू प्रभावित भएको पाइएको थियो । कोरोना विरुद्धको खोपको प्रभावकारिता क्रमशः कम हुँदै जाने, ओमिक्रोन सङ्क्रामक देखिएकाले सब–भेरियन्ट बीएफ. ७ सङ्क्रमण फैलिन सक्ने उनको आंशका छ ।

उनी भन्छन्, ‘चीनमा तीव्र गतिमा सङ्क्रमण फैलिँदा, सब–भेरियन्ट बीएफ.७ को सङ्क्रमण युरोपियन राष्ट्रमा तीव्र गतिमा फैलिएको छैन ।’

उता सरुवा रोग विशेषज्ञ डा पुनले कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिमा यस सब–भेरियन्ट बिएफ.७ घातक बन्न सक्ने सुनाउँछन् ।

सङ्क्रामक रोग विशेषज्ञ प्रभात अधिकारीका अनुसार ओमिक्रोनको बीए.५ ले आठ जनासम्मलाई सङ्क्रमण गराएको पाइएको छ भने सब–भेरियन्ट बीएफ.७ ले १९ जनासम्मलाई सङ्क्रमण गराएको पाइएको छ । त्यसैले सम्बन्धित निकाय सचेत हुन आवश्यक छ ।

त्यसैले सङ्क्रमण र घातकताबारे अनुमान लगाउन तत्काल नसकिने डा.अधिकारी बताउँछन् । भारतमा सब–भेरियन्ट बीएफ.७ ले कस्तो हर्कत देखाउँछ, त्यसको डेढ दुई महिनापछि त्यही हर्कत नेपालमा पनि देखाउने डा.पुन सुनाउँछन् ।

लक्षित समूहमध्ये ९५.७ प्रतिशतले पूर्ण खोप लगाए पनि तीमध्ये धेरैले खोप लगाएको ६ महिना नाघिसकेको छ । नेपालमामा बुस्टर जोड लगाउने थोरै छन् । जसले गर्दा सब–भेरियन्टको सङ्क्रमणको जोखिम रहने डा. अधिकारी बताउँछन् ।

बुस्टर डोज अनिवार्य लगाऔँ

कोरोनाविरुद्ध खोप लगाएको ६ महिनापछि क्रमशः काम गर्ने क्षमतामा ह्रास आउने गर्छ । नेपालमा कुल जनसङ्ख्यामध्ये दुई करोड २३ लाख २४ हजार ९३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । त्यसमध्ये ठुलो सङ्ख्याले खोप लगाएको ६ महिना÷एक वर्ष नाघिसकेको छ । जसमध्ये बुस्टर डोज लगाउने कम छन् । हालसम्म ७९ लाख ७६ हजार ७७० जनाले बुस्टर डोज लगाएका छन् भने कतिपयले बुस्टर डोज लगाएको पनि एक वर्ष कटिसकेको छ । यसअघि ओमिक्रोन भेरियन्ट सङ्क्रामक हुँदा खोप नलगाउनेहरू प्रभावित भएकाले बुस्टर डोज अनिवार्य लगाउन सरुवा रोग विशेषज्ञहरूको सुझाव छ ।

सङ्क्रमणको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिक, दीर्घरोगी, फ्रन्टलाइनमा खटिनेहरूलाई अनिवार्य रूपमा बुस्टर डोज लगाउन डा. अधिकारी सुझाव दिन्छन् । खोप लगाएको ६ महिनापछि एन्टिबडी कम हुँदै जाने भएकाले सबैलाई अनिवार्य रूपमा बुस्टरडोज लगाउन उनको सुझाव छ ।

२०७८ मा स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा दुवै मात्रा खोप लगाएकामध्ये ८२ प्रतिशत र एक मात्रा लगाएका ५५ प्रतिशत व्यक्तिमा एन्टिबडी पाइएको थियो । खोप लगाएकाहरूको ६ महिनापछि क्रमशः एन्टिबडी घट्दै गएको अध्ययनले देखाएको छ ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् । सङ्क्रमणको जोखिम फरक तरिकाले देखिन सक्ने भएकाले आफूलाई र अरूलाई सुरक्षित राख्न सही तरिकाले मास्क लगाउन, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न, कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्न, खोक्दा या हाँच्छ्युँ गर्दा रुमाल वा कुहिनाको प्रयोग गर्न, हावा आवतजावत हुने स्थानमा बस्न र कोभिड–१९ विरुद्धको खोप लगाउन उनले आग्रह गरे । भारतमा सङ्क्रमण बढ्दै गएको खण्डमा त्यसको प्रभाव स्वतः नेपालमा देखिने उनले बताए ।

सरकारले स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । स्थल र हवाई मार्गका नाकामा हेल्थ डेस्कलाई तयारी अवस्था रहन पनि सरकारले निर्देशन दिएको छ ।

खोप ल्याउँदै सरकार

सरकार गाभीमार्फत ओमिक्रोनको नयाँ भेरियन्टलाई काम गर्ने नयाँ खोप ल्याउने प्रक्रियामा छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले गाभीमार्फत १५ लाख मात्रा नयाँ फाइजर खोप ल्याउन लागिएको जानकारी दिए । आकस्मिक प्रयोगका लागि अनुमति पाए लगत्तै खोप आउने उनको भनाइ छ । यस्तै, सातै प्रदेशमा १० वटा भण्डारण केन्द्रमा भेरोसेल, फाइजर गरी ४९ लाख १४ हजार ९१७ मात्रा रहेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप