बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

प्रहरी अनुसन्धान : जनप्रतिनिधिले यसरी बेच्थे घ्याङफेदीका छोरी–चेली

आइतबार, २३ पुस २०७४, ११ : ०८
आइतबार, २३ पुस २०७४

काठमाडौं– नुवाकोटको दुर्गममध्येमा पर्ने घ्याङफेदी यस्तो गाउँ हो, जहाँबाट सबैभन्दा धेरै छोरीचेली मुम्बई र दिल्लीका कोठीमा बेचिए । एउटा जमाना थियो, घ्याङफेदीमा कसैले आफ्नो घरमा टिनको छाना लगाएमा त्यहाँका गाउँलेहरू गफ गर्थे, ‘फलानाले छोरीलाई बम्बै पठाएछ ।’

अहिले बम्बैको नाम फेरिएर मुम्बई भएको छ, त्यस्तोमा एकजमानामा भारतीय रुपियाँ ‘आईसी’ मात्र चल्ने घ्याङफेदीमा आजकल नेपाली रुपियाँ चल्न थालेको छ ।
सुनबहादुर तामाङ (वर्ष ४९) त्यही घ्याङफेदीका स्थानीय हुन् । उनी २०५४ सालदेखि स्थानीय जनप्रतिनिधि हुन्, जो गएको जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ बाट वडाध्यक्ष पदमा निर्वाचित भए ।

 तर २०५४ सालदेखि जनप्रतिनिधिको हैसियतमा जनताको मनमा बस्न सफल सुनबहादर पुस ५ गते ‘चेलिबेटी बेचविखन’को आरोपमा पक्राउ परे । अहिले उनी महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् ।

कसरी बेच्थे सुनबहादुरले घ्याङफेदीका छोरीचेली ?
हेरौँ दुई उदाहरण 
उदाहरण नम्बर १
: दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी दुर्गम र निकै ठूलो गाउँ हो । त्यस्तोमा काठमाडौँ आएका बेला अथवा नुवाकोट सदरमुकाममा भेटिएका मान्छेलाई चिया पसलमा कुरा गरेर पनि उनी युवती खोज्थे र भारत पठाउँथे ।
माइली दोङ (नाम परिवर्तन) लाई सुनबहादुरले काठमाडौँको एउटा चिया पसलमा फेला परेका थिए । चिया पसलमा भेटिएकी माइलीलाई भारतमा राम्रो तलब आउने जागिर लगाइदिन्छु भन्दै उनले मुम्बई पठाए । ‘यताबाट सुनबहादुरले पठाउँथे, उता बोर्डरमा रिसिभ गर्ने मान्छे छुट्टै हुन्थे’ केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठ भन्छन्, ‘त्यसबापत सुनबहादुरले मानव तस्करहरूसँगबाट पैसा लिन्थे ।’

उदाहरण नम्बर २ : लामो समय अघिदेखि चेलीबेटी बेचविखनको धन्दामा लागेका सुनबहादुरले रातभर जङ्गलको बाटो हिँडाएर पनि युवतीहरूलाई बेच्ने गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।

माओवादी जनयुद्धको समयमा नुवाकोटबाट चेली बेचिनेको सङ्ख्या घटेको थियो । बेचविखन गरेको थाहा पाएमा माओवादीको कारवाहीमा परिने डरले उनले अनेक बहानामा युवतीहरू बेच्ने गरेका थिए ।

विकुमाया तामाङ (नाम परिवर्तन) उमेरले करिब १६–१७ वर्षमा हिँड्दै थिइन् । सुनबहादुरले उनलाई भारतमा जागिर लगाइदिने भन्दै रातभर जङ्गलको बाटो हिँडाएर काठमाडौँ ल्याए । अनि काठमाडौँबाट गाडी चढाएर दिल्ली पठाए ।

नेपाली काङ्ग्रेसबाट दुप्चेश्वर गाउँपालिका–१ को वडा अध्यक्ष जितेका सुनबहादुरले १० वर्ष अघिदेखि चेलीबेटी बेच्ने गरेको उजुरी परेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका प्रवक्ता श्रेष्ठ भन्छन्– ‘केही युवतीहरू २ वर्षअघि, कोही  १० वर्षअघि बेचेको केस पनि आएको छ, हामी अनुसन्धान गरिरहेका छौँ ।’  
सामान्य पढाइलेखाइ भएका सुनबहादुरले पछिल्लो पटक ४ युवती बेचेको उजुरी केन्द्रीय अनुसन्धान ब्युरोमा दर्ता भएको छ । उजुरी अझै बढ्न सक्ने बताइएको छ ।

बाख्रा पालनदेखि बैङ्कको ऋणसम्म
नुवाकोटका युवतीहरूलाई कोकलत्ता, दिल्ली र मुम्बईमा बेच्ने धन्दा गोप्य रूपमा चलाए पनि सुनबहादुरले बाख्रा पालन गरेका थिए । सुनबहादुरको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार उनले घ्याङफेदीमा बाख्रा पालन गर्नका लागि एक करोड बैङ्क लोन लिएका थिए । उनले काङ्ग्रेसको राजनीति, बाख्रा पालन र युवती बेचविखनको धन्दा एकसाथ चलाएका थिए ।

नुवाकोट जिल्ला अदालतमा अर्को छुट्टै मानव बेचविखनको मुद्दा खेपिरहेका सुनबहादुर केही वर्षअघि धरौटीमा रिहा भएका हुन् ।

घ्याङफेदी यस्तो गाउँ हो, जहाँ एनजीओ र आईएनजीओ निषेध गरिएको छ । कसैले चेलीबेटी बेचविखनविरुद्धको कार्यक्रम लिएर गएमा त्यहाँका गाउँलेहरू सबै मिलेर लखेट्ने गरेको नुवाकोटका स्थानीय बताउँछन् ।

काठमाडौँ बसेर सुनबहादुरको ‘चेली बेच्ने धन्दा’मा साथ दिने मङ्गले तामाङलाई पनि प्रहरीले केही दिनअघि मात्रै पक्राउ गरेको छ । ३७ वर्षका मङ्गले तामाङ पनि घ्याङफेदीकै बासिन्दा भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप