शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अवरुद्ध सदन खुलाउन एमाओवादी अध्यक्ष प्रचण्ड सक्रिय

बिहीबार, २४ मङ्सिर २०७२, १४ : ११
बिहीबार, २४ मङ्सिर २०७२

काठमाडौँ–व्यवस्थापिका–संसद्मा लामो समयदेखि जारी अवरोध खुलाउन एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले सक्रियता देखाएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष प्रचण्डले आज आजको केन्द्रीय समिति बैठकलाई नै स्थगित गर्दै बिहानैदेखि छलफल र भेटघाटलाई तीव्रता दिएका हुन् ।

लामो समयदेखि तराई मधेसमा जारी आन्दोलन, भारतको अघोषित नाकाबन्दी तथा सदन अवरोधका कारण जनताको धारणा औपचारिक रुपमा सदनमा आउन नसकेको सन्दर्भमा आजको बैठक चलाउने ध्येयका साथ उनले भेटघाट तथा छलफललाई निरन्तरता दिएका हुन् ।

अध्यक्ष प्रचण्डले आज बिहानै नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै छलफल गरेका थिए । उनीहरुसँगको भेटमा आज अपराह्न ३ बजे डाकिएको व्यवस्थापिका–संसद्को बैठकलाई सञ्चालन गराउने विषयमा कुराकानी भएको बुझिएको छ ।

यस्तै, अध्यक्ष प्रचण्डले आजै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका छन् । अध्यक्ष थापासँग भेटवार्ता गरेर अध्यक्ष ठाकुरलाई भेट्न अध्यक्ष प्रचण्डको निवास भक्तपुर पुगेका थिए ।

सदनको अवरोध खुलाउने विषयमा उहाँहरुबीच छलफल भएको अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिए । लामो समयदेखि सदनको कारबाहीअवरुद्ध हुँदा भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधन विधेयक अगाडि बढ्न सकेका छैनन् ।

व्यवस्थापिका–संसद्को विधायन समितिले बुधबार मात्रै भूकम्पपछिको पुनःनिर्माण विधेयकलाई पारित गरेको छ । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयकसमेत अगाडि बढ्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप