शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बालुवाटारमा कांग्रेसलाई एमालेको प्रश्न : लोकतन्त्रको नयाँ कोर्ष के हो ?

मङ्गलबार, ०३ माघ २०७९, २१ : ०८
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । नेकपा एमालेले सरकारमा रहेका राजनीतिक दलहरुकाबीचमा भएका सहमति कायम राख्दै त्यसलाई अझ विस्तारित सहमतिका रूपमा विकास गर्न सकिने बताएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत पनि दिने र प्रमुख प्रतिपक्ष पनि भन्न नछोड्ने कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरेको हो ? भनेर प्रश्न गरेका छन् । साथै उनले लोकतन्त्रको आधारभूत मूल्य र मान्यताअनुसार कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि प्रतिपक्षको हैसियत गुमाउन पुगेको बताएका छन् । 

साथै अध्यक्ष ओलीले सत्ता साझेदार दलहरुकाबीचमा यसअघि भएका सहमतिहरू कायम राख्दै सहमति र सहकार्यलाई थप विस्तार गर्न एमाले तयार रहेको बताएका थिए । 

बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलले सर्वदलीय बैठकमा पार्टीले राखेको धारणा उद्धृत गर्दै भने, ‘सरकारमा रहेका दलहरुकाबीचमा भएका सहमति कायम राख्दै त्यसलाई अझ विस्तारित सहमतिका रूपमा विकास गर्ने कुरामा एमालेको सहमति छ ।’ उनले त्यसमा काग्रेसले सरकारलाई विश्वासको मत पनि दिने र प्रतिपक्ष पनि भन्ने लोकतन्त्रको आधारभूत मान्यताको नयाँ कोर्ष के हो ? भनेर प्रश्न गरिएको बताए । 

‘सरकारलाई समर्थन पनि गर्ने अनि प्रतिपक्षको मान्यता पनि खोज्ने लोकतन्त्रको आधारभूत मूल्यमान्यतामा यो नयाँ कोर्ष के हो ? कांग्रेसले स्पष्ट पारोस् भन्ने हाम्रो राय रह्यो’,महासचिव पोखरेलले बैठकमा राखेको भनाई उद्धृत गर्दै भने । 

एमालेको यो प्रश्नमा कांग्रेसका नेताहरूले भने व्यक्तिपिच्छे जवाफ दिएको पोखरेलले बताए । 

‘हाम्रो प्रश्नमा कांग्रेसबाट स्पस्ट जवाफ आएन । व्यक्तिपिच्छेको फरक धारणा आयो’, महासचिव पोखरेलले रातोपाटीसँग भने, ‘रामचन्द्र पौडेलजीले राष्ट्रिय सहमति आवश्यक छ भन्नेमा जोड दिनुभयो भने नेता रमेश लेखकले हामी प्रमुख प्रतिपक्ष नै हौ । हाम्रो सभापति विपक्षी दलको नेता नै हो भन्ने धारणा राख्नुभयो ।’ बैठकमा कांग्रेस नेता लेखकले सहमतिका लागि सत्तापक्ष प्रस्ताव के हो ? भन्दै स्पष्ट पार्न भनेका थिए । 

बैठकमा प्रधानमन्त्री प्रचणडले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिँदै सरकारले पाएको दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारीभित्र पर्ने बताएका थिए । साथै उनले प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको भन्दै त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताएका थिए । 

प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागेका थिए । प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबीचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव मागेका थिए । 

सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा आफू दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रिपरिषद्ले पूर्णता पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले यसो भनेपछि एमाले अध्यक्ष ओलीले राष्ट्रपति र सभामुखका सवालमा छलफल भइसकेकाले अव त्यसमै कांग्रेसलगायतका दलहरू सहमत भए सबैको सहमति हुने धारणा राखेका थिए । ओलीले त्यसो भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी प्रमुख प्रतिपक्षमै रहेको बताएका थिए भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू अरूले जे भन्यो त्यही मान्दै नहिँड्ने बताएका थिए । 

‘तपाईँहरू आफ्नोमात्रै स्वार्थ हेर्नुहुन्छ । अनि के हाम्रो कामचाहिँ जसले जे भन्यो त्यहीँ मान्दै जानेमात्र हो ?’, नेपालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षतर्फ संकेत गर्दै आक्रोश मिश्रित प्रश्न गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप