राष्ट्रिय सहमतिको आधारमा हामी अगाडि बढौँ : पौडेल
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको वरिष्ठ नेता पौडेलको भनाई थियो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरू एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने तर्क गरे । वरिष्ठ नेता पौडेलले भने, ‘यो संविधान ल्याउनका लागि देशभित्र र बाहिर सबैबाट षडयन्त्र भइरहेको छ । यसलाई बचाउनका लागि सबै दलहरू एक ठाउँमा हुने कि नहुने ? यसलाई जोगाउनका लागि एक ठाउँमा हुने कि नहुने ? काँग्रेस र कम्युनिस्ट एक ठाउँमा मिल्ने कि नमिल्ने ? यी दुइटा ल्याएको यो व्यवस्था हो । त्यसकारण यतातिर पनि हामी गम्भीर हुन जरुरी छ सभामुख महोदय । राजनीतिक अस्थिरताबाट देशलाई जोगाउनु छ । र, अराजकताबाट देशलाई बचाउनु छ सभामुख महोदय । लोकतन्त्र जकडिएको अवस्थामा छ सभामुख महोदय ।’
उनले थपे, ‘मैले फिल गरिरहेको छु–लोकतन्त्र जकडिएको अवस्था छ । अति दलबन्दीबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । पूर्वाग्रहहरूबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । र, यो विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । विभिन्न राजनीतिक सत्ताको खेलबाट लोकतन्त्र जकडिएको अवस्थामा छ सभामुख महोदय । र, यो जकडिएको लोकतन्त्रलाई कसरी जोगाएर सबल बनाएर अगाडि बढाउने । यसको लागि पनि सहमतिको खोजी गर्नु पर्छ कि पर्दैन ? म यो प्रश्न गरिरहेको छु । र, हाम्रो सामाजिक, सांस्कृतिक स्खलन पनि डरलाग्दो छ । सामाजिक मूल्यहरूको स्खलन, सांस्कृतिक मूल्यहरूको स्खलन त्यो भइरहेको छ । यो पनि एउटा राष्ट्रिय सङ्कटको रूपमा छ । यो सङ्कटबाट मुक्त हुनका लागि एक हुने कि नहुने ? यो प्रश्न छ सभामुख महोदय ।’
नकारात्मक र निराशाका घण्टीहरू बजिरहेको बताउँदै यसलाई सकारात्मक दिशा दिनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘त्यसका लागि एकताको आवश्यकता पर्छ कि पर्दैन ? यो पनि मेरो प्रश्न छ सभामुख महोदय । वास्तवमा मलाई भनौँ कि नभनौँ–नेतृत्वको अभाव जस्तो अनुभव हुँदैछ । राष्ट्रिय नेतृत्वको अभाव । र, राष्ट्रिय नेतृत्वको अभाव मात्रै होइन । राष्ट्रिय आत्मविश्वासको अभाव । यहाँ स–साना कुरामा पनि हामी त कहीँ गइहाल्यो नि भन्ने । आत्मविश्वास छैन । आफूप्रति विश्वास छैन । राष्ट्रिय आत्मविश्वासको पनि अभाव आज यो राष्ट्रिय सङ्कटको रूपमा देखिराखेको छु सभामुख महोदय ।’
‘यही सदनमा अस्तिसम्म मैले सुनिराख्छु भाषण । लक्ष्यदार भाषण १०/१५ मिनेट गएको गएकै छ । निशाना एकातिर हुन्छ त्यो भाषणको । लास्टमा गएर के भन्छ–भोटमा म यता हाल्छु । निशाना उत्तापट्टि छ । भोट चाहिँ मैले यता हाल्नु पर्छ । यो कुन विरोधभाषमा हामी बाँचेका छौँ । यस्तो विरोधाभासबाट हामीले मुलुकलाई जोगाउनुपर्नेछ । हामी आफैँ भित्रका विरोधाभाषहरुबाट हामी माथि उठ्ने कि नउठ्ने ? आज नेपालीले छातीमा हात राखेर, हाम आफै भित्रको विरोधाभासबाट माथि उठेर यो राष्ट्रलाई जोगाउने कि नजोगाउने ? यो राष्ट्रलाई एकताबद्ध गर्ने कि नगर्ने ? यो मुलुकमा राष्ट्रिय सहमति, राष्ट्रिय एकता कायम गर्ने कि नगर्ने सभामुख महोदय । त्यसो भएको हुनाले म सभामुख महोदय, राष्ट्रिय सहमति गरौँ । राजनीतिक संस्कृतिको जगेर्ना गरौँ । र, सबैले मिलेर राष्ट्र निर्माण गरौँ । र, राष्ट्रलाई निर्माण गर्नमा, देशलाई बनाउनमा हामी एक ठाउँमा जुटौँ । र, आकाशबाट निराशाको कालो बादललाई फटाउनका लागि राष्ट्रिय सहमतिको आधारमा हामी अगाडि बढौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण