आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
काठमाडौँ । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिको उपचारका लागि ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० लाख रुपियाँ खर्च गर्ने भएको छ ।
यसमध्येको २७ लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपियाँ उद्धार गरिएका व्यक्ति आवश्यक सबैको स्वास्थ्योपचारका लागि खर्च हुनेछ । यसका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइएडीपीका देशीय निर्देशक कविर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौता अवसरमा आइडीपीका देशीय निर्देशक खड्गीले मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई शिक्षा कार्यक्रम अन्तर्गत पहिलो किस्ताको १० लाख ८० हजार रुपियाँ र स्वास्थ्य कार्यक्रम अन्तरगतको १० लाख ४० हजार रुपियाँ गरी २१ लाख २० हजार रुपियाँको चेक हस्तान्तरण गरे ।
सम्झौता अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, काठमाडौँलाई मानवीयतामा आधारित सहर निर्माण गर्ने क्रममा निजी क्षेत्रको सहभागिता बढेसँगै लक्ष्य नतिजा उन्मुख बन्दै गएको बताइन् । सामाजिक समितिका संयोजक केसीले, संस्थागत सामाजिक उत्तरदायित्वको यो कार्यक्रमले निजी क्षेत्रको उचाइ बढाएको बताए ।
आइडीपीका कन्ट्री डाइरेक्टर खड्गीले, पहिलो वर्षको प्रभाव मूल्याङ्कन गरेर सहयोगलाई निरन्तरता दिइने बताए। यस्तै आश्रमका अध्यक्ष अधिकारीले, जुन उद्देश्यका लागि सहयोग प्राप्त भएको हो । त्यही लक्ष्यमा मात्र खर्च गर्ने सुनिश्चितता प्रकट गरे ।
आइडीपीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च गरिने यस कार्यक्रमको निगरानी काठमाडौँ महानगरपालिकाले गर्नेछ । आश्रमले कार्यक्रम कार्यान्वयन गर्नेछ । विपन्न, अशक्त, घरबारविहीन, शारीरिक रूपमा कमजोर व्यक्तिको स्वास्थ्य र शिक्षामा सहयोग गर्नु सम्झौताको उद्देश्य हो ।
कार्यक्रमअन्तर्गत मानव सेवा आश्रमको हेरचाहमा विद्यालय जाने बालबालिका लागि विद्यालयको शुल्क, पोशाक, सिकाइ सामग्री र शिक्षामा निर्बाध पहुँचका लागि आवश्यक अन्य आवश्यक सहयोग गरेर सिकाइ र नतिजा सुधारका लागि रकम खर्च हुनेछ ।
आश्रमले अहिले बुटबल, हेटौँडा र गोरखामा बाल गृह सञ्चालन गरेको छ । यसरी सञ्चालित आश्रममा ९१ बालक, ६४ बालिका गरी १५५ जना बालबालिका आश्रित छन् । उनीहरुमध्ये १२० कजना बालबालिका विद्यालय जान योग्य छन् । उनीहरु निजी र सामुदायिक दुवै प्रकारका विद्यालयमा अध्ययनरत छन्। ३५ जनामा वौद्धिक अपाङ्गतासहित विभिन्न प्रकारको अपाङ्गता भएकाले आश्रममै हेरचाह गर्नु पर्ने अवस्था छ ।
स्वास्थ्य कार्यक्रम अन्तर्गत उद्धार तथा पुनःस्थापनाका गरिने सबै प्रकारका व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यको उपचार तथा औषधि प्रदान गर्नमा खर्च गरिनेछ । यसबाट दीर्घ रोग भएका, मानसिक स्वास्थ्य अवस्था कमजोर भएका, उमेरसँग सम्बन्धित रोगको उपचार गरेर असहाय, बेसहारा व्यक्तिको स्वास्थ्यमा पहुँच वृद्धि गरिने लक्ष्य राखिएको छ ।
काठमाडौँका सडकबाट उद्धार गरिएका व्यक्तिलाई विभिन्न सात वटा शाखामा राख्ने गरिएको छ । यी शाखामा १७६ महिला, ३२३ पुरुष र छ जना बालबालिका गरी ५०५ जना व्यक्ति आश्रित छन् । आश्रितमध्ये २२१ रानीवन शाखामा, २३ होल्डिङ् सेन्टरमा, ८२ स्क्रिनिङ सेन्टरमा, ४२ धुनीबेँसीमा, ५० सामाखुशीमा, ४५ ललितपुरमा र ४२ जना भक्तपुरमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण