सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सहमतिको सरकारको आवश्यकता छ : प्रभु साह

शनिबार, २३ पुस २०७९, २१ : ०७
शनिबार, २३ पुस २०७९

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देशमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका छन् । शनिवार आजपा निकट मधेश–काठमाडौ आम सम्पर्क मञ्चद्वारा ललितपुरको लगनखेलमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सो कुरा बताएका हुन् । अध्यक्ष साहले देशको वर्तमान संकटपूर्ण अवस्थाको अन्त्य गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर सबै दल लाग्नुपर्ने बताए । 

देशमा देखिएको आर्थिक राजनीतिक समस्या समाधान कुनै एक दल वा आधा संख्यामा विभाजित संसदले गर्न नसक्ने जिकिर गर्दै अध्यक्ष साहले सम्पूर्ण दलहरू एउटै विन्दुमा उभिएर वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन अपिल गरे ।

‘अहिले तपाईं हामीले सबैले देखिरहेका छौं देश कुन अवस्थामा छ भनेर । देशको अर्थतन्त्र जटिल अवस्थामा पुगेको छ । बजारमा पुँजीको अभावले भयावह अवस्था आएको छ । आम जनताले ऋण पाउने स्थिति त कता हो कता पुराना ऋणको ब्याज तिर्न नसकेर आत्महत्या गर्न सक्ने अवस्थामा पुगेका छन्’ साहले भने, ‘देशमा देखिएको यस जटिल अवस्थाको अन्त्य गर्नका लागि एवं अर्थतन्त्रलाई लयमा फर्काएर मुलुकलाई समृद्धिको यात्रामा डोर्याउनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु आजको आवश्यकता हो । वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दल एकै विन्दुमा उभिनु जरुरी छ ।’

दलिय स्वार्थभन्दा माथि उठेर मुलुकका हितमा उभिनुपर्नेमा अध्यक्ष साहको जोड छ । अध्यक्ष साहले स्थिर सरकारका लागि शासन व्यवस्थामा परिवर्तनको बिकल्प नभएको बताए । पुराना पार्टीहरु सत्ता र कुर्सीको लागि मात्रै रहेको प्रष्ट देखिएको बताउँदै उनले संविधान नै पुर्नलेखन हुनुपर्ने संकेत गरेका छन् । 

‘गोरुले दुध दिनु र नेपालको अहिलेको व्यवस्थाले समृद्धी आउँनु भनेर सोच्नु नै गलत हो । सात सय ६१ सरकारको व्यवस्था अहिलेको संविधानले गरेको छ । रुस, अमेरिका, भारत लगायतका देशमा भन्दा बढी सरकारको व्यवस्था नेपालमा रहेकामा लोक सेवा आयोगको प्रश्न बन्न सक्छ’ साहले भने, ‘अहिलेकै राजनीतिक व्यवस्थाबाट हामीले स्थिर सरकार पनि पाउँन सक्दैनौं, समृद्धि पनि पाउँन समस्या नै छ । लोकतान्त्रिक देश नेपालमा जुन व्यवस्था छ, त्यसले देशलाई अगाडि बढाउन सक्दैन ।’ 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दरो बनोस्, बलियो बनोस् र देशले आर्थिक प्रगति गरोस् भन्दै उनले शोषित, पीडित, न्याय नपाएका जनतको पक्षमा बढी काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए । 

एउटा कुशल नेतृत्वले नेपाललाई सफल नेपाल, समृद्ध नेपाल र जनतालाई सुखी बनाउने भएकाले आजपाको अभियानमा जुटन सबैलाई उनले आग्रह गरेका छन् । सरकारी अडामा भ्रष्टाचार बढेको बताउँदै त्यसका विरुद्धमा एवं भण्डाफोर अभियानमा नेतृत्व गर्न आजपाका नेता कार्यकर्तालाई उनले निर्देशन दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप