सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एसएसपी विक्रमसिंह थापाको प्रश्न – ‘म कसरी सन्काहा ?’

शनिबार, ०९ माघ २०७२, १५ : २४
शनिबार, ०९ माघ २०७२

नेपाल अंग्रेज युद्ध चल्दै थियो, सिमानामा थिए ७० बर्षीय अम्मरसिंह थापा । बुढेसकालमा पनि युवा जोशले ओतप्रोत भक्ति थापालाई प्रलोभनमा पार्र्दै बेलायती फौजले एउटा पत्र पठाएको थियो । पत्रको सारमा अंग्रेजसँग सम्झौता गरेमा भारतको एउटा प्रान्तको राजकाज सुम्पने बाचा गरिएको थियो । पत्र पढ्नासाथ भक्ति थापा आगो भए र भने, ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ ।’ त्यसपछि थापाले त्यो पत्र च्यातिदिए, पत्र ल्याउने बेलायती फौजका प्रतिनीधी हेरेको हेर्यै भए । आज दशकौं पछि तिनै अम्मरसिंह  थापासँग थर मिल्ने विक्रम सिंह थापाले उनको भनाईलाई आफ्नो सिरमाथि राखेका छन् । राजधानीको टेकुमा रहेको नेशनल ट्रेडिङ लिमिटेडको भुँइतल्लामा अवस्थीत विक्रम सिंहको कार्यकक्षमा पुग्नासाथ सेतो प्लेटमा लेखिएको राता अक्षर आँखामा ठोक्किहाल्छ, ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ !’ गुल्मीको थापा खान्दानमा जन्मे हुर्केका विक्रम समकालिन प्रहरी अधिकारीहरु मध्ये अलि बढी आक्रामक मानिन्छन् । केही महिनाअघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका विक्रम सिंहले आफ्नो ‘आक्रामक शैली’को परिचय दिइसकेका छन् । रमेश खरेल प्रमुख हुँदा वाहवाही पाएको महानगरीय प्रहरी परिसर काठमाडौं खरेलको सरुवासँगै छायाँमा परेको थियो । खरेलको सरुवापछी काठमाडौंका प्रहरी प्रमुख बनेका उत्तम कार्की दैनिक क्रियाकलापमा मात्र सिमीत भए । उता परिसरसँगै साँध सिमाना जोडिएको ‘महानगरीय प्रहरी अपराध महाशाखा’ सँधै चर्चाको सिखरमा रहन्थ्यो । पुष्कर कार्की युएन मिसनमा गएसँगै महाशाखा प्रमुख बनेका सर्वेन्द्र खनालले अपराध महाशाखालाई अर्को उचाईमा पुर्याए । त्यतिन्जेल परिसर प्रमुख उत्तम कार्की अपराध महाशाखाले पठाएका फाईलहरु उपर मुद्दा चलाएर मात्रै बसिरहे । तिनै उत्तमको कुर्सीमा विक्रम सिंह थापा आएसँगै काठमाडौंको प्रहरी अचानक जुर्मुराएको छ । नयाँ एसएसपीको आगमनसँगै परिसरले भटाभट ठूल–ठूला अपराध उपर कारवाही थाल्नुमा विक्रम सिंहको आक्रामक स्वभाव र शैलीले पनी भूमिका खेलेको एक उच्च प्रहरी अधिकारीले बताए । प्ररिसर प्रमुख बन्नुअघि पनि विक्रमको काम गर्ने शैली उही थियो, फरक यत्ति थियो उनी आकर्षक ठाउँमा थिएनन् । मानव अधिकारवादीको पुस्तक फाल्दै विक्रमले भने, ‘तपाईलाई थुन्दिउँ’ २०५५ सालमा विक्रम सिन्धुलीको डिएसपी थिए । एकदिन इन्सेकको जिल्ला प्रतिनीधी ‘मानवअधिकार बर्ष पुस्तक’ खामबन्दी गरेर डिएसपी कार्यालय पुगेछन् । ईन्सेकले निकालेको बर्ष पुस्तक हात पार्नासाथ बिक्रमले आफू कार्यरत जिल्लामा भएका मानव अधिकार उल्लंघनका घटनातिर आँखा दौडाए । डिएसपी आफैं उपस्थित भएको ठाउँमा समेत मानव अधिकार उल्लंघन भएको प्रसंग पढ्नासाथ विक्रम सिंहले मानवअधिकार बर्ष पुस्तक आफ्नो चेम्बरको पल्लो कुनामा पुग्नेगरी फालिदिए । उनले पुस्तक मात्रै फालेनन्, इन्सेकका तत्कालिन जिल्ला प्रतिनीधी आनन्द दाहाललाई चोरऔला ठड्याउँदै भने, ‘तपाईलाई थुन्दिउँ ।’ त्यसपछि दाहाल चुपचाप बाहिरिए । यो घट्नापछी विक्रमलाई धेरैले ‘सन्काहा डिएसपी’ भन्न थाले । शुक्रवार महानगरीय प्रहरी परिसरमा ‘तपाईलाई सन्की स्वभाको एसएसपी भन्छन् नि ?’ भन्नसाथ विक्रमले आफ्नो टेवलको घर्रामा रहेको धारा तेल देखाउँदै भने, ‘एक सय तीस रुपैयाँ मुल्यको खानेतेललाई दुई सय तिसको ट्याग लगाएर बेच्ने कालाबजारीलाई पक्राउ गर्द म कसरी सन्काहा भए ?’ विक्रम यत्तिमै रोकिएनन् । ‘मिटर घुमाएर ब्याच चढाउने रेखा शाहलाई पक्राउ गर्दा म कसरी सन्काहा भएँ ? बर्षौँ देखि अनधिकृत रुपमा सञ्चालन गरिएको फुटसल बन्द गराउँदा म कसरी सन्काहा भएँ ? के फुटसलले राज्यलाई कर तिर्नुपर्दैन ?’ तीन महिनामा काठमाडौंमा तहल्का ! विक्रम सिंह काठमाडौंको प्रहरी प्रमुख भएको तीन महिना पूरा भयो । चौँथो महिनामा हिँडिरहेका विक्रमले चालेका केही पाईलाहरुले काठमाडौंमा तरंग ल्याईसकेको छ । औलामा गन्दा तीन चार नम्बरमा पर्ने नेपालको धनी मध्येको ब्यापारीक घराना ‘दुगड ग्रुप’ले कालोबजारी गरेको भन्दै विक्रमले दुगडको गोदाम मात्रै सिल गरेनन्, बजार प्रवन्धकसहित दुईजना बिरुद्ध कालोबजारीको मुद्दा चलाईदिए । दुगड ग्रुपका जिम्मेवार पदमा रहेर काम गर्दै आएका दुई जनालाई पक्राउ गरेसँगै उनीहरुलाई छुटाउन विक्रमले धेरै दवावको सामना गर्नुपर्यो । तर उनी टसमस भएनन् । ‘दुगडले काठमाडौंका धेरैकोे पेट भरिदिएका थिए’ विक्रम भन्छन्, ‘शक्तिकेन्द्रको पेट भरेर जनता ठग्नेलाई जेल पठाएपछि अहिले कालोबजारी धेरै हदसम्म नियन्त्रणमा आएको छ ।’ गायिका रेखा शाह पक्राउ परेको घट्नाले नेपाली गीत संगीत क्षेत्र मात्रै हल्लिएन्, राजधानीका सडक गल्लीमा विक्रमको ‘सन्की शैली’ बारे चर्चा हुन थाल्यो । रेखा शाहले चर्को ब्याजमा लगानी गरेको उजुरी परेपछि विक्रमले उनलाई कार्यालयमा बोलाएका थिए । कार्यालयमा हाजिर भएकी शाह र उनको श्रिमानलाई विक्रमले हिरासतमा राख्न आदेश दिए । गायिका शाहले थापासँग चोरऔँला ठड्याएर कुरा गरेपछी उनी फक्राउ परेको हल्ला काठमाडौंभर फैलीयो । ‘त्यसरी चर्को कुरा गरेको भरमा कसैलाई थुन्न मिल्छ ?’ प्रतिप्रश्न गर्दै विक्रम भन्छन्, ‘मेरोे कर्यकक्षमा आएर कत्ति मान्छे पाखुरा सर्कँदै उफ्रिन्छन्, सबैलाई कहाँ थुनेको छु ?’ विजुलीले मिटर घुमाएजस्तै ‘ब्याजको मिटर घुमाएको’ आरोपमा रेखा शाह र उनका श्रीमान् विक्रम सिंहको फन्दामा परे । ‘उनीसँग मेरो न प्रतिस्पर्धा थियो न रिस राग ?’ विक्रम भन्छन्, ‘मिटर घुमाएर चर्को ब्याज असुली गरेको प्रमाण फेला परेपछि प्रहरीले छाड्न मिल्दैन ।’ रेखा शाहलाई थुनेको केही दिनपछि काठमाडौं मातहका सवै प्रहरीवृतको सेटमा विक्रमको सन्देश आयो, ‘आ–आफ्नो एरियाका फुटसलहरु तत्काल सिल गर्दिनु ।’ अचानक परिसर प्रमुखबाट यस्तो सन्देश आएपछि काठमाडौंका डिएसपीहरु आफ्नो एरियमा पर्ने फुटसल बन्द गराउन तिर लागे । युवाहरुमाझ लोकप्रिय बनेको फुटसल अचानक बन्द भएको समाचार हावासरी फैलिएपछि काठमाडौंमा हंगामा मच्चियो । बानेश्वरको एभरेष्ट होटल नजिकै चिया पसलमा एकजना युवाले आश्यचर्य मान्दै आफ्ना साथीभाईमाझ सोधे, ‘होइन काठमाडौंको नयाँ एसएसपीले के गर्न खोज्या हो ?’ यसरी चोक र गल्लीका चिया पसलदेखि मदिरा भट्टीमा समेत एकाएक विक्रम सिंहको चर्चा हुन थाल्यो । फुटसल बन्द गराएको चर्चा सेलाउन पाएकै थिएन । स्वयंभु एरियाबाट गुण्डा नाईके ‘बाघे’ विक्रम सिंहको पञ्जामा परे । बाघेलाई खोरमा हालेको कुरा एकाएक मिडियामा आयो, काठमाडौंमा अर्को तरंग गयो । विक्रम ‘बाघे तरंग’को पछी लागेनन्, बरु एउटा कुशल कमाण्डरले जे गनुपथ्र्यो त्यही गरिरहे । चुल्ठेमुन्द्रे लखेट्नेदेखि तिनाउको दोहन रोक्नेसम्म विक्रमसिंह थापा महानगरीय प्रहरी वृत गौशलाको डिएसपी हुँदा त्यो एरियाका चुल्ठे मुन्द्रे हायल कायल भएका थिए । एकपटक गौशलाबाट लामो कपाल भएका केटाहरु लखेट्दै विक्रम घट्टेकुलो सम्म पुगेका थिए । त्यतिबेला विक्रमले घट्टेकुलो पुगेर चुल्ठो पालेका केटाहरुको कपाल काटेको चर्चा अझै सेलाएको छैन । विक्रम बुटवलमा छँदा तिनाउ नदीको दोहन रोक्न रुपन्देहीका सिडीओसँग पंगा खेलेका थिए । सिडीओ तिनाउको किनार दोहन गर्नेलाई जोगाउन चाहन्थे, विक्रम तत्काल पक्राउ गरेर मुद्दा चलाउन चाहन्थे । आखिर विक्रमले चाहेको काम नगरी छाडेनन्, तिनाउ नदीको दोहन रोकियो । आजपनि वुटवल छँदाको घटना संझदै उनी भन्छन्, ‘सिडिओसित पंगा खेलेर तिनाउ नदिएको दोहन रोक्दा विक्रमसिंह कसरी सन्काहा भयो ?’ विक्रम बाँके जिल्लाको   प्रमुख हुँदा भूमिगत समुहहरुको विगविगी थियो । त्यतिवेला चर्चामा थिए ‘भगत सिंह ।’ ठीक त्यहि बेला विक्रमले घोषणा गरिदिए ‘अब नेपालगंजमा  कि भगत सिंह छैन, कि विक्रम सिंह !’ आखिर विरगञ्जमा विक्रम सिंह रहे, भगत सिंह रहेनन् । आज भगतसिंह कता पुगे थाहा छैन, विक्रमसिंह अपराध रोक्ने लडाईको मोर्चा सम्हाल्दै छन् । ड्युटिवालहरु हाई अलर्ट ! गत साता विक्रमसिंह अफिसबाट घरतिर जाँदै थिए । शान्तिनगर पुगेपछी सडक जाम भयो । असईको कमाण्डमा शान्तिनगर गेटमा रहेका प्रहरी जवानहरु हतार–हतार जाम खुलाउन लागिपरे । जाम खुलाएर विक्रमसिंहको गाडी अगाडी बढेपछि बल्ल उनिहरुले सन्तोषको श्वास लिए । ड्युटिमा रहेका असई भन्दै थिए, ‘विक्रम सा’व आउँदा विशेष चनाखो हुनुपर्छ, जाम भएको बेला गफ गरेर बसेको देखेमा गाडीबाट ओर्लेर चड्कन हान्न बेर छैन ।’ आजभोली काठमाडौंमा कार्यरत प्रहरी जवानदेखी अधिकृतसम्मका प्रहरीहरु हाई अलर्ट हुन्छन् । ड्युटीमा खेलाँची गर्नेलाई हकार्ने मात्र हैन, चड्कन हान्न समेत पछी नपर्ने विक्रम सिंहको स्वभाव आफुलाई मन परेको बताउँछन् जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृत । भन्छन्, ‘उहाँको आक्रामक शैली मलाई ठिक लाग्छ, हाकिम आक्रामक नभए मातहतका कर्मचारीले कामै गर्दैनन् ।’ (तस्बिर ः बिजु महर्जन)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप