शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की

‘अध्यक्ष ओलीसँग मेरो सम्बन्ध बिग्रिएको हल्ला पूर्णतः काल्पनिक हो’
शुक्रबार, ०१ साउन २०८३, १५ : १४
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार ढले प्रदेशसभा विघटनको संवैधानिक र कानुनी बाटो रहेको बताएका छन् ।
  • मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस सरकारबाट बाहिरिने चर्चा भए पनि हालसम्म त्यस्तो निर्णय नभएको र केन्द्रको निर्देशन आएपछि कांग्रेसले सोहीअनुसार गर्ने बताए ।
  • उनले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएको भन्ने कुरालाई काल्पनिक भन्दै पार्टीभित्र कुनै लबिङ नगरेको स्पष्ट पारेका छन् ।

विराटनगर। कोशी प्रदेशको राजनीति फेरि एकपटक तरङ्गित भएको छ । प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने चर्चा चुलिएको छ, तर कोशी प्रदेशको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बनेको हुनाले यहाँ नयाँ सरकार गठनको प्रक्रिया निकै जटिल छ ।

यही राजनीतिक अन्योल, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको भनिएको सम्बन्ध र प्रदेशसभा विघटनको जोखिम लगायतका समसामयिक विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, मुख्यमन्त्री कार्कीसँगको कुराकानीको सम्पादित अंशः

कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिँदैछ भन्ने चर्चा छ । सुदूरपश्चिम र कर्णालीमा जस्तै कोशीमा पनि सरकार फेरबदल हुन लागेको हो ?

सुदूरपश्चिम र कर्णाली प्रदेशमा मन्त्रीहरूलाई बाहिर राखिएको र त्यहाँ नेतृत्व परिवर्तनका कुराहरू भइसकेपछि नेपाली कांग्रेसभित्र अलिकति समस्या उत्पन्न भएको पक्कै हो, तर जहाँसम्म कोशी प्रदेशको कुरा छ, हाम्रो यहाँ कांग्रेस र एमालेबिच कुनै पनि असमझदारी र असहमति छैन ।

कोशीमा नेपाली कांग्रेससँग हाम्रो सम्बन्ध सुमधुर नै छ, तर केन्द्रबाटै सरकार छोड्न निर्देशन आएको कुरा मिडियामा आइरहेको छ । उहाँहरू (कांग्रेस) ले के गर्ने भन्ने विषयमा हामीसँग छलफल गरिरहनुभएको छ । केन्द्रको निर्देशन आएपछि उहाँहरू पनि मान्न बाध्य हुनुहुन्छ । आज बिहानसम्मको कुराकानीमा उहाँहरूले राजीनामा दिइहाल्ने स्थिति छैन । माथिको राजनीतिक स्पष्टता नहुन्जेलसम्म के हुन्छ भन्ने कुरा छलफलकै क्रममा छ ।

तपाईं नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हो । यदि कांग्रेसले समर्थन फिर्ता लियो भने नयाँ समीकरण बन्दा कस्तो जटिलता आउँछ ?

हो, हाम्रो सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हुनाले यसका केही अलग ‘कम्प्लिकेसन’ छन् । यसको निराकरण भनेको कि त सामान्य अवस्थामा चुनाव (मध्यावधि) मा जाने हो, कि त नेतृत्व परिवर्तनका लागि विधि र प्रक्रिया पुर्‍याएर अगाडि बढ्ने हो । म यी दुवै कुरामा तयार छु । दलगत हिसाबले दुई ठुला दल (एमाले र कांग्रेस) ले सल्लाह गरेर एउटा निष्कर्षमा पुग्दा जे हुन्छ, म त्यो मान्न तयार छु । अहिले नै एक्कासि राजीनामा दिएर हिँडिहाल्ने भन्ने कुरा हुँदैन । खाली ठाउँमा छोडेर जाने कुरा भएन, विधिपूर्वक अगाडि बढ्ने मेरो मान्यता हो ।

यदि यो सरकार विघटन भयो भने प्रदेशसभा विघटन हुने अवस्था सम्म पुग्छ भन्न खोज्नुभएको हो ?

हो, यो सरकार ढल्यो भने प्रदेश सभा विघटन हुन सक्ने संवैधानिक र कानुनी बाटो तथा अधिकार छ, तर म एक्लैले स्वेच्छाचारी ढंगले त्यस्तो निर्णय लिन्नँ । म मुख्यमन्त्रीको हैसियतमा अधिकार प्राप्त भए पनि समग्र सल्लाह गरेरमात्रै अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु । म सामान्यतया समझदारी, सहमति र सहकार्यका साथ विधिपूर्वक अगाडि बढ्ने स्वभावको मान्छे हुँ र मेरो अडान पनि त्यही हो ।

मिडियामा एउटा चर्चा निकै सुनिन्छ । तपाईंलाई हटाउन कांग्रेसका सांसदहरूसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कुरा गर्नुभयो र तपाईंहरू बिचको सम्बन्ध निकै चिसिएको छ । खास कुरा के हो ? अध्यक्ष ओली तपाईंसँग किन रिसाउनु भयो ?

मैले मेरो पार्टीको अध्यक्षलाई धेरै नजिकबाट चिनेको छु र उहाँसँगै रहेर काम गरेको छु । त्यसैले मिडियामा लेखिएका यस्ता कुरामा मलाई पटक्कै विश्वास छैन । यो पूर्णतया काल्पनिक कुरा हो । कमरेड केपी शर्मा ओली विधि, पद्धति, प्रक्रिया र राजनीतिक क्षेत्रमा एउटा सक्षम र धेरै पारङ्गत नेता हुनुहुन्छ । उहाँले त्यस्ता कुरा गर्नुभयो भन्ने मलाई रत्तिभर विश्वास छैन । यो कसरी र किन लेखियो, म आफैँ आश्चर्यमा छु ।

एमालेभित्र पार्टी पुनर्गठन वा नेतृत्व परिवर्तनको बहस चलिरहँदा तपाईंले अध्यक्ष ओलीको विरोधी पक्षमा लबिङ गर्नुभएको कारण उहाँ असन्तुष्ट हुनुहुन्छ रे नि ?

मैले त्यस्तो कुनै लबिङ गरेकै छैन । उहाँ (अध्यक्ष) ले थाहा पाउने कुरै भएन । हाम्रो पार्टीको जेठ ४ गतेदेखि प्रारम्भ भएर १० गते टुङ्गिएको सचिवालय बैठकले पार्टीको निर्वाचन समीक्षासहित देशव्यापी राय सुझाव सङ्कलन गर्ने र त्यसको निष्कर्षका आधारमा पार्टीलाई अगाडि बढाउने कार्यदिशा तय गरेको छ । यो विषयमा हामी (पार्टी पंक्ति) सबै एकमत छौँ ।

कोशी प्रदेशमा बजेट पारित गर्ने बेलामा पनि एमाले र कांग्रेसभित्रै केही आन्तरिक समस्या र असन्तुष्टि देखिएको थियो । त्यसको असर अहिलेको परिस्थितिमा परेको त होइन ?

होइन, त्यो कुरा सकियो । बजेटका बेला भएका आन्तरिक समस्याहरूको समाधान भइसकेको छ । अहिलेको परिस्थितिमा त्यसको कुनै असर छैन ।

अन्त्यमा, कोशी प्रदेशमा ६ पटक सरकार परिवर्तन भयो । १८औँ पटकसम्म मन्त्रीहरू थपिने र हटाउने भयो । अहिले फेरि सरकार परिवर्तनको कुरा आइरहेको छ । यस्ता कुराले जनतामा कस्तो सन्देश गइरहेको छ ?

यस्ता गतिविधिले बिल्कुल नराम्रो सन्देश गएको छ । यो कुरामा कोशी प्रदेशका एमाले, नेपाली कांग्रेस र नेकपालगायतका प्रदेश सभा भित्रका सबै जिम्मेवार नेताहरू गम्भीर छौँ । हामी नेतृत्व फेरिरहने, मन्त्री फेरिरहने र प्रदेशलाई अस्थिर बनाइराख्ने पक्षमा छैनौँ । हामी राजनीतिक स्थिरताकै पक्षमा छौँ।

तपाईंले आफ्नो सरकार ढल्ने अवस्थामा जोगाउनका लागि कांग्रेस बाहेकका दलसँग पनि छलफल चलाइरहनु भएको छ ?

राजनीतिक दलहरू सबैसँग छलफल भइरहेकै छ । सबै कुरा मिडियामा भन्ने कुरा पनि भएन, तर हामी सबै मिलेर प्रदेशलाई सक्षम र सबल बनाउनु पर्छ भन्ने मेरो मान्यता छ । प्रदेशसभा बिचैमा विघटनतिर लैजानु हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप