बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

धान रोपाइँमा किसानकाे लागत बढ्यो

बुधबार, २४ असार २०८३, ०६ : ००
बुधबार, २४ असार २०८३

सारांश

  • मधेसका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन्, तर सिँचाइ र मलखादको समस्यासँगै यो वर्ष जोताइ खर्च बढेका कारण मारमा परेका छन् ।
  • डिजेलको मूल्यवृद्धिसँगै ट्र्याक्टरबाट खेत जोत्ने शुल्क बढेको छ भने गाउँघरमा कामदार अभावले रोपाइँ प्रभावित बनेको छ ।
  • किसानहरूले मल, कीटनाशक विषादी र अन्य कृषि सामग्रीको मूल्यसमेत बढेको तथा आधुनिक कृषि यन्त्र उपकरणको पहुँच नहुँदा मजदुरमा भर पर्नुपरेको बताएका छन् ।

जनकपुरधाम । मधेसका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । धान रोपाइँका लागि सिँचाइ तथा मलखादकाे समस्या त छँदैछ, यो वर्ष जोताइ खर्च बढेका कारण मारमा परेको किसान बताउँछन् ।

डिजेलको मूल्यवृद्धिसँगै ट्र्याक्टरबाट खेत जोत्ने शुल्क बढेको छ भने गाउँघरमा कामदार अभावले रोपाइँ प्रभावित बनेको किसानहरूको गुनासो छ ।

किसानका अनुसार ट्र्याक्टरबाट खेत जोत्न अहिले प्रतिघण्टा २ हजार ५ सय रुपैयाँसम्म तिर्नुपरेको छ । गत वर्ष यही कामका लागि १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म तिर्ने गरेका किसानले यस वर्ष प्रतिघण्टा झन्डै एक हजार रुपैयाँ बढी खर्च गर्न बाध्य भएका हुन् ।

एक साताअघि सरकारले डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाए पनि ट्र्याक्टरबाट खेत जोत्ने शुल्कमा कमी नआएको किसानहरूको गुनासो छ ।

धनुषाको विदेह नगरपालिका–४ का किसान विपिन बिहारी यादवले जोताइ खर्च अत्यधिक बढ्दा धान रोपाइँको लागत गत वर्षभन्दा निकै बढेको बताए । उनका अनुसार धान रोप्ने समयमै ट्र्याक्टरको खर्च महँगो हुँदा किसान आर्थिक रूपमा थप मारमा परेका छन् ।

अधिकांश किसानले गोरु पाल्न छोडेपछि भिरालो जग्गाबाहेक अधिकांश खेत ट्र्याक्टरबाटै जोत्नुपर्ने अवस्था छ । जोताइ खर्चसँगै मल, कीटनाशक विषादी र अन्य कृषि सामग्रीको मूल्यसमेत बढ्दा खेती झन् महँगो बन्दै गएको किसानहरू बताउँछन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका –२३ का विलास साहले खेतका आली–भित्तो खन्न, धानको बेर्ना उखेल्न र रोपाइँ गर्नसमेत कामदार पाउन मुस्किल भएको बताए । उनका अनुसार सबै ठाउँमा एकैसाथ रोपाइँ सुरु भएकाले मजदुरको अभाव झन् चर्किएको छ ।

महोत्तरी गाउँपालिका, पर्साका किसान विवेकानन्द ठाकुरले गाउँका काम गर्ने उमेरका अधिकांश युवा पञ्जाब, दिल्ली, मुम्बई तथा वैदेशिक रोजगारीमा गएकाले खेतबारीमा काम गर्ने जनशक्ति अभाव भएको बताए ।

यस्तै, सर्लाहीको सलेमपुरका किसान गगनदेव झाले मजदुर पाउनै कठिन भएको, पाए पनि ज्याला धेरै माग्ने र समयमा कामसमेत नगर्ने समस्या रहेको गुनासो गरे ।

पूर्वकृषि प्रमुख ठाकुरनारायण ठाकुरका अनुसार सबै किसानको पहुँचमा आधुनिक कृषि यन्त्र–उपकरण पुग्न नसक्दा अझै पनि धेरै किसान मजदुरकै भर पर्न बाध्य छन् । इन्धनको मूल्यवृद्धिका कारण यस वर्ष धानसहित अन्य बालीको उत्पादन लागत स्वाभाविक रूपमा बढेको उनले बताए ।

कृषि उत्पादन लागत लगातार बढ्दै जाँदा र कामदार अभाव चर्किँदै जाँदा किसानहरू थप समस्यामा परेका छन् । कृषि क्षेत्रमा यान्त्रिकीकरण विस्तार, सहज दरमा कृषि सेवा उपलब्ध गराउने तथा श्रम व्यवस्थापनमा प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकता किसानले औँल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप