इँटाभट्टामा बालमजदुरको ‘क्याराभान’ : भूकम्पपछि भट्टामा भविष्य खोज्दै निरा र सन्दीप
स्याउले सिन्धुपाल्चोककी ३५ वर्षीया निरा तामाङ गएको शनिवार भक्तपुरको एसजे इँटाभट्टामा भेटिइन् । इँटाभट्टामा कार्यरत सबै हाँसीखुसी देखिन्थे । तर, तामाङको अनुहार मलिन देखिन्थ्यो । उनीसँगै १० वर्षीय छोरा सन्दीप पनि थिए । गोरखा भूकम्पले श्रीमान् र घरसमेत गुमाएकी तामाङलाई आफ्नो भन्ने कोही र केही नभएको सुनाइन् । केही समय भत्केको घरको काठपातबाट गोठ बनाएर बसें । भनिन्, ‘कत्ति गर्दा पनि मन बुझाउन गाह्रो भएपछि दुई छोरा लिएर काठमाडौं पसें ।’ ‘श्रीमान्ले बाहिरफेर गएर कमाएर ल्याएको पैसाजति घर बनाउँदै सकियो,’ उनले दुःखेसो पोखिन्, ‘भूकम्पले घरमात्रै भत्काएको भए त चित्त बुझाउन सकिन्थ्यो तर त्यही घरले श्रीमान्लाई कहिल्यै नउठ्नेगरी थिचिदियो ।’ इँटा बनाउँदै उनले गोरखा भूकम्पको पीडा खोतलिन्, ‘सरकारी राहतको आसमा केही समय बिताएँ । तर, सरकारी राहत सासूससुरा र जेठाजुले मात्रै पाए । मैले पाइनँ । बुझ्दा गाविससचिवले नागरिकता र विवाह दर्तासमेत नभएकालाई सरकारी राहत दिन मिल्दैन भनें ।’ गएको साउनमा १० वर्षीया र १८ महिनाका छोरा च्यापेर काठमाडौं पसेकी निरा केही समय आफन्तकहाँ आश्रय लिइन् । आफन्तकहाँ सधैं आश्रय लिने कुरा भएन अनि इँटाभट्टामा काम गर्न थालिन् । ‘जति ठूलो पीडा भए विष पिएर पिएर मर्न सकिँदैन रहेछ,’ उनले तीतो पोखिन, ‘मर्नुभन्दा बौलाउनु निको रहेछ ।’ उनी बिहान झिसमिसेमै इँटाभट्टा पुग्छिन् । उनले काममा लागेदेखि घर फर्कने समयसम्म एक हजारसम्म इँटा बनाउने गर्छिन् । इँटा बनाउन उनलाई जेठो छोरा सन्दीपले समेत सघाउँछन् ।
सारा पीडा बिर्सेर काममा जोतिएकी उनी भन्छिन्, ‘इँटाभट्टामा १२ घन्टा जोतिनुको एउटै सपना छ, काम गरेर हात लागेको पारिश्रमिकले गाउँमै घर बनाउँछु ।’ इँटाभट्टानजिकै काँचा इँटाबाट निर्मित छाप्रामा दुई छोरासाथ बस्दै आएकी उनले दैनिक करिब एक हजार रुपैयाँसम्म कमाउँछिन् । सरकारले भूकम्पपीडितलाई घर बनाइदिने भनेर निराले पनि सुनेकी रहेछिन् । तर, सरकारले अहिलेसम्म घर बनाइदिएका छैनन् । सरकारले घर नबनाइदिए पनि वर्ष दिनभित्र आफैंले घर बनाउने सोच बनाएकी छन् । वर्ष दिनभित्र घर बनाउँछु भनेर भनिरहँदा उज्यालो देखिएको निराको अनुहार एकाएक मलिन भयो । कारण बुझ्दा स्याउलेको सरकारी विद्यालयमा कक्षा तीन अध्ययनरत सन्दीपको पढाइ छुटेको थियो ।
इँटाभट्टामा बालबालिका ‘क्याराभान’ एसजे इँटाभट्टामै भेटिए– दर्बाङ रोल्पाका १५ वर्षीय रेशम ओली । ओली पढाइ छाडेर चार महिनाअघि गाउँका काका पर्नेसँग यहाँ आइपुगेका हुन् । आमा, दुई भाइ र एक बहिनीलाई छाडेर उनी इँटाभट्टामा काम गर्न बाध्य छन् । घरको आर्थिक अवस्था दयनीय भएका रोल्पा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ र दाङका बालबालिका एसजे इँटाभट्टामा कार्यरत छन् । उनीहरू गरिबी, घरेलु हिंसा र कतिपयचाहिँ साथीको लहैलहैमा लागेर इँटाभट्टासम्म आइपुगेको बताउँछन् ।
पछिल्लो समय इँटाभट्टामा कार्यरत बालबालिकाको संख्या केही मात्रामा घटेको बताइन्छ । इँटाभट्टाका बालश्रमिकका समस्या सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भए पनि सरकार र बालबालिकासम्बन्धी काम गर्ने संघ–संस्थाले वास्ता गरेका छैनन् । इँटाभट्टामा कार्यरत बालबालिकाको भविष्य अनिश्चित इँटाभट्टामा कार्यरत कतिपय परिवार घरका ताल्चा लगाएर यता आएका छन् । आर्थिक अवस्था कमजोर भएपछि कमाउनका लागि सबै इँटाभट्टको शरणमा पुगेपछि विद्यालय जाने उमेरका बालबालिकाको भविष्य अनिश्चित हुने नै भयो ।
इँटाभट्टामा काम गर्नेहरू सालिन्दा मंसिरदेखि वैशाख अन्तिमसम्म इँटा बनाउने गर्छन् । त्यसपछि सबै घर फन्र्छन् । त्यतिन्जेलसम्म बालबालिकाको पढाइ छुट्छ । कतिपय विद्यार्थी परीक्षा दिनमात्रै विद्यालय जाने गर्छन् । अनि कसरी प्रगति होला ? इँटाभट्टामै भेटिएकी पकरबास, रामेछापकी ४१ वर्षीय शान्ता श्रेष्ठको पीडा झन् चर्को छ । श्रेष्ठले भनिन्, ‘गाउँमा पाँच/सात रोपनी बारी छ । त्यहाँबाट उत्पादित उब्जनीले तीन महिनाभन्दा बढी खान पुग्दैन । इँटाभट्टामा काम नगरेर गर्ने ।’ इँटाभट्टामा भारतीय बालबालिकासमेत काम गर्छन् । इँटाभट्टामा काम गर्ने बालमजदुर अन्त्य गर्ने सरकारी निर्णय कागजमै सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण