शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
बजार

निरन्तर बढ्दै सुनको मूल्य, ९ महिना अघिको कीर्तिमान तोड्ने प्रक्षेपण

बुधबार, २० पुस २०७९, १६ : ०७
बुधबार, २० पुस २०७९

अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेको छ । सुन चाँदीसम्बन्धी जानकारी राख्ने गोल्डप्राइस डटकमका अनुसार अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको भाउ बढिरहेको हो । तथ्यांकअनुसार एक महिनाको अवधिमा सुनको मूल्य ३.७१ प्रतिशतले र ६ महिनाको अवधिमा ४.०८ प्रतिशतले बढिसकेको छ । यो अझै बढ्ने क्रम जारी छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ६१ अमेरिकी डलर छ । यो एक महिनाको तुलनामा ६५ डलर र ६ महिना अघिको तुलनामा ७२ डलरले बढी हो । ६ महिनाअघि सुनको मूल्य प्रतिऔंस १७ सय ८९ अमेरिकी डलर थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न थालेसँगै नेपालमा समेत बजार भाउ प्रभावित बन्न थालेको छ ।

यतिबेला नेपाली बजारमा सुनको मूल्य विगत १० महिना यताकै उच्च बिन्दुमा पुगेको छ । यद्यपि, सुनको मूल्यले ‘अल टाइम हाइ’ कीर्तिमान भने कायम गरिसकेको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ छ । जुन, यसअघि २०७८ साल फागुन २३ गतेको कीर्तिमानी मूल्यभन्दा प्रतितोला २ हजार ६०० रुपैयाँले कम हो । उक्त मितिमा नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, समाचार संस्था सीएनबीसीका अनुसार सन् २०२३ मा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ । यसअघि, सन् २०२२ मार्च ७ मा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । उक्त मितिमा सुनको मूल्य प्रतिऔंस २० हजार ४९ अमेरिकी डलर थियो । जुन, २०२२ कै नोभेम्बर ३ मा घटेर १६ सय २९ अमेरिकी डलर प्रतिऔंसमा आइपुगेको थियो ।

सुन उत्खनन गर्ने एयूएजी ईएसजीका प्रबन्धक एरिक स्ट्रान्डले अघिल्लो महिना नै सन् २०२३ मा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्ने प्रक्षेपण गरेका थिए ।

तर, सन् २०२३ को सुरुवातसँगै विश्वभर सुनको मूल्य उकालो लाग्न थालेको समाचार संस्था सीएनबीसीले उल्लेख गरेको छ । ‘सन् २०२३ को विश्वव्यापी बजारको धेरैजसो दृष्टिकोण मौद्रिक नीतिको प्रक्षेपणमा केन्द्रित छ । केन्द्रीय बैंकहरूले सुस्त आर्थिक वृद्धि र सम्भावित मन्दीको आँकलन गर्दै गत वर्षको आक्रामक ब्याजदर वृद्धिलाई सहज बनाएका छन्,’ समाचारमा उल्लेख छ ।

सुन उत्खनन गर्ने एयूएजी ईएसजीका प्रबन्धक एरिक स्ट्रान्डले अघिल्लो महिना नै सन् २०२३ मा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्ने प्रक्षेपण गरेका थिए । उनले सुनको लागि नयाँ सर्वकालीन उच्च उत्पादन गर्नेछ र नयाँ ‘बूल’ बजारको सुरुवात गर्ने दाबी गरेका थिए । उनका अनुसार सन् २०२३ मा सुनको मूल्य कम्तीमा प्रतिऔंस २१ सय अमेरिकी डलर पुग्नेछ । जुन, २०२२ को मार्चमा बनेको कीर्तिमानभन्दा बढी हो । सुनमा लगानी गर्दै आइरहेको लगानीकर्ताहरूले सन् २०२२ को तेस्रो त्रैमासदेखि नै आफ्नो भण्डारमा सुनको परिमाण थप्दै आइरहेका छन् ।

लगानीकर्ताले सुनमा लगानी ह्वात्तै बढाए लगत्तै विश्व बजारमा सुनको माग एकाएक बढ्छ र मूल्य समेत बढ्छ । ‘यो मेरो विचार हो कि केन्द्रीय बैंकहरू आफ्नो ब्याजदर वृद्धिमा केन्द्रित हुनेछन् र सन् २०२३ मा त्यसलाई खुकुलो पार्दै लग्नेछन्,’ स्ट्रान्ड भन्छन्, ‘जसले आगामी वर्षहरूमा सुनको मूल्य विष्फोट हुनेछ ।’ यही कारण, २०२३ को अन्तिमसम्ममा सुनको मूल्य कम्तीमा पनि २० प्रतिशतले बढेको हुनेछ ।

नेपाली बजारमा छैन कारोबार

सुनको मूल्य निरन्तर उकालो लाग्दै गर्दा नेपाली बजारको कारोबार भने शून्यतर्फ झरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस महिनामा सुनको कारोबार दैनिक ४/५ किलोभन्दा कम हुन्छ । खासगरी, पुस महिना सुनचाँदी कारोबारका लागि पनि ‘अफसिजन’ मानिन्छ । यस्तै, अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको प्रभाव नेपाली बजारमा देखिएको छ ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्य नेपाली बजारमा सुन किन्नेहरूभन्दा बेच्नेहरूको भिडभाड लाग्ने गरेको बताउँछन् । मूल्य बढेको मौका छोपेर सुन बेच्नेहरू ह्वात्तै बढेको शाक्यको भनाइ छ । उनका अनुसार यसअघि सुन किनेर राखेका सेवाग्राहीहरूले दैनिक १० किलोसम्म सुन बेचिरहेका छन् । सेवाग्राहीले बेच्ने सुन व्यवसायीहरूले किनेर राख्ने गरेको शाक्यले बताए । ‘पुस महिना सुनको कारोबार हुने महिना नै हैन । यो महिनामा बिहे लगायतका साइत हुँदैन,’ शाक्यले भने, ‘त्यसमाथि सुनको मूल्य बढेर झनै कारोबार खुम्चिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप