मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने

मङ्गलबार, २३ असार २०८३, १९ : ३७
मङ्गलबार, २३ असार २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दल नेकपा एमालेले खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ।
  • एमालेले सरकारले ल्याएको बजेट प्रदेशको आवश्यकता र प्राथमिकताअनुसार नभएको निष्कर्ष निकालेको छ।
  • खर्च कटौती प्रस्तावका विभिन्न विकल्पमध्ये एमालेले कुन अपनाउने भन्ने निर्णय भने सार्वजनिक गरिएको छैन।

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ दल नेकपा एमालेले प्रदेश सभामा खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ।

मंगलबार आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले बजेटसम्बन्धी विधेयक प्रदेश सभामा पेस गरेपछि बसेको एमाले संसदीय दलको बैठकले मन्त्रालयगत रूपमा खर्च कटौतीको प्रस्ताव अघि बढाउने निर्णय गरेको हो।

एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लका अनुसार दलका नेता राजेन्द्रसिंह रावल, उपनेता सन्तोष शर्मा थापा लगायतका सांसदहरूले सम्बन्धित मन्त्रालयका बजेटमाथि खर्च कटौती प्रस्ताव दर्ता गर्नेछन्।

संसदीय व्यवस्थाअनुसार खर्च कटौती प्रस्तावमा बजेटलाई एक रुपैयाँमा सीमित गर्ने, एक सय रुपैयाँ कायम गर्ने वा निश्चित शीर्षक हटाउने विकल्प हुन्छ। एमालेले कुन विकल्प अपनाउने भन्नेबारे भने निर्णय सार्वजनिक गरेको छैन।

एमालेले सरकारले ल्याएको बजेट प्रदेशको आवश्यकता र प्राथमिकताअनुसार नभएको निष्कर्ष निकालेको जनाएको छ। पार्टीका नेताहरूका अनुसार थप रणनीति तय गर्न केन्द्रीय तहबाट बजेट विज्ञ सुदूरपश्चिम आउने तयारी भइरहेको छ।

प्रदेश सभामा बजेट प्रस्तुत भएको २३ दिनपछि मात्रै बजेटसम्बन्धी विधेयक टेबल भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप