शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको आफ्नै तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल : त्रिभुवन विमानस्थलको ‘क्राउड लोड’ कति घट्ला ?

पोखराबाट अन्तर्राष्ट्रिय उडान मार्चबाट मात्रै
सोमबार, १८ पुस २०७९, १० : १९
सोमबार, १८ पुस २०७९

मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट औपचारिक रूपमै अप्रेसनमा आएको छ । सन् २०१६ अप्रिलदेखि औपचारिक रूपमा निर्माण कार्य सुरु भए पनि विमानस्थल ६ वर्षपछि सञ्चालनमा आएको हो ।

ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङसँग ५ वर्षमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी नागरिक उड्डयन प्राधिकरणले २०१६ अप्रिलमा नै सम्झौता गरेको थियो । तर, कोभिड–१९ को महामारी लगायत विविध कारणले गर्दा विमानस्थलको निर्माण कार्य थप एक वर्ष लम्बिन पुग्यो । 

चाइना एक्जिम बैंकको २२ अर्ब रुपैयाँ बराबरको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको पोखरा विमानस्थल अन्ततः जनवरी १, २०२३ (आजदेखि) औपचारिक रूपमै सञ्चालनमा आएको छ । जसले नेपालको हवाई उड्डयन मात्र नभएर पर्यटन क्षेत्रमा समेत नयाँ उत्साह थपेको छ ।

त्रिभुवन विमानस्थलको क्राउड लोड ३० प्रतिशतले घट्ने

उसो त भैरहवा स्थित गौतमबुद्ध विमानस्थलसँगै पोखरा विमानस्थल समेत सञ्चालनमा आएसँगै अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा त्रिभुवन विमानस्थलको ३० प्रतिशत क्राउड लोड कटौती हुने नागरिक उड्डयन प्राधिकरण (क्यान) को अपेक्षा छ । 

गत जेठ २ गतेबाटै भैरहवा गौतमबुद्ध विमानस्थल नियमित रूपमा अप्रेसनमा आइसकेको छ । त्रिभुवन विमानस्थलको विकल्पको रूपमा अघि सारिएको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल १० हजार ५ सय रोपनीमा फैलिएको छ भने ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाइसहितको धावनमार्ग निर्माण गरिएको छ । 

यस्तै, आजबाट मात्रै सञ्चालनमा आएको पोखरा विमानस्थलको कुल क्षेत्रफल ३ हजार ८९९ रोपनी रहेको छ भने २ हजार ५ सय मिटर लम्बाइसहित ४५ मिटरको चौडाइको धावनमार्ग रहेको छ । जसमा न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जस्ता ठुला जहाज उडान र अवतरण गर्न सक्छन् । साथै सोही विमानस्थलमा ३ ठुला र ८ साना जहाज समेत पार्किङ गर्न सकिने क्यानको भनाइ छ । 

‘पोखरासँगै अब हामीसँग तीन ठुला अन्तर्राष्ट्रिय विमानस्थलहरू भएका छन् । यसले हवाई उडाउन सुविधालाई विकेन्द्रीकरण मात्र गरेको छैन, त्रिभुवन विमानस्थलको लोड समेत कम गर्ने भएको छ’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले रातोपाटीसाँग भने, ‘दुई वटै अन्तर्राष्ट्रिय विमानस्थलले कम्तीमा टीआईएको ३० प्रतिशत लोड कम गर्ने हाम्रो अनुमान छ ।’

हाल त्रिभुवन विमानस्थलबाट दैनिक ९० वटा हाराहारीमा उडान भइरहेको छ । ७३ वर्ष पुरानो विमानस्थलले आन्तरिक र बाह्य गरी अहिले पनि दैनिक ३५ हजार हाराहारीको  क्राउड लोड धानिरहेको छ । आन्तरिक उडानतर्फ दैनिक १९ हजार र अन्तर्राष्ट्रियतर्फ १४ हजार हाराहारीको अकुपेन्सी धानिरहेको त्रिभुवन विमानस्थलले अब थप लोड धान्ने स्थितिमा छैन । 

‘बढ्दो क्राउड लोड तर थप क्षमता विस्तार गर्न नसकिने भएकैले टीआईएको विकल्प खोजिएको हो । गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट कम्तीमा दैनिक १०÷१० वटा अन्तर्राष्ट्रिय फ्लाइट हुन्छ भन्ने हाम्रो अपेक्षा हो । यसले त्रिभुवन विमानस्थलको करिब ३० प्रतिशत लोड कम गर्छ । यतिमात्र होइन, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालनमा आएसँगै वैदेशिक रोजगारी, अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन र क्षेत्रीय सुविधालाई समेत थप मजबुत पार्छ भन्ने विश्वास हो’ उनले भने । 

तर, पर्याप्त सेवा सुविधा विविध कानुनी अड्चनका कारण सञ्चालनमा आएको ७ महिनासम्म पनि गौतमबुद्ध विमानस्थलले अपेक्षा गरे बमोजिमको बिजनेस लिन सकेको छैन । 

सरकारी हवाई कम्पनी नेपाल एयरलाइन्सले बाहेक अन्य विमानले भैरहवाबाट नियमित उडान सेवा दिन सकिरहेका छैनन् । श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल एयर, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर लगायतले इच्छा देखाएपनि हाल एउटा स्वदेशी कम्पनी हिमालय एयरलाइन्स र अर्को विदेशी एयर जजिरा बाहेकले गौतमबुद्ध विमानस्थलबाट उडान भर्न सकेको छैन । यद्यपि, पछिल्लो समय प्राविधिक कारणलाई देखाउँदै कुनैपनि विमानले अन्तर्राष्ट्रिय उडान भरेका छैनन् ।

‘गौतमबुद्ध विमानस्थलबाट हिमाल एयरलाइन्सले मलेसियाको क्वालालमपुर र एयर जजीराले कुँबेत फ्लाइट गरिरहेको थियो । हिमालयले वान वे जस्तो फ्लाइट गरेपनि नियमित गर्न सकेन । अर्को एयर जजीराले पनि करिब १०० वटा उडान गरेकोमा पछिल्लो समय खराब मौसमका कारण रोकिन पुगेको छ’ गौतमबुद्ध विमानस्थलका महानिर्देशक गोविन्द दाहालले रातोपाटीसँग भने, ‘अब जनवरी १५ अघि उडान खुल्ने सम्भावना छैन ।’

तर, छिटफुट ८–१० वटा चार्टर फ्लाइट भने भइरहेको उनले जानकारी दिए । 

पोखराबाट अन्तर्राष्ट्रिय उडान मार्चबाट मात्रै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी मार्चबाट मात्रै अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । जनवरी, १ मा नै विमानस्थलको उद्घाटन भए पनि विविध प्राविधिक तथा अप्रेशनल काम बाँकी नै रहेकाले कम्तीमा ३ महिनापछिबाट मात्रै नियमित अन्तर्राष्ट्रिय उडान हुने क्यानका प्रवक्ता निरौलाले रातोपाटीलाई जानकारी दिए । 

तर, आन्तरिक (डोमेस्टिक) उडान भने आजबाट नै सोही विमानस्थलबाट हुने उनको भनाइ छ । 

‘अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने भए पनि डोमेस्टिक उडान भने यहीँ विमानस्थलबाट आजबाटै सुरु हुन्छ’ निरौलाले भने । तर, पोखरा–जोमसोम उडान भने पुरानै विमानस्थलबाट हुने उनले बताए ।  

अन्तर्राष्ट्रिय उडानतर्फ भने हालका लागि बुद्ध एयर र हिमालय एयरलाइन्सले इच्छा देखाएको निरौलाले बताए । यी दुई कम्पनीसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न चाहने अन्य अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई समेत आवश्यकता र औचित्य हेरी योग्य कम्पनीलाई अनुमति दिने तयारी प्राधिकरणको रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप