शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा बन्धक बनाइएका १९ नेपाली २ दिनभित्रमा नेपाल आइपुग्ने

सोमबार, २५ पुस २०७९, १६ : ५९
सोमबार, २५ पुस २०७९

काठमाडौँ । मलेसियामा बन्धक बनाएका १९ जना नेपाली दुई दिनभित्रमा स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को निर्देशनमा वैदेशिक रोजगार विभाग, मलेसियास्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार प्रक्रिया अगाडि बढाएको हो । उनीहरू भोलिसम्ममा नेपाल आइपुग्नेछन् । उनीहरूलाई मलेसिया पठाउने मेनपावर कम्पनीले १४ वटा टिकट काटिसकेको छ । भने बाँकी पनि प्रक्रियामा रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए । 

‘मेनपावर कम्पनीको प्रमुख आफैं मलेसिया गएको छ । कम्पनीका सहायक आएर हामीसँग सम्झौता गरेको छ । उनीहरूको उद्धार गरिसकेपछि थप प्रक्रिया अगाडि बढाउँछौं । पहिलो प्राथमिकता भनेको उनीहरूको उद्धार हो ।’ महानिर्देशक आचार्यले भने । मेनपावर कम्पनीले आफ्नै खर्चमा उनीहरूलाई नेपाल ल्याउन लागेको हो । मलेसियामा रहेको नेपाली राजदूतावासको टोली उनीहरू बसोबास गरिरहेको क्षेत्रमा पुगेको छ । कम्पनीका सञ्चालक आफैं मलेसिया पुगेर उनीहरूलाई नेपाल फर्काउने कार्य गरिरहेको महानिर्देशक आचार्यले बताए । 

उनीहरू खोजी रिक्युरमेन्ट सर्भिसेजबाट गत भदौ २३ मा श्रम स्वीकृति लिएर मलेसिया गएका थिए । कम्पनीको मालिकहरूले काममा लगाउनुका साटो अनावश्यक रूपमा मानसिक तथा शारीरिक यातना दिन थालेपछि उनीहरूले विरोध गरेका थिए । विरोध गर्न थालेपछि कम्पनी सञ्चालकले उनीहरूलाई विगत ८ दिनदेखि खाना, बस्न समेत नदिई मलेसियामा रहेको केलाङ भन्ने ठाउँमा बन्धक बनाई राखेको थियो । आफ्ना मान्छेहरूलाई बन्धक बनाएर राखेको भन्दै उनीहरूका आफन्तले उद्धारका लागि आग्रह गरेका थिए । उक्त विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नै ध्यानाकर्षण भएको थियो । र प्रधानमन्त्री प्रचण्डले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । 

त्यसरी बन्धक बनाइएकामा ५ गोरखाका रहेका छन् । उनीहरू नेपाल फर्किसकेपछि पीडितहरूलाई क्षतिपूर्ति तथा मेनपावर कम्पनीमाथि कारवाही प्रक्रिया अगाडि बढाउने तयारीमा विभाग छ ।

1

3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप