बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण

बिहीबार, ३२ असार २०८३, २१ : ५२
बिहीबार, ३२ असार २०८३

कास्की । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित परिवारलाई यस वर्ष १ करोड १० लाख ८५ हजार ३९७ रुपैयाँ राहत रकम प्रदान गरेको छ ।

चालु आर्थिक वर्षमा मात्र भएका विभिन्न घटनामा ६८ लाख ९६ हजार ३९७ रुपैयाँ राहत उपलब्ध गराइएको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिएका छन् ।

कडरियाका अनुसार हिमचितुवा, चितुवा र ब्वाँसोबाट पशुचौपायामा पुगेको क्षतिबापत ६५ लाख ४५ हजार रुपैयाँ वितरण गरिएको छ । त्यसैगरी हिमाली कालो भालुले मकैबालीमा क्षति पुर्‍याउँदा ३ लाख २९ हजार २३८ रुपैयाँ र हिमाली कालो भालुको आक्रमणबाट घाइते भएका व्यक्तिको उपचार सहयोगबापत २२ लाख १५९ रुपैयाँ प्रदान गरिएको छ ।

आयोजनाले आर्थिक वर्ष २०८१/८२ मा भएको पशुचौपाया क्षतिको दाबी रकमबापत ३० लाख ५३ हजार ७५० रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ को ११ लाख ३५ हजार २५० रुपैयाँ समेत गरी चालु आर्थिक वर्षमा कुल १ करोड १० लाख ८५ हजार ३९७ रुपैयाँ राहत रकम वितरण गरेको हो । आयोजनाले मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित परिवार, संरक्षण क्षेत्र व्यवस्थापन समिति र स्थानीय तहसँगको सहकार्य तथा समन्वयमा राहत उपलब्ध गराउँदै आएको आयोजना प्रमुख डा कडरियाले बताए ।

आयोजना प्रमुख कडरियाले भने, ‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै सहअस्तित्व कायम गराउन आयोजना कार्यालय प्रयासरत छ, आगामी वर्षदेखि राहत वितरण कार्यलाई अझ व्यवस्थित र छरितो बनाउँछौँ ।’ मानव–वन्यजन्तु व्यवस्थापन कोषमार्फत वन्यजन्तु प्रभावित परिवारलाई राहत वितरण गर्ने गरिएको आयोजना कार्यालयले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन र संस्कृतिका कारण प्रसिद्ध छ । यहाँ अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र र म्याग्दीको घोडेपानी जस्ता प्रमुख पर्यटकीय गन्तव्यस्थल रहेका छन् । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्वप्रसिद्ध गन्तव्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप