मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी

मङ्गलबार, २३ असार २०८३, १६ : ०७
मङ्गलबार, २३ असार २०८३

सारांश

  • प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विभिन्न नियुक्तिमा नेपाली सेनाका पूर्वअधिकारीहरूलाई प्राथमिकता दिएको छ ।
  • यसअघि नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य र बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पूर्वसैनिक अधिकारी नियुक्त भएका थिए ।
  • मंगलबार डा. देवेन्द्र खत्रीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्ति दिइएको छ, जो नेपाली सेनाका पूर्वप्राविधिक उपरथी हुन् ।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गर्ने विभिन्न नियुक्तिमा नेपाली सेनाका पूर्वअधिकारीहरू रोजाइमा पर्ने गरेका छन् । 

यसअघिका सरकारले गर्ने नियुक्तिहरूमा नेपाली सेनाका पूर्वअधिकारीहरू  कम मात्रै प्राथमिकतामा पर्ने गरेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको सरकार बनेयता नियुक्तिमा सेनाका पूर्वअधिकारीलाई प्राथमिकता दिइएको छ । 

यसअघि सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पूर्वसैनिक अधिकारीलाई नियुक्ति गरेकोमा प्रश्न उठेको थियो । 

तर, उक्त प्रश्न सेलाउन नपाउँदै मंगलबारमात्र अर्का सैनिक अधिकारीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्ति पाएका छन् । 

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष शाहले डा. देवेन्द्र खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । 

नवनियुक्त उपाध्यक्ष खत्रीलाई शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरेका छन् । 

खत्री नेपाली सेनाका पूर्वप्राविधिक उपरथी हुन् । खत्री २०७७ पुस १५ गते सेवाबाट अवकाश पाएर हाल नेपाली सेनाको मेडिकल कलेजको कार्यकारी निर्देशक पदमा कार्यरत रहेका छन् । उपाध्यक्षमा नियुक्ति पाएपछि खत्रीले कलेजको कार्यकारीबाट राजीनामा दिएका छन् । 

यसअघि सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य पदमा डा. दिपक प्रसाद बाँस्तोलालाई नियुक्त गरेको थियो । 

तर, मुद्दा परेपछि उनको नियुक्ति सर्वोच्चले खारेज गरेको थियो । बास्ताेला पनि नेपाली सेनाका पूर्वउपरथी हुन् ।

त्यस्तै सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पनि पूर्वसैनिक अधिकारी डा.आनन्दसिंह भाट नियुक्त गरेको थियो । पूर्व महासेनानी भाटले नेपाली सेनाबाट २०७६ सालमा अवकाश पाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप