शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

बालनाटक : रावणको मूर्खता

आइतबार, ०८ माघ २०७९, ११ : ३१
आइतबार, ०८ माघ २०७९

स्थान कुनै सामुदायिक विद्यालय
समय– अपराह्न तीन बजे 
पात्रहरू– 
महादेव– कैलाशवासी भगवान् शिव
पार्वती– महादेवकी अर्धाङ्गिनी
कुवेर– अलकापुरी निवासी महादेवका भक्त 
रावण– महादेवका अर्का भक्त
वृद्ध सन्यासी– भगवान् विष्णु 

मञ्चमा कैलाश पर्वत, महादेव, पार्वती, गणेश, कुमार र तिनका बाहनहरू देखा पर्छन् । साथमा महादेवका गणहरू नन्दी, भृङ्गि आदिसमेत उपस्थित छन् ।  
पार्वती– ‘महादेव ! आज हजुरसँग केही माग्ने विचार गरेकी छु । अहिलेसम्म केही मागेकी छैन । नाइनास्ति त गर्नु होला है ।’ 
महादेव– ‘भनन प्रिये ! के कुरा हो । तिमीले माग्दा पनि नदिने भन्ने हुन्छ र ? माग्छ्यौ भने ज्यानै हाजिर छ ।’
पार्वती– ‘होइन महादेव ! हजुरको ज्यान माग्दिन । सँधै चिसो कैलाश पर्वतमा कति बस्ने । न्यानो स्थानमा सानो घर बनाइदिनु भए यसो मन बहलाउन हुन्थ्यो ।’
महादेव– ‘कहाँ जानु त खोइ ? हाम्रो निवास यही हो । मलाई त यही ठीक छ । यसै पनि आफूसँग जे छ त्यसैमा सन्तुष्ट हुनुपर्छ । अर्काको देखेर पछि लाग्दा दुःख मात्रै पाइन्छ ।’
पार्वती– ‘तपाईँलाई ठीक लागेर हुन्छ ? मलाई पनि लाग्नु पर्दैन ?’ 
महादेव– ‘त्यो त हो तर भन्ने पो कसलाई ।’
पार्वती– ‘कुवेरजी तपाईँकै भक्त होइनन् र ?’
महादेव– ‘हुन त हुन् । यति सानो कुरा के भन्ने । वचन फालेपछि पनि सकिन्न भनिदिए भने त मरेकी जुनी हुन्छ ।’
पार्वती– ‘भन्दैनन्, त्यत्रा धनीले एउटा जाबो घर बनाउन पनि सक्दिन भन्छन् ।’
महादेव– ‘तैपनि ।’

पार्वती– ‘के तैपनि नि ? भनेर त हेर्नुस् ।’
महादेव– ‘ठीकै छ, त्यसै भन्छ्यौ भने मेरो के लाग्छ र ।’
यति भनेर महादेवले कुवेरलाई बोलाए । कुवेरले आउनासाथ बोलाउनुको कारण सोधे । महादेवले आशय व्यक्त गरे । आशय व्यक्त गर्न मात्र बेर थियो काम तामेल हुन बेर लागेन । कुवेरले तत्कालै समुद्रको बीचमा सुनैसुनको सुन्दर महल बनाउन लगाएर महादेव पार्वतीलाई समर्पण गरे । 
महादेव– ‘तिमीले भने बमोजिमको महल त बन्यो तर....।’
पार्वती– ‘के तर महादेव ! अझै केही बाँकी छ र ?’
महादेव– ‘भएर नै भनेको हुँ ।’
पार्वती– के  काम हो भन्नुस् न ।’
महादेव– ‘यही कि नयाँ घर बनाएपछि वास्तु शान्ति गर्नुपर्छ भन्छन् ।’
पार्वती– ‘कुन ठूलो कुरा भयो र गराउनुस्न त ।’
महादेव– ‘कसलाई भन्ने होला भनेको नि ।’
पार्वती– ‘रावण पनि तपाईँकै भक्त होइनन् र ?’
महादेव– ‘वास्तु शान्तिसित उनको के सम्बन्घ छ र ?’
पार्वती– ‘ छ नि, उनी ठूला वास्तुविद् हुन् ।’
महादेव– ‘ए हो ? त्यसो भए उनैलाई भन्नुपर्ला ।’

यति भनेर महादेवले रावणलाई बोलाएर वास्तु शान्ति गर्न लगाए । रावणको काम देखेर खुसी भएका महादेवले वरदान माग्न भने । रावण यस्तै मौकाको प्रतीक्षामा थियो । उसले त्यही सुनको महल माग्यो । भोले बाबा न हुन् किन पछि पर्थे र । त्यसो हो भने त्यही सही भन्दै महल उसैलाई सुम्पिदिए । त्यसपछि रावण सोच्न लाग्यो–
‘यी बुढाले महल त दिए अव यिनकी पार्वती पनि फुत्काउन पाए कति मज्जा हुन्थ्यो ।’  
रावण सोचमा परेको देखेर महादेवले सोधे–
‘वत्स ! टोलाउन लाग्यौ नि के भयो ?’
रावण– ‘महल त दिनु भो तर...।’
महादेव– ‘तर ? थप चाहिने भए त्यो पनि भन्न सक्छौ ।’
रावण– ‘महल मात्र पाएर के गरौँ प्रभु !’
महादेव– ‘भनन त थप के चाहियो ?’
रावण– ‘यी पार्वतीलाई पनि दिनुभए लाँदा हुँ ।’

त्यसपछि महादेवले आवश्यकता छ भने त्यो पनि पाउने छौ भन्दै पार्वतीलाई उनकै जिम्मा लगाए । स्वीकृति पाउनु के थियो रावण पार्वतीलाई बोकेर हिँड्यो । अब माता पार्वतीलाई आपद् प¥यो । उनले तत्कालै भगवान् विष्णुको सम्झना गरिन् । भगवान् विष्णु न हुन् तत्कालै वृद्ध सन्यासीको रूप लिएर रावणको अगाडि उभिन पुगे । सन्यासीले बाटो छेकेको रावणलाई मन परेन र रिसाउँदै भन्यो–
‘बाटो छाड सन्यासी ! नत्र ।’

सन्यासी– ‘बाटो त छाडौँला नै राक्षसराज ! तर पहिले यो त बताउनुस् कि यी नानीलाई कहाँबाट टिपेर ल्याउनु भो ?’
रावण– ‘कैलाश पर्वतबाट पार्वतीलाई लिएर आएको. हुँ । महादेवले दिएका ।’
सन्यासी– ‘लौ बरबाद भो ।’
रावण– ‘बरबाद भो ? किन र ?’ 
सन्यासी– ‘के भएन भन्नुस् न । महादेवले त्यति ठूलो छल गरेको पनि थाहा पाउनु भएन ? यी नानी सक्कली पार्वती होइनन् । तपाईँलाई झुक्याएर नक्कली पार्वती दिएर पठाएछन् बुढाले ।’
रावण– ‘हो र ?’
सन्यासी– हो त नि ? नपत्याए पछाडि फर्केर हेर्नुुस् न ।’
रावणले पछाडि फर्केर हे¥यो । पार्वतीले त्यति नै बेला शरीरबाट दुर्गन्ध छाडिदिइन् । त्यसपछि रावण पार्वतीलाई त्यहीँ छाडी रन्थनिँदै आफ्नो लोकतिर लाग्यो । 
यत्तिकैमा स्कूलको समय सकिएकाले विद्यार्थीहरू घरतिर लागे ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप