सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

राजनीतिक संयन्त्र बनाउन मोर्चा सकारात्मक : स्पष्ट कार्यविधि माग

शनिबार, ०२ माघ २०७२, १९ : १४
शनिबार, ०२ माघ २०७२

काठमाडौं – निश्चित समयभित्र सीमांकनको विवाद टुंग्याने गरी राजनीतिक संयन्त्र बनाउने सरकारी प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सकारात्मक देखिएको छ । शनिबार सिंहदरवारमा बसेको सरकारी र मधेसी मोर्चाको कार्यदलको बैठकमा मोर्चाका नेताहरु राजनीतिक संयन्त्र बनाउने विषयमा सकारात्मक देखिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य तथा मन्त्री महेश आचार्यले आजको वार्तामा मधेसी मोर्चा लचकताका साथ प्रस्तुत भएको र वार्ता निकै सकारात्मक बनेको बताए । ‘मधेसी मोर्चा सीमांकन विवाद मिलाउन राजनीतिक संयन्त्र बनाउने विषयमा सकारात्मक देखिएका छन् । पहिले राजनीतिक संयन्त्र नै नमान्ने मोर्चा यसमा सकारात्मक हुन नै ठूलो कुरा हो,’ उनले भने ।

यसअघि बसेको तीन दलको बैठकले माघ पाँच अघि नै सहमति गर्न पाँच बुँदै प्रस्ताव तयार गरेको थियो । पाँचबुँदे प्रस्तावमा सीमांकनबारे निर्णय गर्न राजनीतिक संयन्त्र बनाउने र संयन्त्रले तीन महिना भित्र निर्णय गर्ने उल्लेख छ । सोही प्रस्तावलाई आज कार्यदलको बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकमा मधेसी मोर्चाले राजनीतिक संयन्त्रको कार्यविधि र क्षेत्राधिकार स्पष्ट पार्न माग गरेका थिए । भोलीदेखिको बैठकमा यसै विषयमा छलफल हुने मन्त्री आर्चायले जानकारी दिए । यसअघि रातोपाटीसँग कुरा गर्दै तमलोपाका हृदयेश त्रिपाठीले पनि आफूहरु राजनीतिक संयन्त्रबाट सीमांकन विवाद टुंग्याउन सकारात्मक रहेको तर त्यसबारे सरकारबाट स्पष्ट धारणा आउनुपर्ने बताएका थिए । राजनीतिक संयन्त्र बारे स्पष्ट कार्यविधि नआएसम्म ढुक्क हुने अवस्था नरहेको उनले बताए । कार्यदलको बैठकमा सद्भावना पार्टी पहिलो पटक सहभागी विराटनगरको जोगवनी नाकामा पार्टी अध्यक्ष राजेन्द्र महतो कुटिएपछि सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने घोषणा गरेको सद्भावना पार्टी पहिलो पटक कार्यदलको बैठकमा सहभागी भएको थियो । पार्टीको तर्फबाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण वार्तामा सहभागी भएका थिए । यसअघि बनेको कार्यदलमा संयुक्त लोकतान्त्रिक मोर्चाका बाँकी तीन पार्टीका सदस्य मात्र सहभागी थिए । आजको बैठकमा आफ्ना कुराहरु राखेर कर्ण बैठकसकिन अघि बाहिरिएका थिए । उनले बैठकमा सीमांकन र नागरिकताको प्रावधानको बारेमा कुरा राखेका थिए । उनले अन्तरिम संविधान अनुसार नागरिकताको प्रावधान नयाँ संविधानमा राख्नुपर्नेमा बैठकमा जोड दिएका थिए । अन्तरिम संविधानमा वंशज र जन्मको आधारमा नागरिकता प्राप्त गरेका देशको प्रमुख पदमा बस्न पाउने प्रावधान रहेको छ भने नयाँ संविधानमा वंशजको आधारमा नागरिकता पाएकाहरुले मात्र देशको प्रमुख पदमा बस्न पाउने प्रावधान छ । स्मरण रहोस्, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको वंशजको आधारमा नभएर जन्मको आधारमा नागरिकता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप