शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

शनिबार, ०२ साउन २०८३, ०१ : २५
शनिबार, ०२ साउन २०८३

सारांश

  • हेटौँडा उपमहानगरपालिकाले चुरियामाई सुरुङको व्यवस्थापनको जिम्मेवारी एक समितिलाई दिएको छ।
  • यसले सुरुङको संरक्षण, सञ्चालन, रेखदेख र पर्यटक व्यवस्थापन गर्नेछ।
  • सुरुङको ऐतिहासिक स्वरूपलाई सुरक्षित राखी यसको प्रवद्र्धन गरिनेछ।

बागमती । हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ ।

पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै यसलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

स्थानीय समुदायको सहभागितामार्फत ऐतिहासिक सम्पदाको दीगो संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

जिम्मेवारी हस्तान्तरणका लागि उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले संयुक्त रूपमा हस्ताक्षर गरिसकेको  उनले बताए ।

उनका अनुुसार सम्झौतासँगै समितिले सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनसँगै नियमित रेखदेख, सरसफाइ, मर्मत सम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी वहन गर्नेछ ।

सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ भने सङ्कलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमै खर्च गर्नुपर्ने सम्झौतापत्रमा भनिएको छ ।

सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय–व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेस गर्नुपर्ने व्यवस्था गरिएको उल्लेख गर्दै सम्झौतापत्रमा उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन तथा समन्वय गर्ने भनिएको छ ।

दक्षिण एसियाकै पहिलो सुरुङका रूपमा रहेको यो मार्ग विसं १८७२मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई विसं १८७४ सम्पन्न भएको थियो । तत्कालीन हेटौँडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ्ग थापाले गरेका थिए ।

लामो समयसम्म प्रयोगविहीन रहेको उक्त सुरुङको संरक्षण तथा मर्मत बागमती प्रदेश सरकारले सम्पन्न गरी हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

राम्रो प्रवर्द्धन गर्न सकेमा यो सुरुङ मकवानपुर जिल्लाकै महत्त्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुने विश्वास लिइएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप