पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
सारांश
- पोखरामा पर्यटकहरूको बसाइ अवधि घटाएर करिब ९ दिनमा झारिएको छ, तर पर्यटकको संख्या भने बढ्दो क्रममा छ ।
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रातको समयमा समेत उडान र सडक स्तरोन्नतिले पर्यटक आगमनका लागि अनुकूल वातावरण सिर्जना भएको छ ।
- पोखराले पहिलोपटक आउने पर्यटक, साहसिक गतिविधिमा रुचि राख्ने, धार्मिक र आध्यात्मिक पर्यटकका लागि विभिन्न भ्रमण प्याकेजहरू सार्वजनिक गरेको छ ।
पोखरा । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार गण्डकी भ्रमण गर्ने पर्यटकको बसाइ औसतमा १२ दिन छ । पर्यटनको राजधानी पोखरामा करिब ११ दिन उनीहरूको बसाइ हुने देखाएको छ । सबैभन्दा बढी मनाङमा झन्डै १९ दिन पर्यटकले बिताउने गर्छन् भने गोरखामा कम अर्थात् करिब ५ दिनमात्रै बसोबास हुन्छ ।
तथ्याड्कड्शास्त्री निरञ्जन बमको अध्ययन अनुसार पोखरामा पर्यटकहरूको बसाइ अवधि अझै घटाएर करिब ९ दिनमा झारिदिएका छन् । ट्रेकिङ मार्गहरू समेतलाई जोडेर हेर्दा यो अवधि देखाइए पनि पोखरा सहरमात्र केन्द्रित बसाइ भने ६ दिनको हाराहारीमा रहेको सोही अध्ययनमा भनिएको छ ।
अवधि घटे पनि पर्यटकको सड्ख्या भने पोखरामा बढ्दो क्रममा छ । पर्यटनमा अफ सिजन मानिने अहिलेको समयमा पनि पोखराका होटल र पर्यटकीय क्षेत्रहरू भरिभराउ छन् । खासगरी भारतीय पर्यटकको पोखरा आगमनले उत्साही र गुल्जार छन् पोखरेली व्यवसायी । पोखरामा पर्यटक आगमनका लागि अनुकूल वातावरण सिर्जना हुनुमा हवाई र सडक कनेक्टिभिटीमा भइरहेको सुधारलाई मुख्य मानिएको छ ।
अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रातको समयमा समेत उडान हुन्छ । आँबुखैरेनीदेखि पोखराको सडक स्तरोन्नति लगभग सकिएको छ । पोखरा बुटवल सडकमा पनि सामान्य स्तरोन्नति गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डलर सञ्चितिका लागि आह्वान गरेपछि त्यस देशका नागरिकहरु भारु खर्च गर्न पोखरातिर मोडिएका हुन् । आगामी सेप्टेम्बर २३ देखि फ्लाई दुबईले सुरु गर्न लागेको नियमित उडानले पोखरालाई विश्वका ७६ देश र १४३ अन्तर्राष्ट्रिय विमानस्थलहरूसँग ट्रान्जिटमार्फत सिधै जोड्ने आधार तयार भएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको चासोका कारण अन्तर्राष्ट्रिय हवाई पहुँच बलियो बन्दै गएको पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले बताए । ‘अहिले पोखरा पर्यटनका लागि अनुकूल अवस्थामा छ । हामीले भ्रमण वर्ष घोषणा गरेपछि यसको प्रभाव सबैतिर पुगेको छ,’ उनले भने, ‘संरचना र कनेक्टिभिटीमा पनि हामीले धेरै नै सुधार गरेका छौँ । पोखरा घुम्न आउने पर्यटकलाई अनुकूलता थपिएको छ ।’
यही छेकोमा पर्यटकीय राजधानी पोखराले नयाँ पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेज सार्वजनिक गरेको छ । पोखरा उपत्यका र आसपासका क्षेत्रहरुलाई समेत समेटेर भ्रमण प्याकेज ल्याइएको हो । यद्यपि, यसमा केही सुधार हुने बताइएको छ । पोखराको प्रबर्धन गर्न गठित पोखरा भ्रमण वर्ष समितिले ४ रात ५ दिनका प्याकेजहरुलाई सार्वजनिक गरेको हो । केही प्याकेज त्योभन्दा धेरै बसाइ अवधिका पनि छन् । तर, क्षेत्रगत पर्यटकको आवश्यकता र चाहनालाई मध्यनजर गरेर छुट्टाछुट्टै प्याकेज निर्माण गरिएको भ्रमण वर्ष समितिले जनाएको छ ।
पहिलो पटक आउने पर्यटकमा जोड
प्राथमिकतामा पहिलो पटक आउने पर्यटकलाई राखिएको छ । पहिलो पटक पोखरा आउने पर्यटकहरूलाई लक्षित गरी यो आधारभूत प्याकेज तयार गरिएको छ । यस अन्तर्गत फेवातालमा डुङ्गा सयर, तालबाराही दर्शन, रत्न मन्दिर, कोमागाने पार्क, सराङकोटको सूर्योदय, डेभिज फल, गुप्तेश्वर गुफा, विश्व शान्ति स्तूप, पुम्दीकोटको शिव मूर्ति, पर्वतीय सङ्ग्रहालय र पुरानो बजारको ऐतिहासिक भ्रमण समावेश गरिएको छ । यसमा ४ रात र ५ दिनको अवधि पूरा हुनेछ ।
साहसिक (एड्भेन्चर) प्याकेज
साहसिक गतिविधिमा रुचि राख्ने पर्यटकका लागि यो प्याकेज उत्कृष्ट विकल्प बन्न सक्छ । यसमा सराङकोटदेखि पामेसम्मको प्याराग्लाइडिङ, केबलकार, मेथलाङमा रक क्लाइम्बिङ, हेम्जामा जिपलाइन, ल्वाङ घलेलमा क्यानोनिङ, एटीभी राइड, जाइन्ट स्विङ, माथिल्लो सेतीमा र्याफ्टिङ, अल्ट्रालाइट, हट एयर बेलुन र हर्स राइडिङ जस्ता रोमाञ्चक गतिविधिहरू समावेश छन् ।
भ्यूपोइन्ट र सनराइज प्याकेज
पोखरा फ्रम द बर्ड्स आई नाम दिइएको यस प्याकेजमा पोखराका विभिन्न डाँडा र भ्यूपोइन्टहरूबाट दृश्यावलोकन गराइन्छ । सराङकोट, कहुँडाँडा, माटेपानी गुम्बा, ठुलाकोट, आरखले, टाइगर्स टप र धिकी डाँडाजस्ता स्थानहरूबाट सूर्योदय र हिमशृंखलाको मनोरम दृश्य हेर्ने व्यवस्था यसमा मिलाइएको छ ।
बौद्ध सर्किट प्याकेज
बौद्ध धर्मावलम्बी र ध्यानमा रुचि राख्नेहरूका लागि यो आध्यात्मिक प्याकेज तयार पारिएको छ । यसमा विश्व शान्ति स्तूपमा ध्यान, छोरेपाटनको तिब्बती गुम्बा, कँहारेको पेमा छालिङ गुम्बा, माटेपानी गुम्बा, धर्मशिला बुद्ध विहार र लामागाउँ गुम्बाको भ्रमण र बौद्ध दर्शनको अनुभव समेटिएको छ ।
हिन्दु सर्किट प्याकेज
श्री गणेशाय नमः नाम दिइएको यो धार्मिक प्याकेज अन्तर्गत सराङकोटको पञ्चमुखी गणेश मन्दिर, काशीकोटको विन्ध्यावासिनी र गुप्तकालिका, तालबाराही, केदारेश्वर, पुम्दीकोट महादेव, गुप्तेश्वर, बिरौटाको राम मन्दिर, भद्रकाली, शीतलदेवी, भलामको हरिहर गुफा तथा धाम, गाईघाटमा स्नान, सिद्धबाबा मन्दिर र बेगनासकोट कालिकाको दर्शन गराइनेछ ।
वेलनेस प्याकेज
शारीरिक तथा मानसिक स्फूर्तिका लागि यो प्याकेज तयार पारिएको छ । यसमा सेदीमा साउन्ड बोल मेडिटेसन, विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा प्राकृतिक उपचार र परामर्श, योग साधना, तथा दोबिल्लाको ओशो उपवन र मोनक्रान्ति आश्रममा ध्यानको सत्रहरू समावेश छन् ।
लेखनाथ एक्सकर्सन
सात तालको वाटिका भनेर चिनिने लेखनाथ क्षेत्रलाई प्रवर्धन गर्न यो विशेष प्याकेज ल्याइएको छ । यस अन्तर्गत बेगनास, दिपाङ, रुपा, खास्टे, न्यूरेनी, मैदी र गुँदे तालको भ्रमण, ऐतिहासिक बेगनासकोट, झोलुङ्गे पुल, सुन्दरीडाँडा र माझीकुनाको भ्रमण गराइनेछ ।
यसबाहेक महानगरले फोटोग्राफी एक्स्पिडिसन, बर्ड वाचिङ (चरा अवलोकन), पहाडी भेगमा साइक्लिङ, पर्यावरण सर्किट र विद्यार्थीहरूका लागि शैक्षिक तथा ऐतिहासिक सङ्ग्रहालय भ्रमण प्याकेजहरू पनि अघि सारेको भ्रमण वर्ष समितिका संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए । यसलाई व्यवसायी र जानकारहरुको समेत सुझावका आधारमा अन्तिम रुप दिन लागिएको उनको भनाइ छ । महानगरका आर्थिक विकास समितिका संयोजक समेत रहेका भ्रमण वर्ष समितिका सदस्य सचिव मनहर कडरिया र विज्ञको समूहले यो प्याकेज तयार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण