शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण

शुक्रबार, ०१ साउन २०८३, २३ : ११
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • कञ्चनपुरका स्थानीय पालिकाहरूले सशस्त्र प्रहरीलाई विपद् सामग्री हस्तान्तरण गरेका छन्।
  • भीमदत्त नगरपालिकाले सशस्त्र प्रहरी गणलाई रबर बोट, लाइफ ज्याकेट लगायतका सामग्री दिएको छ।
  • यस सामग्रीले विपद् उद्धार र न्यूनीकरणमा सहयोग पुग्ने बताइएको छ।

महेन्द्रनगर । कञ्चनपुरका स्थानीय पालिकाहरूले विपद्का बेला उद्धार तथा सम्भावित क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरणलाई प्राथमिकता दिएका छन् ।

शुक्रबार कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले पनि सशस्त्र प्रहरी बल नंं ३५ शैलेश्वरी गणलाई रवर बोट, लाइफ ज्याकेट पाँच थान, १० थान हेलमेटलगायतका विपद् सामग्री हस्तान्तरण गरेको छ ।

भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले विपद् कार्यमा सहजताका लागि सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण गरिएको बताए । सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति प्रेमप्रकाश सिग्देलले पालिकाहरूले उपलब्ध गराएको विपद् सामग्री उद्धार, खोज तथा विपद् क्षति न्यूनीकरणका लागि सहज हुने बताए ।

“विपद् हुने सम्भावित क्षेत्रको पहिचान गरी सोहीअनुसार सम्भावित विपद्सित जुध्न सशस्त्र प्रहरी बलले आवश्यक तयारी गरेको छ”, गणपति सिग्देलले भने, “यहाँ बर्खाका बेला बढी जसो डुबान र कटानको समस्या हुने गरेकाले सोही अनुरूप विपद्का लागि सशस्त्रको छुट्टै टोली तयारी अवस्थामा राखिएको छ ।”

यसअघि बिहीबार यहाँको दोधारा चाँदनी नगरपालिकाले पनि सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म देवीस्थानको टोली रबर बोट सेट, लाइफ ज्याकेटलगायतका सामग्री हस्तान्तरण गरेको थियो ।

शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले कञ्चनपुरमा सम्भावित विपद्लाई मध्यनजर गर्दै विपद् व्यवस्थापन तालिमप्राप्त टिम परिचालन गरिएको बताउनुयभो । “गण, गुल्म र बिओपीहरूमा विपद् तालिमप्राप्त जनशक्ति तत्काल परिचालन हुनसक्ने गरी राखिएको छ”, उनले भने, “पालिकाहरूले विपद् सामग्री उपलब्ध गराउँदा हामीलाई विपद्का बेला खटिन निकै सहजता मिल्ने भयो ।”

नौ वटा पालिका रहेको कञ्चनपुरमा एक साताअघि बेलौरी नगरपालिकाले पनि सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको थियो । यहाँ भीमदत्त, दोधारा चाँदनी, बेलौरी, पुनर्वास, लालझाडी गाउँपालिका वर्षातका बेला आउने बाढीबाट बढी प्रताडित हुने गरेका छन् । यहाँ महाकाली नदी, चौधर नदी, दोदा नदी तथा विभिन्न खोला तथा खहरे खोलामा जलस्तर बढ्दा डुबानको समस्या हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप