शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निर्मला हत्या छानविन समितिले संकलन गर्‍यो ५ जनाको रगतको नमुना

सीआईबीका प्रमुख भन्छन्– ‘नयाँ शिराबाट अनुसन्धान हुँदैछ’
बिहीबार, २८ पुस २०७९, १३ : ०५
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । निर्मला हत्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी नेतृत्वको समितिले ५ जनाको रगतको नमुना संकलन गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले दुई भारतीयसहित ५ जनाको रगतको नमुना संकलन गरेर काठमाडौंमा पठाएको छ ।

डीआईजी सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान गरिरहेको छ । डीएनए परीक्षणका लागि  ५ जनाको रगत संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए । रगतको नमूना काठमाडौँस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ । निर्मला हत्याबारे नयाँ शिराबाट अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए । ‘अहिले नयाँ शिराबाट अनुसन्धान भइरहेको छ’ रातोपाटीसँग एआईजी सुवेदीले भने–‘समितिले पुरानो अनुसन्धान प्रतिवेदन र संकलित प्रमाणहरु पनि विष्लेषण गरिरहेको छ ।’

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षिया निर्मलाको हत्यामा संलग्न आशंकामा प्रहरीले ५ जनामाथि निगरानी गरिरहेको छ । हत्यापछि केन्द्रीय अनुसन्धान ब्यूरोले लगातार टिम परिचालन गरिरहेको छ । दुर्गा सिंहको नेतृत्वमा समिति गठन हुनुअघि पनि ब्यूरोबाट इन्स्पेक्टर धनदेव साउद नेतृत्वको टिमले कञ्चनपुरमा बसेर काम गरिरहेको थियो ।

यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डिएनए भजाइनल स्वावसँग नमिलेपछि उनलाई रिहा गरिएको थियो । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरेपनि २०७५ भदौ २६ मा डीएनए म्याच नभएपछि सरकारी वकिल कार्यालयले विष्टलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको थियो । उपप्रधान एवं गृहमन्त्री नियुक्त भएपछि रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा डीआईजी सिंहको नेतृत्वमा समिति बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप