शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

नीतिकथा :  बाबु आमाको सेवा

आइतबार, ०८ माघ २०७९, ११ : २६
आइतबार, ०८ माघ २०७९

भनिन्छ बाबु र आमा देवता समान हुन्छन् । उपनिषद् शास्त्रले यही भनेको छ । नीतिशास्त्रले यही भनेको छ । धर्मशास्त्रले यही भनेको छ । धर्मगुरुहरूले यसै भनेका छन् । यसको अर्थ हो बाबु र आमालाई देवी–देवतालाई जस्तै मान्नुपर्छ । उनीहरूका अभिमतमा भगवान्ले सबै काम आफैँले गर्न नसक्ने वा नभ्याउने भएकाले बाबु र आमालाई प्रतिनिधिका रूपमा पठाएका हुन् । भगवान्ले जे गर्छन् बाबु आमाले पनि त्यही गर्ने भएकाले यस्तो भनाइ आफैँमा अस्वाभिक हुँदा पनि होइन तर यो रूपमा मात्र हो, सारमा होइन । सारमा त यही हो कि सन्तानका खातिर बाबु र आमा देवताभन्दा पनि माथिका हुन् । भगवान्ले दिने पनि बाबु आमा भएपछि नै हो, भगवान् पाइने पनि बाबु आमा भएपछि नै । 

स्कन्दपुराणमा एउटा कथा आएको छ । प्राचीनकालमा एक जना पुण्डरिक नामक बालक थिए । उनी बाबु र आमाको परम भक्त थिए । मानिसहरू पितृभक्ति र मातृभक्तिको उदाहरण दिनुप¥यो भने उनकै नाम लिने गर्थे । गर्थे पनि के भन्ने र अहिलेसम्म गरिरहेका छन् । उनी सानै थिए बाबु आमा रोगी । घरमा अन्य कोही थिएनन् । रोगी र वृद्ध बाबु आमाको सेवा उनैले गर्नुपथ्र्यो । बिहान उठ्ने बित्तिकै पहिले बाबु र आमाको फोहोर सभा गर्थे, मलम पट्टी तथा औधषी उपचारको जोहो गर्थे । त्यसपछि घरमा जो भएको बनाई तुल्याई गरी खुवाउँथे र स्कुल जाने गर्थे । बेलुका घर आएपछि पनि पहिले बाबु आमाकै सेवा गर्थे र खानपीनको व्यवस्था गरी सुत्ने गर्थे । भोलि पल्ट बिहान उठ्नासाथ पुनः उही क्रम दोहोरिन्थ्यो ।  

समय बित्दै गयो दैनिकी पनि चली नै रह्यो । उनको अखण्ड सेवा देखेर भगवान् पनि मौन रहन सकेनन् र उनलाई भेट्न आफैँ आए । अरूहरू भगवान्लाई खोज्न जान्छन् । मठमा जान्छन्, मन्दिरमा जान्छन्, मस्जिदमा जान्छन्, चर्चमा जान्छन् । खोज्दाखोज्दै नभेटेर हैरान हुने पनि कति छन् कति तर उनलाई भने भगवान् आफैँ भेट्न आए । 

बिहानको समय थियो उनी बाबु आमाको घाउ सफा गर्दै थिए । भगवान्ले आगनमा आएर भने–

‘बाबु पुण्डरिक ! तिम्रो दुःख देख्न नसकी केही दिन आएको छु । बाहिर आऊ र भन के चाहिन्छ । तिम्रो बाबुआमा प्रतिको भक्ति देखेर यति खुसी छु कि जे मागे पनि पाउने छौ ।’ 

भगवान्को कुरा सुनेर पुण्डरिकले खुसी हुँदै भने–

‘एक छिन पख्नुस् है भगवान् ! आफैँले आउने कष्ट गर्नुभएको रहेछ । आभारी छु तर बाबा आमाको घाउ सफा गर्न लागेकाले तुरुन्त आउन सक्ने अवस्था छैन ।’

उनको कुरा सुनेर भगवान् थप खुसी भए तर के लागेछ कुन्नि सायद परीक्षा गर्ने विचार पो आयो कि  अलिकति डर र अलिकति लोभ देखाउँदै भने–

‘बाबु पुण्डरिक ! पर्खने फुर्सद छैन । अन्त पनि तिमी जस्तै भक्तलाई भेट्नु छ । सेवाको कुरा ग¥यौ । त्यो त के भो र । पछि पनि गर्न सक्छौ । बाबु आमा आफ्नै हुन् । एक छिन ढिलो हुँदैमा रिसाउने होइनन् क्यारे । अवसर त फेरि न आउन सक्छ । मौका आउँछ पर्खँदैन भन्छन् । भरे पछुताउनुपर्ला । त्यसैले तुरुन्तै आऊ र चाहिएको चीज लिएर जाऊ ।’

‘त्यसो भन्नुहुन्छ भने त्यही सही । त्यस्तो अवसर गुमे गुमोस् ।’ पुण्डरिकले दृढतापूर्वक भने–

‘बाबु आमाको सेवालाई छाडेर त मरिकाटे आउन सक्दिन । मिल्छ भने कृपा गरी एक छिन पर्खिदिनु होला । होइन भने जान सक्नुहुन्छ ।’

भगवान्ले पुन फकाउने उद्देश्यले भने–

‘बाबु ! तिमीले कुरा बुझेनौ जस्तो लाग्यो । सानै भएकाले त्यस्तो कुरा गरेका हौला ।  संसारकै मालिक म आफैँ आएर बोलाइरहेको छु तर तिमी भने बाबु आमालाई बढी भाउ दिइरहेका छौ । तिम्रो नादानी देखेर दया लाग्योे । त्यसैले सम्झाउँदै छु । तुरुन्तै आऊ र वरदान माग । आफ्ना लागि पनि माग्न सक्छौ बाबा आमाका लागि पनि माग्न सक्छौ । भन्छौ भने तिम्रा बाबा आमालाई स्वस्थ र जवान बनाइदिन पनि सक्छु ।’

पुण्डरिकले पहिलेकै हठ दो¥याउँदै भने–

‘कुरा मैले होइन भगवान् ! तपाईँले नबुझ्नु भएको जस्तो लाग्यो । मिल्छ र सम्भव हुन्छ एक छिन पर्खनुस् मिल्दैन भने केही छैन । मेरो वृद्ध बाबा आमाको सेवा देखेर आफैँ भेट्न आउनु भएको  छ, तपाईँलाई भेट्ने अवसर यसैले दिएको छ भने त्यसैलाई बीचमै रोकेर कसरी आउन सक्छु ।’

उनको हठको अगाडि भगवान्को केही लागेन । आज संसारकै मालिकले एउटा बालकसित हार खानु प¥यो र आँगनमा उभिएर प्रतीक्षा गर्न लागे तर पुण्डरिकलाई सेवा सकेर आउन भने निकै बेर लाग्यो । उता भगवान्लाई उभिँदा उभिँदै कम्मर दुख्न थाल्यो । त्यसपछि उनी कम्मरमा हात राखेर उभिन वाध्य भए । भनिन्छ सो स्थानमा उनी अहिलेसम्म पनि सोही अवस्थामा खडा भइरहेका छन् ।  

यस व्यास कथामा केकति सत्यता छ व्यासजी नै जानुन् तर बाबु आमाको निम्ति गरेको सेवाको फल भने कहिल्यै खेर जाँदैन । निसन्देह भगवान् हामीभन्दा ठूला हुन् तर त्यस्ता भगवान्लाई खुसी पार्ने मूल आधार भने बाबु र आमा नै हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप