शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

जग्गा विवादमा पूर्व गाउँपालिका अध्यक्ष यादवले गरे छिमेकीमाथि आक्रमण, ७ जना घाइते

मङ्गलबार, २६ पुस २०७९, २० : ००
मङ्गलबार, २६ पुस २०७९

विराटनगर । जग्गा विवादको विषयलाई लिएर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका पूर्व अध्यक्षले छिमेकी ७ जनामाथि निर्घात कुटपिट गरेका छन् । उनको कुटाइबाट एकै परिवारका ७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।

कुटपिट गर्नेमा भोक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले छिमेकीलाई लखेटी–लखेटी निर्घात कुटपिट गरेका हुन् ।

घाइते हुनेहरूमा झोक्रहा नरसिंह गाउँपालिका–३ फुलचौकका ४५ वर्षीय राज कुमार मण्डल, सोही ठाउँका ५५ वर्षीय सत्य नारायण मण्डल, ३६ वर्षीय पवन मण्डल, ४५ वर्षीय सुवर्ण मण्डल, ४५ वर्षीय देवकी देवी मण्डल, ७६ वर्षीय गौरी देवी मण्डल र २४ वर्षीया रन्जना कुमारी मण्डल छन् ।

उनीहरूलाई उपचारका लागि विराटनगरस्थित न्यूरो हस्पिटल ल्याइएको छ । घाइतेमध्ये ४५ वर्षीय राजकुमार र पवनको अवस्था गम्भीर छ । राजकुमारको टाउकोमा रगत जमेको कारणले चिकित्सकले न्यूरो अस्पतालको पोस्टअप वार्डमा राखेको छ । पुर्वअध्यक्ष यादवको आक्रमणबाट सत्यनारायणको दाहिने हात भाँचिएको छ ।

यस्तै पवनको टाउकोमा गहिरो चोट लागेको कारणले ९ टाँका लगाइएको छ । सुवर्णको देब्रे हात काटिएको छ भने गौरीदेवीको ढाडमा र रन्जना कुमारीको तीघ्रामा गहिरो चोट लागेको छ ।

घाइते हुनेहरू एकै परिवारका सदस्य हुन् । उनीहरू आक्रमण गर्ने महेन्द्र यादवको छिमेकी रहेको घाइतेका आफन्त देब कुमार मण्डलले बताए । उनका अनुसार महेन्द्र यादवसहित, जीत नारायण यादव, लक्ष्मी यादव, जय प्रकाश यादव, दिपक यादव, राज कुमार यादव, रामदेव यादव, ढुनाइ यादव, विरेन यादव र ओमप्रकाश यादवले रड, भाटा, मुङग्रोले लखेटी लखेटी आक्रमण गरेको थिए ।

‘मंगलबार बिहानदेखि जाडो निक्कै बढेको थियो । घरमै हामी बसिरहेका थियौं । ११ बजेतिर महेन्द्र यादवसहितको एक सयको संख्यामा एउटा ट्याक्टर लिएर हाम्रो जमिन खन्न आएपछि हामीले रोक्न जाँदा हामीमाथि आक्रमण गरेका हुन्,’ घाइतेका आफन्त हस्पिटलमा भेटिएका देव कुमार मण्डलले भने, ‘अहिलेसम्म आक्रमण गर्ने मुख्य मान्छेलाई प्रहरीले पक्राउ गरेको छैन । हामीलाई आक्रमण गरेको लौकही प्रहरी चौकीका प्रहरीहरूले पनि देखेका छन् । आक्रमण गर्ने महेन्द्र यादव पूर्व अध्यक्ष पनि हुन् । त्यही पहुँचको आधारले समात्न नचाहेको हुनसक्छ ।’

मरणसन्न हुने गरी कुटपिट गर्नेमाथि कडा कारवाही हुनुपर्ने उनको माग छ । आक्रमण गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिन भाइ शिवनन्द मण्डल गएको उनले बताए ।

Ghaiteharu (2)

यता आक्रमणको आरोप लागेका महेन्द्र यादवले दाजु ढुनाइ यादवले वर्षौदेखि भोगचन गर्दै आएको आफ्नो जग्गा जोत्न जाँदा विपक्षीहरुले रोकेपछि झडप भएको बताए ।

‘दाजु ढुना यादवले २ बिगाहा जग्गा भोगचलन गर्दै आउनुभएको थियो । मंगलबार भोगचलन गरेको जग्गा ट्याक्टर लिएर जोत्न जाँदा विपक्षीले रोकिदियो । यतिकैमा विवाद सुरु भयो । त्यही बीचमा अर्को पक्षबाट पनि प्रहार गरियो । यताबाट पनि प्रतिकारमा उत्रिँदा आक्रमण भयो,’ उनले भने, ‘मेरो भजित जित नारायण र जय प्रकाश यादव पनि घाइते भएका छन् । उनीहरुको हातमा चोटपटक लागेको छ ।’ आक्रमणमा आफ्नो संलग्न नरहेको उनको भनाइ छ ।

सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटनाको अनुसन्धान गर्न घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाएको बताए । ‘झगडा हुने बित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको छ । अहिले जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली गएको छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

अहिले घटनामा संलग्न भएकोले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको उनले बताए । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । ‘अहिले हामीले अनुसन्धान सुरू गरेका छौं,’ एसपी ढकालले भने, ‘अनुसन्धानपछि थप विषय खुल्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप