मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

समता, भ्रातृत्व र मर्यादाको धागोले समाज सिउने डा. परियार

बुधबार, ११ माघ २०७९, १४ : २१
बुधबार, ११ माघ २०७९

डाक्टर मित्र परियार मानवशास्त्री हुन् । अस्ट्रेलियाबाट विद्यावारिधि गरेका परियार नेपाली समाजको नयाँ डिजाइनसहित मानसिक संरचनाकै सल्यक्रिया गर्ने अभियानको नेतृत्व गर्न दुई वर्षदेखि सक्रिय छन् । हजारौँ वर्षदेखि संस्थागत गरिएको जातीय विभेदको पर्खाल भत्काएर समता, मर्यादा र स्वतन्त्रताको स्वच्छन्द संसार निर्माण गर्ने अभिलाषासाथ नेपाल फर्किएका परियार यो दुई वर्षमा ३० जिल्लाका विभिन्न ठाउँमा गएर जातीय विभेदविरुद्ध दुन्दुभि फुकिसकेका छन् । जागरण अभियान सञ्चालन गरिरहेका छन् । क्रान्तिको बीज छरिरहेका छन् । 

डाक्टर परियार आफूलाई प्रजातान्त्रिक ठान्छन् । उनको विद्रोह पनि शान्तिपूर्ण हुनेछ भन्ने उनको आजसम्मको अवधारणा छ । तर राज्य दमन र दबदबामै रहिरहे बाध्यात्मक अवस्थामा आउन सक्ने परिणतिमा भने स्वयं राज्य जिम्वेवार हुनुपर्ने उनको विचार छ । यसर्थ शान्तिपूर्ण विद्रोह, प्रदर्शनमा खासै राज्य दमन गर्न उत्रिँदैन तर उनको स्वर छुवाछूत र जातीय विभेदविरुद्ध भएका कारण संरचनात्मक लाभांश पाएर बसेको वर्गको स्वार्थमा धक्का पुग्ने भएको कारण धर्म संस्कृति नासेको र मिलेर बसेको समाज भाँडेको लाञ्छना लाग्ने सम्भावना उत्तिकै छ । 

जातीय विग्रह र जातीय द्वन्द्व बढ्ने र हिंसात्मक गृहयुद्धमा देश फस्ने कारक मान्दै राज्य दमनमा उत्रन सक्नेतर्फ पनि परियार सचेत छन् । त्यस्तो बेला मुक्ति या मृत्यु रोज्न कुनै गाह्र्राे हुँदैन । उनी त्यो तयारी गरेर नै यो सङ्ग्राममा होमिएको बताउँछन् । जेल परे भने लेख्न पढ्ने समय अरू मिल्नेछ भन्छन् । “दर्शन र विचार धारा लेख्ने छु । झन् गहन अध्ययन र चिन्तनपछि निस्कने निष्कर्ष मानव मुक्तिका लागि अरू सान्दर्भिक र उपयोगी हुनेछ,” परियार भन्छन् । एउटा ग्रामीण परिवारको एक दलित समुदायको मान्छे आज विद्यावारिधि गरेर एउटा शैक्षिक र प्राज्ञिक उपाधिसहित मानव मर्यादाका लागि काम गर्न लामबद्ध भएको व्यक्तिको सफलता पछाडिका कारणहरू चरणहरू यस्ता छन् ।

बाल्यकाल र उच्च शिक्षा 

गोरखा जिल्लाको हालको सिरानचोक गाउँपालिकामा २०३५ मा देउ कुमारी दमाई र देउबहादुर दमाईका पुत्रका रूपमा जन्मिएका मित्र परियार गरिबी र अभावमा हुर्किएका व्यक्ति हुन् । सौभाग्य मान्नुपर्छ मित्र परियारलाई कक्षा पाँचसम्म मात्र त्यो कठिन गरिबीको भुङ्ग्रोमा सेकिनुपर्याे । जब उनले गण्डकी बोर्डिङ स्कुल पोखरामा छात्रवृत्ति पाएर पढ्न आए त्यसबेलादेखि मित्रको जीवनमा सुखको घामले स्पर्श गर्याे र आज पर्यन्त जिन्दगी नै नयाँ मोडमा आइपुगेको छ । राष्ट्रिय अन्तराष्ट्रिय परिचय फराकिलो बन्दैछ ।

अहिले मानव मर्यादा र मानव मुक्तिको आन्दोलनका कमान्डर बनेर मित्र देशलाई नयाँ डिजाइनको अभियानमा होमिएका छन् । उध्रेको मानवता सिलाउने धागो निर्माणको चरणमा छन् उनी । त्यसैले अहिले ‘दलित विद्रोहको रूपरेखा’ नामक किताब लेखनमा व्यस्त छन् । यो कृति दलित आन्दोलनको वैचारिक धागो बन्ने विश्वास उनले लिएका छन् । दलित मुक्तिको डेमोक्रेटिक धार मित्र प्रवद्र्धन गरिरहेका छन् । मित्र कम्युनिस्ट सिद्धान्तले दलित मुक्ति सम्भव देख्दैनन् । त्यसैले प्रजातान्त्रिक शैलीद्वारा जनताको अपार समर्थन र मागमा स्वतन्त्रता र मर्यादाको आन्दोलन सफल बन्ने मित्रको दाबी छ । 

संसारमा जति पनि परिवर्तन भए ती ब्यालेटले भन्दा जनताको समर्थनले सडक र सङ्घर्षबाट स्थापित भएका छन् । नेपालमा पनि २००७, २०४६ र २०६२।६३ का सङ्घर्षले उल्लेख्य परिवर्तन गरेका छन् । त्यसैले चुनाव जितेर चुनावमा भाग लिएर परिवर्तन गर्न सकिन्न । सडक सङ्घर्ष र जान प्रदर्शनले दबाब दिएर परिवर्तन गर्न सकिन्छ । “म अहिंसात्मक प्रदर्शनको पक्षमा छु, हाम्रा सबै गतिविधि अहिंसात्मक हुनेछन् । 

सुनौला अवसरका शृङ्खला 

जीवनको भाग्यरेखा बदल्न उनका लागि स्कुल जाने आग्रह गर्ने पहिलो व्यक्ति जनज्योति मावि चिप्लेटिका हेडसर खेमराज शर्मा थिए । जसले घरमै बसिरहेका मित्रलाई स्कुल पठाउन उनकी आमालाई बारम्बार आग्रह गरेर स्कुलमा प्रवेश गराउन भूमिका खेले । दुर्भाग्य ती शिक्षक माओवादी जनयुद्धको दौरानमा माओवादी कार्यकर्ताद्वरा मारिए । मित्र स्कुलमा राम्रो विद्यार्थी थिए र जहिल्यै प्रथम हुन्थे । 

दोस्रो र जिन्दगीकै टर्निङ पइन्ट भने गण्डकी बोर्डिङ स्कुलले लिने प्रवेश परीक्षा दिन पाउने वातावरण थियो । मित्र पाँच कक्षामा पढ्दा उनका एक जना शिक्षकमार्फत पाएको सूचनाका आधारमा गोरखाको सदरमुकाम गएर प्रवेश परीक्षा दिने अवसर जुर्याे । प्रथम विद्यार्थी भएकाले उनमा सम्भावना देखेर सरले मित्रलाई गण्डकी बोर्डिङ जाने बाटो देखाइदिए । आफ्ना बाबुसँग नाङ्गो खुट्टा प्रवेश परीक्षा दिन गएका मित्रले पहिलो पटक गोरखामा गाडी घोडा र सहरको रमझम देख्न पाएका थिए । जब उनको गण्डकी बोर्डिङ स्कुलले लिएको परीक्षामा नाम निस्कियो । त्यसबेलादेखि मित्रको जीवनको लय बदलियो । चरम गरिबीको भुमरीमा फँसेको एउटा बालकको जीवनमा ब्हाग्योदय भयो । उनलाई गण्डकी बोर्डिङ स्कुलमा २०४५ सालमा ४ कक्षामा भर्ना गरियो । पहिलो पटक राम्रो लुगा लगाउने र जुत्ता चापल लगाउने मौका त्यहीबेला पाएका हुन् । सरकारी विद्यालयबाट पढ्न गएका कारण एक वर्ष उनलाई आफ्नो पढाइ रिकभर गर्न समय लाग्यो । पाँच कक्षामा पुगेपछि भने मित्रले आफूलाई प्रथम बनाएर पुनः आफ्नो अब्बलपन प्रदर्शन गर्न थाले । २०५१ मा एसएलसी गरेका मित्रलाई कक्षा १२ सम्म फ्रिसिपमा पढ्ने अवसर गण्डकी बोर्डिङले दियो । तत्पश्चात काठमाडौँ आएर मानविकीमा स्नातक तहमा भर्ना भएका मित्रलाई केही समय आर्थिक समस्याले पिरोल्यो । त्यतिबेला उनले पूर्वपरिचित सोम पनेरूको सहयोगमा ट्युसन पढाएर आफ्नो जीविका चलाए भने भीएस डब्ल्यूले छात्रवृत्ति दिएर उनलाई स्नातक पढायो । यतिबेला मित्र कान्तिपुरमा आर्टिकल पनि लेख्थे जसमा एउटा आर्टिकलको आठ सय रूपैयाँ प्राप्त गर्थे, जुन रकम उनको जीवनयापनका लागि सहयोगी भयो । 

नियमित आम्दानी नभएकाबेला मित्र परियारलाई कान्तिपुरमा काम माग्ने जोश चल्यो । उनी आफ्ना परिचित युवराज घिमिरेसँग काम माग्न कान्तिपुर गए । कान्तिपुरका तत्कालीन सम्पादक युवराज घिमिरेले ब्रिटिस एम्बेसीमा कामको लागि एप्लाई गर्न भने र आफ्नो तर्फबाट त्यहाँ भनिदिन सक्ने कुरा गरे । एम्बेसीले लिएको विभिन्न चरणको अन्तर्वार्ता पास गर्दै मित्र छानिए र ब्रिटिस एम्बेसीमा पोलिटिकल अफिसरमा नियुक्त भए । ब्रिटिस एम्बेसीको प्रवक्ताको जिम्मेवारी पनि बेलाबेलामा प्राप्त गरेका थिए । 

सन् २००१ देखि २००८ सम्म ब्रिटिस एम्बेसीमा काम गरेर मित्रले आफ्ना लागि सम्मानित जीवन र पेसा प्राप्त गरे तर उनको शैक्षिक भोक बाँकी थियो । स्नातकसम्म मात्र पढेको कारण अरू पढ्ने धोको मित्र परियारसँग रहेको थियो । एम्बेसीमा रहँदा चिनजान र बस् उठको दायरा फराकिलो बनेको थियो । सोही क्रममा ब्रिटिस प्राडा डेभिड ग्लेयरसँग मित्रको मित्रताले अक्सफोर्डको सेन्टह्युज कलेज पढ्ने वातावरण मिल्यो । जुन अवसर नेपालको दलित समुदायले त्यसअघि कहिल्यै प्राप्त गरेको थिएन ।  जहाँ गएर मित्रले एमफिल पढ्न पाए । त्यसपछि विद्यावारिधि भने अस्ट्रेलियाको मक्वारी सिड्नीबाट गर्न जुर्याे । 

‘गोर्खा भर्ती साम्राज्यवाद र जातिवाद’ विषयमा सन् २०१६ विद्यावारिधि सकेपछि ब्रिटेन फर्केर किङ्सट्न युनिभर्सिटी लन्डनमा रिसर्च फेलोका रूपमा काम गर्न थाले । मित्र अध्ययन, अध्यापन र लेखनमा सक्रिय थिए र छन् । रटलेज अक्फोर्ड युनिभर्सिटीका प्राज्ञिक पुस्तकहरूमा मित्रले सहलेखन गरेका च्याप्टरहरू छन् । अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त जर्नलहरूमा आर्टिकलहरू लेखिरहन्छन् । नेपालका विभिन्न सञ्चार माध्यमबाट डा. मित्रका लेख रचनाहरू प्रकाशित गरेर जनजागरणको खेती अक्षरमार्फत गरिरहेका छन् । रोगका कारणको सही निदान भए मात्र उपचारका लागि सहज हुन्छ । जातीय छुवाछूत सामाजिक रूपमा प्रकट भएको हो । जातीवादी भाइरस ब्याकटेरिया धार्मिकशास्त्र र परम्परा हो । छुवाछूत अन्त्य गर्न यसको जरोमा प्रहार गरेर जरो उखेल्नुपर्छ । मेरो राजनीतिको एउटा मात्र उद्देश्य हो म मान्छे हुँ, मलाई मान्छे भएर बाँच्न देऊ यही अभिष्टका साथ १३ प्रतिशत भन्दा बढी जनसङ्ख्या रहेको दलित समुदायको मुक्तिको लागि मित्र दलित आत्मरक्षा अभियानको पेजमार्फत आफ्ना गतिविधि सार्वजनिक गर्छन् । 

सार्वजनिक मञ्चहरूमा मित्र चर्काे बोल्छन् । जातीय भेदभाव र असमानताविरुद्ध यदाकदा विद्रोहको आक्रोश र असन्तोषको पीडा हेट स्पिच जस्तो पनि लाग्छ । दलन, अपमान र पीडा सहनेको आक्रोशमा, भाषामा खरोपन असामान्य होइन । जुन विद्रोहको आम चरित्र र प्रवृत्ति पनि हो । 

कथा विभेदको 

कक्षा तीनमा पढ्ने बेलामा आफ्ना साथीभाइसँग खेल्दाखेल्दै गुरुङ साथीको घरमा पसेको घटनालाई लिएर मित्रलाई अपमान गरियो । तुच्छ वचन बोलियो । बाल मस्तिष्कमा मित्रलाई आघात पर्याे । सो अपमानको घाउ आजपर्यन्त उस्तै र अनेक रूपमा गोरखादेखि काठमाडौँ हुँदै ब्रिटेनसम्म भोग्नुपर्याे । 

स्नातक पढ्दै गर्दा काठमाडौँमा पाएको डेराबाट पनि परियार थर भएको कारण निकालिनु पर्याे । गाउँमा भोगेको पीडा र अपमान काठमाडौँले समेत दियो । त्यति मात्र होइन उच्च शिक्षा लिने क्रममा लन्डनमा समेत नेपाली समुदायले परियार थरको कारण डेरा दिन इन्कार गरे । अपमान र जातीय विभेदको यो दलन गाउँदेखि काठमाडौँ अनि लन्डन समेतमा देखे भोगेका मित्रलाई यो पीडा सधैँ सहेर बस्ने होइन, यसको इलाज खोज्ने मनसुवा पलायो । जसको कारण लन्डनमा प्राप्त भएको र हुनसक्ने थुप्रै आर्थिक, भौतिक, प्राज्ञिक, अवसर छोडेर, नेपालमा पनि प्राप्त हुने व्यक्तिगत उन्नयनका आकर्षक अवसर त्यागेर मित्र जातीय छुवाछूतजस्तो अमानवीय प्रथालाई चिहानमा पुर्याउने सङ्कल्पका साथ काम गरिरहेका छन् । 

आफ्नो घरमा नारायण पूजा लगाउँदा पण्डित बाजेलाई सबथोक चल्दा पनि आफ्नो घरको भात पानी किन नचलेको होला भन्ने कुराले मित्रलाई प्रश्निल बनाउँथ्यो । साथीको घरमा पस्दा खाएको गाली सम्झेर मन दुख्थ्यो । डेरा बस्न नपाउँदा र पाएको डेरामा पनि अलग्गै बस्नुपर्दाको पीडाले भत्भती पोल्थ्यो । आफ्ना त्यस्तै दुर्दान्त दिन र दलित समुदायको अपमान र पीडाले पोलेर मित्र आज सङ्घर्षको मैदानमा छन् । 

ब्रिटिस एम्बेसीमा काम गर्दा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको नेपालमा कार्टर सेन्टरमार्फत भ्रमण हुँदा ट्रान्सलेटर बन्ने मौकासमेत मित्रले पाएका थिए । त्यतिबेला कार्टरले मित्रलाई दलित समुदायको भएको थाहा पाएर सोधेका थिए । ‘नेपालका दलितहरू हजारौँ वर्षदेखिको अन्याय अपमान र विभेद भोगेर पनि हतियार उठाउन सकिरहेका छैनन्, चुपचाप छन्’ मलाई अचम्म लाग्छ भन्ने कार्टरको भनाइले पनि मित्रलाई दलित मुक्ति आन्दोलन नगरी नहुने रहेछ भन्ने लागेको रहेछ । अमेरिकी भीभीआईपीसमेत हाम्रो मुद्दामा सिरियस रहेछन् । हाम्रो मुद्दा अन्तर्राष्ट्रियकरण भएको छ तर हामी आफैँ चुप लागेर बस्न सकिएन । झन् पढेलेखेका र देश विदेश दुनियाँ धेरथोर बुझेको मान्छे चुप रहने कुरै आउँदैन । त्यसैले विभेदविरुद्ध मर्न राजीखुशी भएर नेपाल फर्किएको हुँ भन्दै उनी सङ्घर्षमा लाग्नुको नालोबेली खुलाउँछन् । 

नेपालको हिन्दू धर्ममा छुवाछूतको संस्कार छ, जसलाई सुधार गरेर नगए हिन्दू धर्म त्यागेर बौद्ध धर्म अवलम्बन गर्ने मित्रको सोच छ । आफ्नै धर्म मान्ने उस्तै वर्णको मान्छेलाई अछूत मान्ने मनुवादले गरेको अत्याचार नसुधारे भारतमा बाबा अम्बेडकरले पाँच लाख मान्छे लिएर धर्म परिवर्तन गरेझैँ गर्ने मित्रको सोच कार्यन्वयनमा पुग्नुअघि नै हिन्दू धर्मका धर्माधीशहरूले व्यापक धर्मसंस्कार सुधारको कार्य गर्नु वाञ्छनीय देखिन्छ । 

मित्र परियारमाथिका लाञ्छना 

जब मान्छे कुनै सार्वजनिक विषय लिएर विमर्श गर्न निस्कन्छ त्यसको समर्थन र विरोध हुन्छ । डक्टर परियारबारे उठेका विरोधका केही स्वरहरू छन्– मित्र परियार एकलकाँटे छन्, आफ्नाबाहेक अरूका कुरा सुन्दैनन्, मैले गर्छु र मेरो विचार भन्छन्, सामूहिक र हामी भन्ने उनको भावना छैन, आफूलाई मुक्तिदाता सम्झन्छन् र मेरो पछिलागे मुक्ति हुन्छ भनेर मपाइँत्व प्रदर्शन गर्छन । उनको आफ्नो कुनै दर्शन र सैद्धान्तिक आधार र दलनविरुद्ध लड्ने सैद्धान्तिक हतियार छैन । मित्र उग्र जातीय कुरा गरेर आफू स्थापित भएपछि यो मुद्दा छोड्न सक्छन् । मित्रले मिलेर बसेको समाजलाई बिगारिरहेका छन्, मित्र क्रिस्चियानिटी प्रवद्र्धन गर्न आएका हुन् । पार्टीमा लागेका दलित नेतालाई चर्काे आलोचना गर्छन् । अरूको अस्तित्व स्वीकार गर्दैनन् आदि जस्ता आरोप र लाञ्छना उनीमाथि छन् । तर यी आरोपलाई व्यावहारबाट जवाफ दिने र हाजिरीजबाफ शैलीका जबाफ आफूसँग नभएको बताउँछन् मित्र । 

मित्रको खर्च व्यवस्थापन 

यो अभियान सञ्चाल गर्न केही वर्षदेखि सञ्चिति रहेको उनको रकम र व्यक्तिगत खर्चका लागि एउटा गार्मेन्ट कारखाना, सेकुवा क्याफेको आयले जेनतेन चलेको बताउँछन् उनी । लन्डनबाट श्रीमतीले गर्ने सहयोग, आफूले लेखेका आर्टिकलको पारिश्रमिक आदि अतिरिक्त आम्दानी छन् । दलित आत्मरक्षा अभियानका लागि स्वदेश र विदेशमा रहेका साथीभाइले जुटाइदिने रकमले आजसम्म काम गरेको छ । परियारका अनुसार उनलाई गैरदलित साथीभाइले धेरै सहयोग पठाइदिएका छन् ।  

आफ्नै नेतृत्वमा, आफ्नै बलबुतामा लडौँ भन्ने, अब अरूको नेतृत्व स्वीकार गरेर होइन आफ्नै सामथ्र्यले लड्ने र मुक्ति प्राप्त गर्ने मित्रको सङ्कल्प छ । नेपालको संविधान र कानुनमा जे लेखिए पनि दलितका लागि आज पनि मनुस्मृतिकालीन धार्मिक कानुन र १९१० को मुलुकी ऐनले शासन गरिरहेको छ  । त्यसैले संविधानमा लेखिएको कुराभन्दा सामाजिक व्यवहार र सामाजिक परम्परामा भएको कानुन सुधार गर्नुपर्ने उनको तर्क छ । 

परम्परागत समाज र बुद्धिजीवीले तयार गरेको थेसिसका विरुद्ध एन्टिथेसिस लेखिरहेका मित्र परियार समाजका प्राज्ञिक र बौद्धिक बुद्धिजीवी पनि अग्र्यानिक भएर मानवता, स्वतन्त्रता र समानताको एन्टिथेसिस लेख्न लाग्नुपर्ने र दलित आवाजलाई मुखरित गर्न सहयोगी हुनुपर्छ भन्छन् । 

दलितप्रतिको संवेदना र सहानुभूति भनेको आम मान्छेको मानव अधिकारको प्रश्न हो । दलित समुदायको सम्मान र स्वाभिमान र अस्तित्वका लागि दलितको पीडाबोध र विद्रोहपीडित जातिको मात्रै समस्या होइन, नेपालको समस्या हो । दक्षिण एसियामा रहेको छुवाछूतको समस्या हो । यसबाट मुक्तिका लागि सबै न्यायप्रेमी जनताले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा आवाज उठाएर समाधान गर्ने हो । सरकार गम्भीर बन्यो भने मित्र परियार विद्रोही बनेर बसिरहन सक्दैनन् । एउटा प्राज्ञिक र बौद्धिक अनुसन्धातालाई आन्दोलन, विद्रोह र सङ्घर्षमा उतार्ने वातावरण सिर्जना गर्ने काम राज्यले यथाशीघ्र बन्द गरेर सबैका लागि समता मर्यादा र स्वाभिमानपूर्वक बस्ने र बाँच्ने भूमिका निर्वाह गरोस् । डाक्टर साब ! न्याय, समता र मर्यादाको लडाइँमा हामी सबैसँगै रहनेछौँ । समाजको विकृति, अन्धविश्वास र जातीय छुवाछूतरूपी रोगको शल्याक्रिया गरेर डाक्टर परियार समाजलाई मानवता, भ्रातृत्व, समता र मर्यादाको धागोले सिउन चाहन्छन् । 

लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका एमफिल–पिएचडीका अनुसन्धाता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप