शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्षितिज मगरको ‘भेडीकम्बलको प्वाल’को विमोचन

आइतबार, ०८ माघ २०७९, १५ : ००
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । साहित्यकार क्षितिज मगरको ‘भेडीकम्बलको प्वाल’ कथा सङ्ग्रहको विमोचन गरिएको छ । काठमाडौँको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरू प्रमोद प्रधान, नवीन विभास, विजयराज आचार्य, भावेश भुमरी, होलिका केसीलगायतले सो कृतिको विमोचन गरेका हुन् ।

सो कृतिबारे बोल्दै साहित्यकार प्रमोद प्रधानले किताबमा १८ वटा सशक्त कथाहरू रहेको बताए । “कथामा पात्र सामान्य हुन्छन् । सबै पात्र जिउँदा हुँदैनन् । कथालाई सशक्त बनाउन पात्रलाई जिउँदो बनाउन क्यारेक्टर बलियो बनाउनुपर्छ,” उनले भने, “ बनोटका आधारमा यस कृतिका १८ वटै कथा सशक्त छन् ।” 

यस सङ्ग्रहमा सङ्कलित कथाका विषयवस्तु माओवादी जनयुद्धकै भएको बताए । हरेक कथामा कतै न कतै युद्धकै चर्चा भएको र कथाकार अझै युद्धको मोचामा रहेको ठम्याइ प्रधानको थियो । क्षितिजले मोर्चा मात्र परिवर्तन गरेको तर्क उनको थियो । 
साहित्यकार नवीन विभासले भेडीकम्बलको प्वालमा सिङ्गो जेलबाङको कथा भएको बताए । उनले भने, “कथाहरू मगर संस्कृतिले सजिएको छ । यहाँ जेलबाङको भाषा छ, सिङ्गै जेलबाङ बोकेको छ ।” सबै पात्र त्यतैका भएका र मगर संस्कृति यस कृतिमा भरिएर आएको उनको भनाइ थियो । 

कथाकार क्षितिजको यो चौथो कृति भएको बताउँदै वक्ता होलिका केसीले भनिन्, “दर्जनौँ लडाइँ हामीले सँगै लड्यौँ । पहिले उहाँ बन्दुक चलाउनुहुन्थ्यो, अहिले कलम चलाउनुहुन्छ ।” दुःखी गरिबको पक्षमा कलम चलाइरहन र वर्ग सङ्घर्षमा गुमनाम रहेका पात्रको पक्षमासमेत कलम चलाउन उनले लेखकलाई सुझाव दिइन्  । 

साहित्यकार भावेश भुमरीले लेखकसँगका विभिन्न भेटका क्षण सुनाए । उनले यो कृतिमा सुरुमा जनयुद्धअघिका कथाहरू माओवादीलाई सपोर्ट गर्ने खालका कथा भएको बताए । “पछिका कथामा माओवादीभित्रका षड्यन्त्र समावेश गरिएको छ । कथा पढ्न रोक्नै मन लाग्दैन,” उनले भने,  “त्यहाँभित्रका प्रेमका कुरा छन् । पात्र, परिवेश रोल्पाकै छ ।”  शाही सेनाबाट प्रताडित भएपछि माओवादीमा लागेको कथाहरूसमेत यसमा रहेको उनले बताए । 

यसैगरी लेखक क्षितिज मगरले आफूले बन्दुक बोकेकोमा कुनै पछुतो नभएको तर्क राखे । “युद्धलाई दुई तरिकाले विद्रुपीकरण गरियो । एउटा अति सकारात्मक र अर्को अति नकारात्मक,” लेखक मगरले भने, “सत्ता बन्दुक हो । बिनाबन्दुक सत्ता चल्दैन । हैन भने राज्यले बन्दुक फालेर राज्य चलाओस् त ?”

प्रमुख अतिथिसमेत रहेका प्राध्यपक केशव सुवेदीले कथाहरू कवितात्मक भएको बताए । “किताबमा कथाभन्दा धेरै कविता छन्, कवितात्मक छ,” उनले भने, “गहिरो संवेदनाबिना यस्तो रचना हुँदैन । रोल्पा बुझ्न, रोल्पाको समाज बुझ्न पनि यो पढ्नुपर्छ ।”
लेखन आफैँ पनि शक्तिको सञ्चय भएको र लेखको कलम हिजोको कलम बनेर सशक्त बनोस् भन्ने शुभकामना पनि दिए ।

 कृति प्रकाशक विजयराज आचार्यले कम्युनिस्ट लेखन कम भइरहेको बेला यो विमोचन कार्य उपलब्धिपूर्ण भएको बताए । “हामीले कम्युनिस्ट साहित्यबाटै प्रकाशन सुरु गरेका थियौँ,” आचार्यले भने । राल्पा, जेलबाङका क्षितिजले १७ वर्ष जनमुक्ति सेनामा बिताएका क्षितिजका आस्थाका पर्खालहरू (कविता सङ्ग्रह), सुनछहरीको एनामा (कथा सङ्ग्रह), गण्डक अभियान (डायरी) यसअघि नै प्रकाशित भइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप