फाल्गुनन्द गोल्डकपको उपाधि ताप्लेजुङलाई
फिदिम (पाँचथर) - कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङले फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सातौँ संस्करणको उपाधि उचालेको छ । पूर्वकै चर्चित अन्तर्राष्ट्रिय प्रतियोगिता फाल्गुनन्द गोल्डकपमा पहिलो पटक फाइनलमा पुगेको ताप्लेजुङले घरेलु मैदानमा डिफेन्डिङ च्याम्पियन एवं आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । सनिवार सम्पन्न फाइनल खेलमा खेलको १३ औँ मिनेटमा ताप्लेजुङका लागि रोजिन धिमालले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि पनि निक्कै आक्रामक खेल खेलेको ताप्लेजुङ फिदिमको गोलपोष्टमा निरन्तर गोल गर्ने प्रयास गरेपनि सफल हुन भने सकेन । यस्तै दरिलो रक्षापङ्ती भएका कारण फिदिमले गरेका दर्जन प्रहारहरुले ताप्लेजुङको जाली चुम्न सकेनन् । खेलको सुरुवातमा निक्कै रक्षात्मक बनेको फिदिमले सोही समय गोल खान पुगेको थियो । क्रमश लयमा फर्किए पनि फिदिमले गोल गर्न भने सकेन् । उसका निराजन खड्का, मनिष गुरुङ, धिरज तामाङ लगायतले ताप्लेजुङमाथि निरन्तर आक्रमण गरेपनि गोल गर्न भने सकेनन् । १–० को अन्तरमा खेलको पहिलो हाफ सकिएको थियो । दोस्रो हाफमा भने ताप्लेजुङको प्रहारलाई बाहिर हानेर बचाउने क्रममा फिदिमका नरेश सम्बाहाम्फेले गरेको प्रहार आत्मघाती गोल बन्न पुगेको थियो । नरेशले गोलपोष्ट माथिबाट बाहिर प्रहार गर्न खोजेको खेलले आफ्नै जाली चुमेपछि फिदिम २–० ले पछाडी परेको थियो । अन्तिम समय सम्म निक्कै प्रतिस्पर्धात्मक रहेको खेलमा फिदिमका भिक्टोर अमावीलाई ताप्लेजुङका बिष्णु सुनुवारले ताप्लेजुङको डिबक्स एरियाभित्र लडाएपछि पाएको पेनाल्टीलाई समेत फिदिमले सदुपयोग गर्न सकेन् । ताप्लेजुङका गोल किप्पर रवि थापाको उत्कृष्ट बचावटसँगै उसले फिदिमलाई शान्तवना गोल गर्ने अवसर समेत दिएन् । फिदिमका लागि डिबक्स एरिया नजिकैबाट पाएको फ्रिकिक गोलमा परिणत हुन सकेन् भने निराजन र धिरजले गरेका केही राम्रा प्रहारहरु रोक्न ताप्लेजुङ सफल भयो । यस्तै ताप्लेजुङका सेगुन इथायोले गरेको आकर्षक हेडलाई रोक्न फिदिममा गोलकिप्पर विनय श्रेष्ठ सफल भए । फाइलन खेलमा ताप्लेजुङका रुपेश केसी र विष्णु सुनुवार तथा फिदिमका हेम गुरुङले पहेँलो कार्ड पाएका थिए । उपाधिसगैँ ताप्लेजुङले नगद १ लाख ११ हजार १ सय ११ रुपैँया, कप, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो भने फिदिम उपविजेता बन्दै ५५ हजार ५ सय ५५ रुपैँया नगद, कप, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । फिदिममा आयोजित फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताका अन्य खेलहरु जस्तै फाइनल खेल पनि ए डिभिजन लिग जस्तै देखिन्थ्यो । जिल्लाका विभिन्न स्थानहरु सहित तेह्रथुम, ताप्लेजुङ, इलाम र झापाका दर्शकहरुको बाक्लो उपस्थितिले फिदिम उच्च माविको खेलमैदान खचाखच भरिएको थियो । ताप्लेजुङका लागि थ्रिस्टार क्लबका रोजिन धिमाल, विजय धिमाल, विष्णु सुनुवार र सेगुन इथायो मैदानमा उत्रेका थिए । यस्तै मनाङ मस्र्याङ्दी क्लबका विक्रम लिम्बू, दिपक राई र रुपेश केसी तथा झापा ११ का दिनेश कार्की समेत ताप्लेजुङको टोलीमा सहभागी थिए । यस्तै फिदिमका लागि थ्रि स्टारका निराजन खड्का, भिक्टोर अमाबी, पेटर सेगुन र हेम गुरुङ मैदानमा उत्रेका थिए । यस्तै हिमालयन शेर्पा क्लबका विनय श्रेष्ठ र धिरज तामाङ तथा संकटा क्लबका मनिष गुरुङ पनि फिदिमको टोलीमा थिए । विजेता र उपविजेताका अतिरिक्त विधागत रुपमा पनि उत्कृष्ट खेलाडी, टिम तथा प्रशिक्षकलाई पुरस्कृत गरिएको छ । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी (म्यान अफ दि सिरिज) बन्न ताप्लेजुङका रोजिन धिमाल सफल भए । ४ गोल गर्दै उनी नै हाई स्कोरर पनि बने । यस्तै ताप्लेजुङका गोल किप्पर रवि थापा उत्कृष्ट गोलकिप्पर बने । ताप्लेजुङकै विजय धिमाल उत्कृष्ट डिफेन्स बने भने उत्कृष्ट प्रशिक्षकको उपाधि ताप्लेजुङका टिम प्रशिक्षक विष्णु लिम्बूले जिते । प्रतियोगिताको उत्कृष्ट फरवार्ड फिदिमका धिरज तामाङ घोषित भए भने फिदिमकै पेटर सुगन उत्कृष्ट मिडफिल्डर बन्न सफल भए । काठमाण्डौँको चर्चव्वाईज क्लब प्रतियोगितका फेयरप्ले (अनुशासित) टिम बन्न सफल भयो भने ताप्लेजुङका दिनेश कार्की फाइनल खेलको म्यान अफ दि म्याच बन्न सफल भए । प्रतियोगिताको विजेता उपविजेतासँगै उत्कृष्ट खेलाडी, टिम तथा प्रशिक्षकलाई सांसद भिष्मराज आङ्देम्बे, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रशासनिक सल्लाहकार एवं पूर्वसांसद बसन्तकुमार नेम्वाङ, जिल्ला स्थित राजनीतिक दलका नेताहरु, प्रमूख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, संघ संस्था तथा कार्यालयका प्रमूखहरु लगायतले वितरण गरे । यसैबिच व्यवसायी हरिप्रसाद नेपालले आफ्ना दिवंगत पिता प्रजापति नेपालको स्मृतिमा स्थापना गरेको ‘स्व. प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार’ पत्रकार भीम बाँस्कोटालाई प्रदान गरियो । उक्त पुरस्कारको राशी १० हजार रुपैँया रहेको छ । समाज सुधारक एवं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा यो प्रतियोगिता फिदिम स्पोर्टिङ क्ल फिदिमले अयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण