शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जहरसिंहपौवामा भइरहेको प्रहरी दमन रोक्न सरकारलाई शंखरापुर नगरपालिकाको ध्यानाकर्षण

शुक्रबार, २२ पुस २०७९, १६ : ०६
शुक्रबार, २२ पुस २०७९

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ जहरसिंहपौवाको बोझिनीमा स्थानीयले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै नगरपालिकाले सरकारको ध्यानाकर्षण गराएको छ । 

शुक्रवार शंखरापुर नगरप्रमुख रमेश नापितले प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, लप्सेफेदी–चाँगुनारायण सब स्टेशन निर्माण आयोजनालाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र लेखेका छन् । 

नापितले शंखरापुर नगरपालिका वडा नं। ३ बोझेनीमा प्रस्तावित लप्सेफेदी– चाँगुनारायण सब स्टेशन निर्माण आयोजना र त्यस सँग जोडिने प्रशारण लाइनको लागि सर्भे लगायतका कार्यहरू भइरहेको स्थानमा शान्तिपूर्ण आन्दोलन गरेका स्थानीयमाथि प्रहरी दमन भएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् । 

उनले शान्तिपूर्ण प्रदर्शनमा हतियार देखाएर तर्साउने, अवाञ्छित बल प्रयोग गर्नु निन्दनीय भएको बताएका छन् । ध्यानाकर्षण पत्रमा मेयर नापितले भनेका छन्–‘उक्त आयोजनाका सम्बन्धमा स्थानीय जनताहरूबाट विभिन्न माग तथा दाबी राखी विगत केही दिनदेखि शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनमा प्रहरी प्रशासनबाट अवाञ्छित बल प्रयोग गर्ने, हात हतियार देखाई तर्साउने, धरपकड तथा घाइते हुनेगरी अति बल प्रयोग भइरहेको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । सम्पत्तिको हक, स्वतन्त्रताको हक जस्ता मौलिक हक एवम् मानव अधिकारको संरक्षण र संवर्द्धन गर्ने राज्यको दायित्वको मर्म र भावनाको प्रतिकुल तथा लोकतन्त्र र विधिको शासन एवम् नागरिक सर्वोच्चताको मर्मलाई नै गिज्याइरहेको उक्त कार्य निन्दनीय छ ।’

मेयर नापितले राज्य अभिभावक रहेको बताउँदै नागरिकले आफ्नो अभिभावकबाट संरक्षकत्वको अपेक्षा राखी शान्तिपूर्ण रूपमा गरिएको प्रदर्शनमा प्रहरी दमनले स्थिति थप अराजकता र नियन्त्रण बाहिर गई गम्भीर दुर्घटना निम्ताउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधिले आयोजना निर्माणमा थप अन्यौलता बढेर जान सक्नेतर्फ सचेत गराएका छन् । 

उनले अहिलेको अवस्थालाई विचार गरी स्थानीय जनताहरूबाट भइरहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनलाई तत्काल बन्द गरी आपसी संवादको माध्यमबाट स्थानीयहरूका जायज मागको सम्बोधन हुनेगरी तत्काल समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

जहरसिंहपौवामा बनाउन लागिएको अपर तामाकोसी जलविद्युत आयोजनाको सवस्टेशन अन्यत्रै सार्न माग गर्दै स्थानीयले गत एकसातादेखि शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् । सो प्रदर्शन नियन्त्रण गर्न प्रहरीले पेस्तोल ताक्ने, महिलाको कपालमा समातेर पछार्ने लगायतका बल प्रयोग गर्दै आइरहेको छ ।

s

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप